१४ कात्तिक, काठमाडौं । स्पानिस ला लिगामा रियल मड्रिड गिरोनासँग बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा रियलले पहिले अग्रता लिए पनि कायम राख्न नसक्दा गिरोनासँग १-१ को बराबरी खेल्दै अंक बाँडेको हो ।
घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा ७०औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।
तर १० मिनेटपछि नै गिरोनाले पेनाल्टीमा बराबरी गोल फर्काए । गिरोनाका क्रिस्टियन स्तुअनीले पेनाल्टीमा गोल गरे ।
इन्जुरी टाइमको पहिलो मिनेटमा रियलका टोनी क्रुस रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए ।
बराबरीपछि १२ खेलबाट ३२ अंक जोडेको रियल शीर्ष स्थानमा उक्लिएको छ । तर दोस्रो स्थानको बार्सिलोनासँग जम्मा १ अंकको मात्र अन्तर छ । समान खेलबाट बार्सिलोनाको ३१ अंक छ ।
प्रतिक्रिया 4