+

पवन सर्राफ : ओपनिङमा अर्को असफल प्रयोग

२०७९ भदौ  १२ गते १९:२७ २०७९ भदौ १२ गते १९:२७
पवन सर्राफ : ओपनिङमा अर्को असफल प्रयोग

१२ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बनेका मनोज प्रभाकरले राष्ट्रिय टिम प्रशिक्षणको पहिलो सत्रमै खेलाडीहरुसँग उनीहरुको पोजिसनबारे जिज्ञाशा राखेका थिए । प्रभाकरले ओपनिङ पोजिसबाट खेल्नेलाई हात उठाउन भने ।

केन्या भ्रमणका लागि नेपाल क्रिकेट संघ क्यान १६ सदस्यीय टोली घोषणा गर्दा कुशल भुर्तेल टिममा परेका थिएनन् । अर्का नियमित ओपनर आसिफ शेखसँगै कसले हात उठाउला भन्ने टोलीका सदस्यलाई समेत चासो थियो ।

पवन सर्राफले प्रशिक्षकसामू आफूलाई ओपनरको परिचय दिए । जबकि टी–२० अन्तर्राष्ट्रियमा पवनले सन् २०१९ मा भएको १३औं दक्षिण एसियाली खेलकुदयता ओपनिङ गरेका छैनन् ।

ओपनर कुशल भुर्तेल नहुँदा सम्भवतः त्यो पोजिसनबाट आफूलाई स्थापित गर्ने अवसरका रुपमा पवनले ओपनिङ रोजेका थिए ।

उनले केन्याविरुद्ध टी–२० अन्तर्राष्ट्रिय शृंखलामा आसिफ शेखसँग ओपनिङ गरे । तीन वटै खेलमा ओपनिङ्ग गरे तर प्रशिक्षकको मन जित्ने गरी उनले प्रदर्शन गर्न सकेका छैनन् । उनी  पहिलो खेलमा १ रनमै आउट भए ।

दोस्रो खेलमा १९ र तेश्रो खेलमा २० रन बनाए ।  उनले २० रन बनाएको तेस्रो खेलमा नेपालले जितका लागथि १५७ रनको लक्ष्य पछ्याइरहेको थियो ।

आसिफ र कुशलले दुई वर्षअघि एकैपटक टी–२० र एकदिवशीय अन्तर्राष्ट्रियमा डेब्यू गरेयता निरन्तर खेलिरहेका थिए ।

तर कुशल नहुँदा अहिले नेपालको ओपनिङमा समस्या दोहोरियो । स्पीन अलराउण्डर पवनले टिममा मौका पाए पनि त्यसमा खरो उत्रन सकेका छैनन् । बलिङमा पनि उनको प्रदर्शन सम्झनलायक देखिएको छैन ।

अब प्रश्न उठ्छ किन राम्रो प्रदर्शन नगरे पनि पवन टिममा परिरहेका छन् ?

कुनै पनि खेलाडीको प्रदर्शन राम्रो नहुँदा अर्को विकल्प खोज्ने वा अर्को खेलाडीलाई प्रयोग गर्ने गरिन्छ । तर पवनको हकमा भने उनले बारम्बार अवसर पाउँदा पनि आफूलाई प्रमाणित गर्न त सकेनन्, अर्को प्रतिभालाई अवसरबाट बञ्चित गरिएको छ ।

टिममा पर्छन् प्रदर्शन गर्दैनन्

सन् २०१९ मा पवनले नेपाली टिममा डेब्यू गरेका हुन् । उनले युएई भ्रमणमा टी–२० अन्तर्राष्ट्रिय र एकदिवशीय अन्तर्राष्ट्रिय दुवैमा डेब्यू गरे ।

यू–१९ टिमबाट आएका उनी कमजोर प्रदर्शनका वावजुद टी–२० टिममा समावेश हुने सीमित भाग्यमानीमा पर्छन् पवन सर्राफ । उनले २०२२ फेब्रुअरीमा युएईमा भएको टी–२० विश्वकप छनोटमा भने उनी टिममा थिएनन् ।

तर पवनको प्रदर्शनले भने सबैलाई निराशा बनाएको छ । अलराउण्डर भएकोले उनले कम्तीमा एउटा क्षेत्रमा योगदान दिन सक्छन् । पवनको न ब्याट चल्छ, न बल । उनको तथ्यांकले पनि त्यही भन्छ ।

पवनले एकदिवशीय अन्तर्राष्ट्रियमा ८ खेल खेल्दा ५.१६ को औषतमा जम्मा ३१ रन बनाएका छन् । उनको व्यक्तिगत उच्च स्कोर अविजित १० रन हो ।

पवन सर्राफ । फाइल तस्वीर

एकदिवशीय अन्तर्राष्ट्रियमा उनले एक पटक ओपनिङसमेत गरेका थिए । २ रन बनाएर आउट भए । पहिलो खेल २०१९ जनवरी २५ युएई विरुद्ध सातौं नम्बरमा ब्याटिङ ४ रन बनाएर आउट भएका थिए ।

