+

अमेरिकाले दिएन सन्दीप लामिछानेलाई भिसा

२०८१ जेठ  ९ गते १७:०२ २०८१ जेठ ९ गते १७:०२
अमेरिकाले दिएन सन्दीप लामिछानेलाई भिसा

९ जेठ, काठमाडौं । विश्वकप खेल्न अमेरिका जान लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौंस्थित अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको छ ।

सन्दीपले बुधबार दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई भिसा नदिएको जानकारी गराएका छन् । अमेरिका र वेष्टइन्डिजमा हुने टी-२० विश्वकप क्रिकेटका लागि अरु नेपाली खेलाडी अमेरिका पुगिसकेका छन् ।

बलात्कार मुद्दामा सफाइ पाएपछि नेपाल क्रिकेट संघले उनलाई नेपाली टिममा समावेश गरेको थियो । तर अमेरिकाले भिसा नदिएपछि सन्दीप नेपालमै रोकिएका छन् ।

क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दका अनुसार सन्दीपले सफाइ दिएको फैसलासहित सबै कागजात पेस गरेका थिए । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले पनि खेलाडी परिर्वतनका लागि सहमति दिने जानकारी गराएको थियो ।

तर अमेरिकी दूतावासका अधिकारीले भिसा दिन नसकिने बताएका छन् । अब उनलाई विश्वकपमा पठाउन सरकारले पहल गर्नुपर्ने अध्यक्ष चन्दले बताए । उनले भने, ‘अब खेलकुदमन्त्री, परराष्ट्रमन्त्री र प्रधानमन्त्रीले पहल गर्नुपर्छ । किनकि यो राष्ट्रकै विषय हो ।’

अनलाइनखबरसँग सम्पर्कमा आएका नेपालस्थित अमेरिकी दूतावासका एक अधिकारीले भने लामिछानेलाई भिसा नदिइनुको कारण खुलाउन अस्वीकार गरे । अमेरिकी कानूनअनुसार भिसासम्बन्धी अभिलेखहरु गोप्य हुने भन्दै उनले भिसाको कुनै केशबारे टिप्पणी नगर्ने बताए ।

‘उपयुक्त भिसाका लागि योग्य हुने राष्ट्रिय क्रिकेट टोलीका सदस्य विश्वकपमा प्रतिस्पर्धा गर्न समयमै अमेरिकाको यात्रा गर्न सक्षम होउन् भन्ने सुनिश्चित गर्न काठमाडौंस्थित अमेरिकी दूतावास र विश्वभरका अन्य अमेरिकी कन्सुलर पोष्टहरुले एकजुट भइ काम गरेका छन्’, उनले भने, ‘अमेरिकामा आयोजना हुने टी–२० विश्वकपमा नेपालको पुरुष राष्ट्रिय क्रिकेट टोलीको सहभागिताबारे अमेरिकी दूतावास अत्यन्तै उत्साहित छ र वास्तवमा प्रस्थानपूर्व उक्त टोलीको सह्राहना र प्रोत्साहन गर्न यस दूतावासका केही अधिकारीले केही हप्ताअघि सो टोलीसँग भेट पनि गरेका थिए ।’

२ जेठमा लामिछानेले उच्च अदालत पाटनबाट बलात्कार मुद्दामा सफाइ पाएका थिए । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउँदै सन्दीपलाई सफाइ दिएको थियो । सोही दिन क्रिकेट एसोसियसन अफ नेपाल (क्यान)ले उनको निलम्बन फुकुवा गरेको थियो ।

सन्दीप लामिछाने
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय