+

१६ दिनपछि एसियन च्याम्पियनसिप, नेपालको टिम छनोट हुनै बाँकी

२०७९ फागुन  ७ गते १८:०१ २०७९ फागुन ७ गते १८:०१
१६ दिनपछि एसियन च्याम्पियनसिप, नेपालको टिम छनोट हुनै बाँकी

७ फागुन, काठमाडौं । नेपाल एथलेटिक्स संघले २२ वर्षपछि एसियाली स्तरको प्रतियोगिता आयोजना गर्ने भएको छ ।

नेपाल एथलेटिक्स संघले १६औं संस्करणको एसियन क्रसकन्ट्री च्याम्पियनसिप फागुन २३ गते गोकर्णमा आयोजना गर्ने घोषणा गरेको छ ।

लामो समयपछि घरमै फकिएको एसियाली च्याम्पियनसिपका लागि नेपाली टिमको तयारी भने अहिलेसम्म सुरु गरिएकै छैन । नेपालले चारै विधामा पूर्ण कोटामा खेलाडीको सहभागिता गराउने बताए पनि राष्ट्रिय टिम छनोट गरिएको छैन ।

नवौं राष्ट्रिय खेलकुद, बंगलादेशको शेख बंगबन्धु म्याराथन तथा घरेलु प्रतियोगिताहरु पनि लगातार भइरहेका कारण टिम छनोट ९ गते राखिएको र १० दिनको विशेष प्रशिक्षणपछि प्रतियोगितामा सहभागी हुने संघले जनाएको छ ।

नेपालले अघिल्लो वर्ष फागुनमा भारतको नागाल्याण्डमा साफ क्रसकन्ट्री च्याम्पियनसिपमा सहभागिता जनाउँदा २ रजत र ५ कांस्य पदक जितेको थियो । तर, साफमा पदक जितेका खेलाडीले यस प्रतियोगितामा कुनै विशेष सुविधा नपाउने संघले जनाएको छ । संघका सभिव आरके विष्टले खुला छनोट भएकाले सबैलाई सहभागी हुन आमन्त्रण गरेका छन् ।

संघले यसपल्ट एसियालीस्तरको प्रतियोगितामा जुनियर विधाका खेलाडीबाट पदकको अपेक्षा राखेको छ ।

नेपालले सन् २००१ मा पछिल्लोपल्ट यही प्रतियोगिताको छैटौं संस्करण आयोजना गरेयता एसियालीस्तरमा अरु प्रतियोगिता गर्न सकेको छैन । प्रतियोगितामा सिनियर र जुनियर गरी ४ विधामा एकल र टिम स्पर्धा सन्चालन हुनेछ । सिनियर महिला र पुरुष तथा यू–२० जुनियर महिला र पुरुष विधा समावेश गरिएको छ ।

गोकर्ण फरेस्ट रिसोर्ट परिसरमा सन्चालजन हुने प्रतियोगितामा सिनियरतर्फ १० किलोमिटर र जुनियरतर्फ पुरुषको ८ र महिलाको ६ किलोमिटर क्रसकन्ट्री दौड हुनेछ ।

एउटा टिममा पूर्ण कोटामा पाँच जनासम्म खेलाडी राख्न पाइनेछ । तर, आयोजकले तीनजना खेलाडीका लागि मात्र खर्च ब्यहोर्ने संघले जनाएको छ । प्रतियोगिताका लागि मंगलबारसम्म खेलाडी दर्ता गर्न पाइने छ । त्यसैले संघले सहभागी देश र खेलाडीको संख्या यकिन गर्न सकेन ।

‘कोरोना महामारीपछि पहिलोपल्ट प्रतियोगिता आयोजना हुन लागेकाले धेरैभन्दा धेरै देश सहभागी इच्छुक छन् भन्ने खबर पाएका छौं । सम्भवतः २६० देखि ३०० जना खेलाडीको सहभागिता रहनेछ,’ संघका अध्यक्ष राजीवविक्रम शाहले आइतबार पत्रकार सम्मेलानमा भने ।

गोकर्ण क्षेत्रको उकालो ओरालो र कच्ची सडकहरुलाई समेटेर क्रसकन्ट्रीको रुट तयार पारिएको संघले जानकारी दिएको छ ।

राजीव विक्रम शाह साउथ एसियन क्रसकन्ट्री च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय