+

नेपाल टी-२० : तीन विदेशी खेलाडी चम्कँदा काठमाडौं नाइट्सको दोस्रो जित

२०७९ पुष  १२ गते १७:२८ २०७९ पुष १२ गते १७:२८
नेपाल टी-२० : तीन विदेशी खेलाडी चम्कँदा काठमाडौं नाइट्सको दोस्रो जित

१२ पुस, काठमाडौं । काठमाडौं नाइट्सले नेपाल टी-२० लिगमा मंगलबार जनकपुर रोयल्सलाई ५३ रनले पराजित गरेको छ ।

लिगमा काठमाडौंको यो दोस्रो जित हो । यसअघि लगातार दुई खेल जित्दै उत्कृष्ट सुरुवात गरेको जनकपुरको भने यो पहिलो हार हो ।

प्रतियोगिताकै उच्च स्कोर बनाउने क्रममा काठमाडौंले पहिले ब्याटिङ गर्दै २०८ रन बनाएको थियो । २०९ रनको लक्ष्य पछ्याएको जनकपुरले १५५ रन मात्र बनाउन सक्यो ।

तीन खेलपछि दुवैको समान ४ अंक छ । तर रनरेटमा अगाडि रहेको काठमाडौं अंकतालिकामा दोस्रो स्थानमा छ । मंगलबारै पोखरा एभेन्जर्सलाई हराएर लगातार तीन खेल जितेको लुम्बिनी अल स्टार्स ६ अंकसहित शीर्ष स्थानमा छ ।

चम्किए तीन विदेशी खेलाडी

काठमाडौंको दोस्रो जितमा विदेशी खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरे । इंग्ल्याण्डका एलेक्स ब्लेकले विष्फोटक ब्याटिङ गर्दै अर्धशतक प्रहार गरे । मलेसियाका भिरनदिप सिंह अर्धशतकबाट १ रनले चुके पनि राम्रो सुरुवात दिलाएका थिए ।

यसपछि अन्तिममा अफगानिस्तानका अज्मतुल्लाह ओमाजारईले विष्फोटक ब्याटिङ गरे । ओमारजाईले अलराउण्ड प्रदर्शन गर्दै बलिङमा समेत ३ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले ब्लेकको ८३ रन मद्दतमा ६ विकेट गुमाएर २०८ रन बनाएको थियो । अन्तिम ओभरमा आउट भएका ब्लेकले ४३ बल खेल्दै ४ चौका र ७ छक्का मद्दतमा सर्वाधिक ८३ रन बनाए ।

भिरनदिपले ३४ बलमा ४९ रन बनाउँदा ७ चौका र १ छक्का प्रहार गरे । लोकेश बमले ८ बलमा १५ रन जोडे ।

ओमारजाईले १५ बल खेल्दै १ चौका र ४ छक्का मद्दतमा अविजित ४३ रन बनाए ।

बलिङमा जनकपुरका पवन सर्रफले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए ।

सोमपाल कामी, जितेन्द्र मुखिया, शरफुद्दिन असरफ र आदिल बलमले समान १ विकेट लिए ।

बलिङमा पनि ओमारजाई नायक

२०९ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुर रोयल्सले पुरै २० ओभर खेल्दै सबै विकेट गुमाएर १५५ रन बनायो ।

जनकपुरका लागि समिउल्लाह सेनवारीले सर्वाधिक २९ रन बनाउँदा सन्दिप जोराले २६ र पवन सर्रफले २४ रन जोडे ।

शरफुद्दिन असरफले १९ र आदिल बलमले १६ रन बनाए ।

जनकपुरले ब्याटिङ अर्डरमा धेरै परिवर्तन गरेको थियो । यसअघि ओपनिङ गरेका सागर पुन आज पहिलो रोजाईँमै थिएनन् भने कप्तान ट्रेभोन ग्रिफिथसँग पवन सर्रफले ओपनिङ गरेका थिए ।

यसअघि तेस्रो नम्बरमा ब्याटिङ गर्दै आएका विकेटकिपर चाडविक वाल्टनले आज पाँचौ नम्बरमा ब्याटिङ गरे भने सन्दीप जोरालाई तेस्रो नम्बरमा प्रमोट गरिएको थियो ।

यसअघि पाँचौ नम्बरमा ब्याटिङ गरेका राजेश पुलामीले आज आठौं नम्बरमा ब्याटिङ गरेका थिए ।

जनपुरलाई अन्तिम बलमा अलआउट गर्न काठमाडौंका ओमारजाईले सर्वाधिक ३ विकेट लिए । विष्फोटक ब्याटिङ गरेका ओमारजाईले जनकपुरका कप्तान ट्रेभोन ग्रिफथसहित शरफुद्दिन असरफ र सोमपाल कामीको विकेट लिए ।

उनले ४ ओभरमा २५ रन खर्चे । यस्तै वसिर रहमदले २ विकेट लिए भने कमल ऐरी, अविनाश बोहरा, अनिल खरेल र सुनाम गदतमले समान १ विकेट लिए ।

नेपाल टी-२० लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय