१ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)मा थापा परिवारको पुनः प्रवेश हुने भएको छ । पूर्वअध्यक्ष गणेश थापाका छोरा गौरवलाई प्रथम उपमहासचिव बनाउन एन्फाको नेतृत्व सहमत भएको स्रोतको दाबी छ ।
थापाले २२ वर्ष एन्फाको नेतृत्व गरेका थिए । आर्थिक अनियमितताको आरोपमा विश्व फुटबल महासंघ (फिफा)ले सन् २०१५ थापालाई १० वर्षे प्रतिवन्ध लगाएको छ । उनको प्रतिबन्ध तीन वर्ष बाँकी नै छ ।
आफू फुटबलमा फर्किने अवस्था नभएपछि उनले छोरा गौरबलाई एन्फामा पठाउन चाहेका छन्, जसमा अध्यक्ष पंकजविक्रम नेम्वाङ सहमत भएका छन् । एन्फाको भोलि सोमबार बस्ने कार्यसमितिको बैठकमा पदाधिकारी, प्रमुख कार्यकारी अधिकृत (सीईओ) र १३ वटा समितिको संयोजक तोक्ने कार्यसूची छ ।
चुनावअघि नै भद्र सहमति
गणेश थापालाई हटाएर एन्फाको नेतृत्वमा आएका कर्माछिरिङ शेर्पा र पंकजविक्रम नेम्वाङ यो पटक दुई समूहमा बाँडिए । चेन्ज एन्फाको नारामा एकठाउँमा उभिएका तत्कालीन अध्यक्ष कर्माछिरिङ र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम अध्यक्षको प्रतिस्पर्धामा उत्रिए, जसले एन्फामा पुनः प्रवेशका लागि थापा परिवारलाई बाटो खोलिदियो । किनकी जम्मा ८७ भोट भएको चुनावमा दुबैसँग प्रष्ट बहुमत थिएन । थोरै मत भएको थापा समूह निर्णायक जस्तै बन्यो ।
थापा समूहले साथ दिएपछि ६ असारमा भएको चुनावबाट पंकजविक्रम एन्फाको अध्यक्षमा चुनिए ।
थापा समूहका अनुसार चुनावी तालमेल गर्दा नै विदेश विभाग प्रमुख वा सीईओ र प्रवक्ता आफ्नो समूहले लिने भद्र सहमति भएको थियो ।
तर पंकजविक्रम नेतृत्वको एन्फाको पहिलो बैठकले नवीन पाँडेलाई अन्तर्राष्ट्रिय विभाग प्रमुख नियुक्त गर्यो । पाँडेको नियुक्तको गणेश थापा स्वयंमले विरोध गरेका थिए ।
यद्यपि निर्णय भइसकेकाले थापा पक्षले सीईओ र प्रवक्ता आफूले पाउनुपर्ने भन्दे लविङ थाल्यो । अहिले कार्यसमितिमा तीन जना पदाधिकारीसहित ७ जना थापापक्षीय छन् । कार्यसमितिका थप तीन जनालाई सहमत गराएर आफ्नो समूह अनुकल सीईओ नियुक्त गर्न बहुमत पुर्याउने थापा समूहको योजना थियो ।

तर शनिबार साँझ दुई पक्षबीच सहमति जुटेको छ । सीईओको केही अधिकार प्रयोग समेत गर्न दिने गरी गणेश थापाका छोरा गौरव थापालाई प्रथम उपमहासचिव बनाइने छ । थापा निकट पाँचथर जिल्ला फुटबल संघका सुरेश शाहलाई प्रवक्ता बनाउने सहमति पनि भएको छ । एन्फा विधानमा प्रवक्ता बनाउन निर्वाचित कार्यसमिति सदस्य हुनुपर्ने वाध्यकारी व्यवस्था छैन ।
भोलिको कार्यसमिति बैठकको एजेण्डामा सीईओ नियुक्ति पनि राखिएको छ । महासचिव किरण राईले पदाधिकारी तथा सदस्यलाई पठाएको एजेण्डामा सीईओ नियुक्ति समावेश थिएन । गणेश थापापक्षीय उपाध्यक्ष दीपक खतिवडाले माग गरेपछि सीईओ नियुक्ति पनि एजेण्डा बनेको छ । तर सीईओको केही अधिकार प्रयोग गर्ने गरी गौरव प्रथम उपमहासचिव भए सीईओ नियुक्त नहुनसक्छ ।
‘एजेण्डामै समावेश भएपछि सीईओ नियुक्तिबारे छलफल हुन्छ । सीईओ नियुक्तिका लागि वैधानिक व्यवस्थाअनुसार अगाडि बढ्नुपर्छ । त्यसो हुन सकेन भने पदाधिकारीमा नियुक्त गर्नेबारे सल्लाह भएको हो,’ शनिबारको छलफलका एक सहभागीले भने ।
निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा पक्ष भने सीईओ वा प्रथम उपमहासचिव नियुक्तिको विषयमा पर्ख र हेरको अवस्थामा छ । कर्माछिरिङ पक्षका कार्यसमिति सदस्यहरूले विधानविपरीत भएगरेका कामको विरोध गर्ने तथा बाँकी कुरामा नवनिर्वाचित कार्यसमितिलाई ‘काम गर्न दिने’ बताएको छ ।
अरु केके छन् एजेण्डा ?
एन्फा नयाँ कार्यसमितिको दोस्रो बैठकमा भदौ १३ देखि २५ सम्म नेपालमै हुने साफ महिला च्याम्पियनसिप आयोजना तथा राष्ट्रिय टिम तयारी, देशको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) आयोजना, एन्फाका बिभिन्न समितिहरूमा जिम्मेवारी बाँडफाँटका एजेण्डा छन् ।
कार्यसमितिमा कर्मा छिरिङ शेर्पापक्षका नेता दीर्घबहादुर केसी (कुमार)ले राष्ट्रिय लिगको आयोजना, विशेष साधारणसभाको आयोजना, महिला लिगका बाँकी खेलहरू आयोजना, ललित स्मृति यू-१८ फुटबल प्रतियोगिताको आयोजनालगायतका विषय कार्यसमितिमा छलफल हुनुपर्ने भन्दै एजेण्डा थपेका छन् ।
प्रतिक्रिया 4