यस्तै १४ टी–२० खेल्दा ११.२७ को औषतमा १२४ रन बनाएका छन् । व्यक्तिगत उच्च स्कोर अविजित २७ हो ।

२०१९ फेब्रुअरी १ युएई विरुद्ध सातौं नम्बरमा ब्याटिङ १८ रन बनाएका थिए । तर त्यसपछि उनले थप १३ टी–२० अन्तर्राष्ट्रिय खेल्दा तीन पटक मात्र १८ भन्दा बढी रन बनाएका छन् ।

बलिङमा हेर्दा उनले ८ एकदिवशीय अन्तर्राष्ट्रियमा जम्मा ४ विकेट लिएका छन् । एकदिवशीय अन्तर्राष्ट्रियमा उनको उच्च प्रदर्शन २–४५ हो । दुई खेलमा १–१ विकेट लिँदा तीन खेलमा विकेट लिन सकेनन् भने दुई खेलमा बलिङ नै गरेनन् ।
यस्तै १४ वटा टी–२० मा जम्मा ३ विकेट लिएका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनको व्यक्तिगत उच्च प्रदर्शन १–३ हो ।

उनले टी–२० अन्तर्राष्ट्रियमा जम्मा तीन खेलमा विकेट लिँदा ६ खेलमा विकेन लिन सकेनन् । बाँकी ५ खेलमा बलिङ नै गरेनन्/पाएनन् ।

फ्लप ओपनर

नेपाली क्रिकेट ओपनिङमा जहिल्यै समस्या देखिन्छ । आसिफ–कुशल जोडीको आगमनपछि नेपाली ओपनिङमा केही सुधार भएको थियो । लगातार खेल्नुपर्दा उनीहरुको प्रदर्शनमा पनि तलमाथि भइरहेको थियो ।

तर कुशलको स्थानमा जसले ब्याटिङ गरे उनले पनि न्याय गर्न सकेनन् । कुशलको स्थानमा आएका पवन झनै फ्लप देखिए ।

सन् २०१९ फेब्रुअरी १ मा युएईविरुद्ध टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका पवनले सातौं नम्बरमा ब्याटिङ गरेका थिए । उनले २५ बलमा १८ रन बनाए । तर त्यसपछि भने उनले ओपनरको भूमिमा खेले । तर फ्लप भए ।

युएई विरुद्धकै अर्काे खेलमा उनले कप्तान पारस खड्कासँग ओपनिङ गरेर तर खाता नखोली आउट भए । लगातार पाँच खेलमा ओपनिङ गर्दा स्कोर ०, १०, ०, १० र ९ रह्यो ।

१३औं सागको पहिलो खेलमा पवनले भुटानविरुद्ध ब्याटिङ गरेनन् । माल्दिभ्सविरुद्ध उनले छैटौं र सातौं नम्बरमा ब्याटिङ गरे पनि रन बनेन ।

त्यसपछि २०२० फेब्रुअरी–मार्चमा बैंककमा भएको एसीसी इस्टर्न रिजन टी–२० मा उनले मलेसिया र हङकङ विरुद्ध पाँचौ नम्बरमा ब्याटिङ गरे । त्यही प्रतियोगितामा उनले तुलनात्मक रुपमा कमजोर टिम थाइल्याण्डविरुद्ध तेस्रो नम्बरमा ब्याटिङ गर्दै अविजित २७ रन बनाए । त्यही नै उनको व्यक्तिगत उच्च स्कोर हो ।

घरेलु क्रिकेटमा पवनले नेपाल पुलिस क्लबबाट खेल्दै आएका छन् । पुलिसमा कुशल भुर्तेल, अनिल साह, अमित श्रेष्ठ, सुनिल धमला, दिलिप नाथजस्ता ओपनर छन् । यस्तोमा पवनले अवसर पाउने कुरै भएन ।

पुलिसमा पनि उनले तल्लो क्रममा आएर हार्ड हिटरको रुपमा खेल्ने गरेका छन् ।

२०७७ माघमा भएको प्रधानमन्त्री कप एकदिवशीय खेलमा पवनले लुम्बिनी प्रदेशविरुद्ध १३ बलमै अर्धशतक प्रहार गरेका थिए ।

केन्या भ्रमणअघि नेपालको मुख्य प्रशिक्षक नियुक्त भएका मनोज प्रभावरले नयाँ बल फेस गर्न सक्ने ब्याटर र नयाँ बल बलिङ गर्न सक्ने बलर चाहिएको बताएका थिए । तर केन्यामा नयाँ बल सामना गर्ने ओपनरका लागि पवनको परीक्षण असफल भएको छ ।

पवन सर्राफ
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय