+

प्रिन्सलाई सदस्य सचिवको सुझाव : बाँकी समय तयारीमा उपयोग गर्नुस्

२०८१ वैशाख  ३१ गते १७:४६ २०८१ वैशाख ३१ गते १७:४६
प्रिन्सलाई सदस्य सचिवको सुझाव : बाँकी समय तयारीमा उपयोग गर्नुस्

३१ वैशाख, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले पेरिस ओलम्पिकमा वाइल्ड कार्डमार्फत छनोट भएका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई भेटेर बाँकी समय तयारीका लागि भरपुर उपयोग गर्न आग्रह गरेका छन् ।

सदस्य सचिव घिसिङले सोमबार त्रिपुरेश्वरस्थित कार्यकक्षमा प्रिन्सलाई भेट गरी सुझाव दिएका हुन् ।

‘पेरिस ओलम्पिकका लागि छनोट हुनु भएकोमा हार्दिक बधाई । अब वाइल्ड कार्डका लागि खेल्न नपरे पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता भने टुट्नु हुँदैन,’ सदस्य–सचिव घिसिङले भने, ‘आफूभन्दा वरीयतामा माथि र बलिया खेलाडीसँग खेल्ने वातावरण बनाउन संघको ध्यानकर्षण गराउन चाहन्छु । अझ ओलम्पिककै लागि छनोट भएका अन्य राष्ट्रका खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर मिले झन् राम्रो । तयारीका लागि परिषद्ले गर्ने सहयोगमा कुनै कमी हुने छैन ।’

सदस्य सचिव घिसिङले प्रिन्सको तयारी प्रशिक्षणका लागि विशेषज्ञ प्रशिक्षकलाई नेपालमा बोलाउने वा प्रिन्सलाई विदेशमा पठाउने के गर्दा उपयुक्त हुन्छ त्यसको समन्वय गर्न संघलाई निर्देशन दिएका छन् ।

प्रिन्सले ओलम्पिकमा छनोट भएकोमा खुशी व्यक्त गर्दै जिम्मेवारी पनि थपिएको महसुस गरेको प्रतिक्रिया दिए । प्रिन्स ओलम्पिकको ब्याडमिन्टनमा प्रतिस्पर्धा गर्ने पहिलो नेपाली खेलाडी हुन् ।

भेटका अवसरमा नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ र ब्याडमिन्टनका मुख्य प्रशिक्षक सुदिप योञ्जनको पनि उपस्थिति रहेको थियो । अध्यक्ष श्रेष्ठले प्रिन्सलाई वाइल्ड कार्ड दिलाउन संघले पनि धेरै मिहिनेत गरेको बताए ।

प्रिन्स हाल विश्व वरीयतामा १७९औं स्थानमा छन् । जुनियर विश्व वरीयतामा प्रिन्स २०२३ देखि २०२४ को अवधिमा ६ महिना शीर्ष स्थानमा पनि थिए ।

पेरिस ओलम्पिक प्रिन्स दाहाल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय