६ जेठ, काठमाडौं । उच्च अदालत पाटनले मंगलबार नै अन्तिम आदेश सुनाउने अपेक्षा थियो, सन्दीप लामिछाने र पीडित गौशाला २६ दुवै बन्द इजलासभित्र थिए ।
बाहिर लामिछानेको पक्षमा कोही दमाहा लिएर ‘उत्सव’ मनाउने तरखरमा थिए । कोही पीडितविरुद्ध आपत्तिजनक टिप्पणी गरिरहेका थिए । त्यो होहल्ला र नाराबाजी इजलासबाटै थाहा पाइरहँदा गौशाला २६ टोलाइरहिन् ।
आफ्नो होस्टल अगाडि आएका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीपसँग फोटो खिचाउने लोभमा निस्किंदा १९ महिनाअघि उनी अप्रिय घटनाबाट गुज्रिनुपरेको थियो । आफूमाथि भएको अन्यायविरुद्ध आवाज उठाउन परिवार, साथीभाइ र समाजबाट साथ नपाइरहेका बेला उनले एक्लै भए पनि आवाज उठाउने दृढता लिएकी थिइन् ।
पटकपटक बयान बदल्न दबाब र अनेकौं प्रलोभन आइरहँदा पनि उनले न्याय मात्र मागिरहिन् । पहिले जिल्ला अदालतमा आफूलाई नै लाञ्छित गरेर सिलसिलेवार बहस भइरहँदा उनी सधैं इलजासमै पुगेर सुनिरहन्थिन् ।
जिल्ला अदालतले लामिछानेलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गर्दै ८ वर्ष कैद र ५ लाख रूपैयाँ जरिवाना हुने आदेश सुनाएको थियो । त्यसविरुद्ध लामिछाने पक्षले उच्च अदालत, पाटनमा पुनरावेदन दिएको थियो । यसपटक पनि उनी सम्भव भएसम्म इलजासमै पुगिरहेकी हुन्थिन् ।
तर यो पटक अदालतबाहिर लामिछानेका फ्यानहरूले उनलाई लिएर गरिरहेको टिप्पणी मात्र होइन, बन्द इजलासको दृश्य पनि उनका लागि असैह्य बनिरहेको थियो ।
आसन्न टी–२० विश्वकपमा नेपाल सहभागी हुन लागि रहेका बेला आक्रोशित लामिछाने समर्थकहरू उनको पक्षमा बोलिरहँदा गौशाला २६ लाई त्यति साह्रो आश्चर्य पनि लागेन । किनकि लामिछाने समर्थकहरूले पहिले पनि उनलाई भौतिक आक्रमण गर्ने धम्की दिइरहन्थे ।
तर यसपालि जसरी इलजासभित्रै बलात्कार जस्तो गम्भीर अपराधमा पीडितकै चरित्रलाई लिएर तर्क–वितर्क भइरहे, त्यसले उनलाई झनै विक्षिप्त बनायो ।
उनको बुझाइमा जिल्ला अदालतमा कम्तिमा प्रमाणहरूमा टेकेर बहस भइरहेको थियो । उच्च अदालतमा लामिछानेलाई प्रतिष्ठित क्रिकेटर भएको भन्दै उनलाई छुट दिनुपर्ने जिकिर भइरहेको थियो । गौशाला २६ लाई नै लाञ्छित गर्ने प्रयास भइरहेको थियो ।
बलिउडको कुनै ‘कोर्ट रुम’ सिनेमामा जस्तो दृश्यहरू उनले देख्नुपरिरहेको थियो, जहाँ हिंसाविरुद्ध आवाज उठाउनु नै गल्तीका रूपमा प्रस्तुत भइरहेको थियो ।
लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता रामनारायण विडारी, पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठ, शम्भु श्रेष्ठ लगायतले गरेका बहसमा भएका तर्कहरू सुनिरहँदा उनी कस्तो मनस्थितिमा थिइन्, अरूले सायदै बुझ्लान् ।
पहिले जिल्ला अदालतमा बहस हुँदा लामिछाने र उनको पक्षबाट भएको व्यवहार सम्झिँदा अहिले पनि उनी झस्किन्छिन् । ‘जसरी हुन्छ मलाई डिमोरलाइज गर्न मात्रै खोज्थ्यो’, उनी सम्झिन्छिन्, ‘कहिले माफी मागेझैं गर्थ्यो ।’
सरकारी वकिलहरूका अनुसार उच्च अदालतबाट आदेश आउनु दुई हप्ता अघिसम्म पनि म्यासेज र फोन गरेर सन्दिपले उनलाई प्रभावमा पार्ने प्रयास गरिरहेका थिए । गौशाला २६ लाई क्रिकेट असाध्यै मन पर्थ्यो, त्यही मनोभाव बुझेका लामिछानेले कहिले विश्वकप जितेर ल्याउँछु भन्दै माफी दिन भन्थे । कहिले ‘जित तिम्रो नाममा डेडिकेट’ गर्छु भन्थे ।
सामाजिक सञ्जालदेखि प्रत्यक्ष रूपमा पनि लामिछानेका फ्यानहरूले उनलाई कमजोर बनाउने कोसिस गरिरहेकै थिए ।
‘यदि ऊ सही थियो भने अन्तिम दिनसम्म मलाई त्यसरी म्यासेज गरिरहनु जरुरी नै थिएन’, गौशाला २६ भन्छिन्, ‘यति धेरै आरोप लगाएर चरित्र हत्या गर्नुभन्दा मेरोविरुद्ध प्रमाणसहित डिफेमेसनको केस हालेको भए, यत्रो लडाइँ त लडिसकेको थिएँ, त्यसलाई पनि सामना गर्न तयार थिएँ ।’
तर उच्च अदालत लामिछानेप्रति उदार देखियो । बलात्कार भएको जिल्ला अदालतको ठहरलाई उल्टाउँदै बुधबार उच्च अदालतले लामिछानेलाई सफाइ दियो । जबरजस्ती करणी जस्तो गम्भीर मुद्दाको आदेशबारे आइतबारसम्म पूर्णपाठ आएको छैन । तर अदालतका प्रवक्ताले भीडको बीचमा निस्किएर लामिछानेले सबै आरोपबाट सफाइ पाएको सुनाए ।
लामिछाने स्वयम्ले बयानमा होटल काठमाडौं इनमा आफू र गौशाला २६ बसेको स्वीकारेका छन् । सीसी टीभी फुटेजसहितका प्रमाणले पनि घटना भएको दिन लामिछाने होटलको कोठाभित्र गौशाला २६ सँग बसेको देखाउँछ । उनले आफूमाथि जबरजस्ती करणी भएको बयान दिएकी छन् ।
अदालतले यसलाई सहमतिको सम्बन्ध भन्यो वा संगै बसे पनि जबजस्ती करणी नभएको व्याख्या गर्यो भन्ने पूर्णपाठ आएपछि मात्र खुल्ने छ । तर लामिछानेलाई सफाइ दिने आदेशपछि गौशाला २६ भने विक्षिप्त छिन् । उनी भन्छिन्, ‘सबै कुरा यसरी प्रस्तुत भयो कि अरू कोही पीडित आफूमाथि अपराध भयो भनेर बाहिर आउन नसक्ने अवस्था बनेको छ ।’
जसले हिंसाविरुद्ध आवाज उठायो ऊ नै सबैतिरबाट दोषी करार हुँदा भोलि अरू पीडितले कसरी आवाज उठाउने ?
‘कसैको स्वर ठूलो भयो भन्दैमा उसले जे बोल्यो, त्यही सही हुने हो र ?’, गौशाला २६ प्रश्न गर्छिन्, ‘योबीचमा मलाई दिइएका मानसिक तनावका कारण म पटकपटक अस्पतालसम्म पुग्नु परेको छ, यो चाहिं किन कसैले नदेख्ने ?’
अझ उनका तस्वीरहरू भन्दै लामिछानेका फ्यानहरूले अनेक किशोरीका तस्वीरहरू बाहिर ल्याइदिएका छन् । यसपछि उनलाई सार्वजनिक रूपमा हिंड्डुल गर्न गाह्रो हुन थालेको छ । ‘तेरो घर वरिपरि नै बस्छु, बाँच्न मन छ कि छैन ? भन्दै फोनहरू आउँछन्’, उनी भन्छिन्, ‘मैले आफ्नो तरिकाले बाँच्न पाउने स्थिति पनि भएन । यो कस्तो न्याय हो ?’
अदालतले लामिछानेलाई सफाइ दिएपछि उनलाई विभिन्न माध्यमबाट धम्की आउने क्रम बढेको छ । फोटो सार्वजनिक गरिदिएपछि बाहिर निस्किन गाह्रो भएको छ । कलेजमा समेत साथीभाइको अगाडि उभिन गाह्रो भएको छ ।
‘कम्तिमा मेरो निजी जिन्दगी त बर्बाद नपारिदिए हुन्थ्यो । मेरो बाँच्न पाउने हक छैन ?’ उनी प्रश्न गर्छिन्, ‘के आफूमाथि भएको अपराधविरुद्ध आवाज उठाउनु मेरो गल्ती हो ?’ दोषी ठहरिएका बेला त उनलाई लक्षित गर्दै निरन्तर प्रहार भइरहन्थे भने सफाइ पाएपछि झन् गौशाला २६ भनेको को हो भन्दै पहिचान सार्वजनिक गर्न चेतावनी दिनेहरू बढेका छन् ।
‘अदालतले नै निर्दोष भनेपछि उनीहरूले ठाउँ पाउने भइनै हाले’, उनले अनलाइनखबरसँग भनिन्, ‘तर आई डिजर्ब टु लिभ (बाच्न पाउने हक राख्छु) नि, होइन ?’
सबैतिरबाट आफूमाथि आक्रमण हुन थालेपछि उनले राष्ट्रिय मानव अधिकार आयोगमा पनि निवेदन दिएकी छन् । आयोगकी सदस्य लिली थापा निवदेनबारे सम्बन्धित पक्षहरूसँग छलफल गरिरहेको बताउँछिन् ।
क्षतविक्षत जिन्दगी
हिजाआज उनी प्रायः बाहिर निस्किंदिनन् । कलेज पढ्नेसँगका साथीहरू बिदाका दिनहरूमा घुम्न गएर तस्वीरहरू पोष्ट गरिरहँदा उनी आफ्नै कोठामा मात्र हुन्छिन् । सोच्छिन्, ‘सायद यति नै पनि मेरो सफलता हो कि ?’
‘बाउआमा समेतको सहारा नभएको अनाथले राष्ट्रपतिले समेत हात मिलाउने व्यक्तिसँग यत्तिकै यत्रो अगाडिसम्म लड्यो’, उनी आफैंलाई सम्झाउँछिन्, ‘मैले सक्नेसम्म आवाज उठाएकी हुँ, बाँकी त भगवान पनि होलान् !’
बस् आफूलाई थप क्षति नपुर्याइदिए हुन्थ्यो भन्ने उनलाई लाग्छ । ‘किनकि गाउँमा आमा मेरो सफलताका लागि हरेक दिन प्राथना गरिरहनुभएको छ । मेरो बाँकी जीवन आमाको लागि मैले डेडिकेट गर्नुछ’, गौशाला २६ भन्छिन्, ‘मेरो कारणले मलाई संसार देखाउने आमा हरेक दिन मरेको म हेर्न सक्दिन ।’
उनी ८/९ वर्षको हुँदा आपसी बेमेलले बुबाआमा अलग भए । आमालाई घरबाट निकालेको दुई साताभित्रै बुबाले अर्को विवाह गरे । त्योबेला उनलाई आमा बितिसकेको भन्दै ‘नुन बार्न’ पनि लगाएका थिए । परिवारको आर्थिक स्थिति एकदम कमजोर थियो । उनको मनमा भने पढाइ राम्रो भएन भने केही गर्न सकिंदैन भन्ने थियो ।
‘जीवनमा केही गर्नु छ भने मैले मिहिनेतका साथ पढ्नुपर्छ भन्ने कुराले मेरो मनमा प्रहार गरिरहेको हुन्थ्यो’, उनी भन्छिन्, ‘सानैबाट मैले नखाएर होस् कि नसुतेर दिएका हरेक असाइनमेन्ट पूरा गर्थे ।’
शिक्षकहरूले अरुलाई उनी जस्तो विद्यार्थी हुनुपर्छ भनेर उदाहरण पनि दिइराख्थे । ‘म प्रायः स्कुल फस्ट भइरहें, अधिकांश समय मैले छात्रवृत्तिमा पढेकी हुँ’, उनी भन्छिन्, ‘अर्को आमासँग बस्दा राम्रो व्यवहार भएन, कक्षा ८ पछि त्यहाँ बस्न सक्ने स्थिति नै भएन ।’
भावनात्मक रूपमा उनी पनि जोडिइरहन सकिनन् । नयाँ आमा गर्भवती भएपछि उनी बसिरहन सकिनन्, त्यसपछि उनी घरबाट निस्किइन् । आमालाई पहिले पनि परिवारले स्वीकारेको थिएन । त्यसैले उनको पनि जाने ठाउँ सीमित थिए । मामा घर जाँदा पनि उनी त्यहाँ बस्नसक्ने स्थिति भएन ।
‘ममी ज्यूँदै भएको थाहा हुँदाहुँदै कोही आफन्तले मरिसकी भन्छ भने त्यहाँ कोही कसरी बस्न सक्छ ?’, उनी भन्छिन्, ‘त्यस्तै कुराले मलाई जीवनलाई किन निरन्तरता दिइरहुँ जस्तो लाग्थ्यो । यहीं सब अन्त्य गरिदिउँ जस्तो लाग्थ्यो ।’
तर झन् ममीले के गर्नुहोला भन्ने कुरा सोचेर आफू पटकपटक त्यस्तो अवस्थामा पुगेर पनि फर्किएको उनी बताउँछिन् । बाल्यकालमै उनी कठिन मानसिक अवस्थाबाट गुज्रिनुपरेको छ । परिवारभित्रै आमाबुबाबीच भएको हिंसादेखि आँखै अगाडि परिवार सदस्यले आत्महत्या गर्न लागेको दृश्य उनले बालखैमा देख्नुपरेको छ ।
‘मेरो जीवन एकाध घटनाले मात्रै यति क्षतविक्षत भएको होइन’, उनी भन्छिन्, ‘तर हरेक घटनाले अझै अगाडि धेरै हिंड्न बाँकी रहेछ भन्ने देखाउँछ ।’
कक्षा ९ र १० पढ्न उनी सहरतिर छिरिन् । आफन्त नै पर्नेको घरमा बसेर उनी काम सघाउँथिन् । त्यसबापत उनलाई पढाइदिन्थे ।
‘सामान्य खर्चमा जसोतसो चल्यो, दशैंमा एकजोर कपडा किन्नेबाहेक अरूबाहिर खर्च कहिल्यै गरिएन’, उनी सम्झिन्छिन्, ‘एसईई दिएपछि पढ्नलाई फेरि काठमाडौंतिर आउनुपर्यो ।’
सहारा खोज्दै उनी आफन्त कहाँ बस्न थालिन् । पहिले सरकारी स्कुलमा पढेकी थिइन् । काठमाडौं आएर अंग्रेजी माध्यममा पढ्नुपर्ने भयो । ‘कोभिडको समय थियो, सबै टेक्स्ट बुकमा केन्द्रित थिए’, उनी भन्छिन्, ‘म भने अंग्रेजी सिकिरहेकी थिएँ ।’ यद्यपि उनले राम्रो अंक ल्याइन् ।
‘म पढ्नकै लागि आएकी थिएँ, मलाई कमजोर हुने छुट नै थिएन’, उनी भन्छिन्, ‘मेरो लागि पढाइ कमजोर हुनु भनेको जिन्दगी बर्बाद हुनु थियो ।’
तर सधैं सोचे जस्तो कहाँ हुन्थ्यो ! आफन्तलाई आफ्नो छोराछोरी उनले पढाइदिए हुन्थ्यो भन्ने थियो । उनलाई घरको काम सकेर भाइबहिनीलाई पढाएर आफूले पनि पढ्नुपर्ने थियो । यस्तोमा उनी त्यहाँ लामो समयसम्म रहन सकिनन् ।
‘कलेजबाट नजिक भए पनि मलाई त्यहाँ बसिरहन निको लागेन, सधैं उकुसमुकुस भयो’, उनी भन्छिन्, ‘त्यसपछि परीक्षाका बेला केही समय एकजना साथी कहाँ गएर बसें ।’ सधैं त्यसरी बसिरहन पनि उनी सक्थिनन् ।
उनलाई लाग्थ्यो, ‘कसैले एक छाक मात्रै खान दिएर पनि बस्न पनि दिए हुन्थ्यो, बरू काममा पनि सघाउँथे ।’ उनी विभिन्न होटस्टलहरू खोज्न थालिन् । कलेजबाट धेरै टाढा नपर्ने बानेश्वरको एउटा होस्टलमा उनी बुझ्नलाई गइन् ।
आफ्नो स्थितिको बेलिविस्तार लगाएर होस्टल सञ्चालकसँग भनिन्, ‘कुनै बेला होस्टेलको फी तिर्न छिटो होला, कहिले ढिलो होला । मैले १२ पढ्न बाँकी छ, मलाई बीचमा ननिकाल्दिनु होला ।’
बदलामा होस्टलको काममा सहयोग गर्न तयार रहेको उनले बताइन् । त्यही बेला होस्टलमा एक जना सहयोगी चाहिएको रहेछ ।
‘रवीन्द्रनाथ टेगोर र सन्दीप लामिछाने’, उनले एकैश्वासमा भनेकी थिइन् ।
‘होस्टलमा एउटा सानो कोठा रहेछ, त्यहाँ बस्ने भए पैसा नलिने मासिक १० हजार रूपैयाँ दिने पनि भन्नु भएको थियो’, उनी भन्छिन्, ‘त्यहाँ उहाँहरूले पहिले कुकुर राख्नुभएको रहेछ । म त्यहाँ बस्दिन अरु साथीहरूसँगै बस्छु भने ।’
यसरी उनले कक्षा १२ उत्तीर्ण गरिन् । पहिले होस्टलमा थोरै विद्यार्थी थिए । पछि संख्या बढेपछि उनी बिरामी परिन्, काम गर्न गाह्रो थियो । त्यसपछि उनीबाहिर निस्किएर काम गर्न थालेकी थिइन् । त्यहाँबाट आएको पैसाले होस्टलको शुल्क तिर्थिन् ।
‘जाहेरी नदिएको भए…’
एक दिन कक्षा १० मा पढ्दा अंग्रेजी शिक्षकले क्लासमा उनलाई सोधेका थिए, ‘हु इन्स्पायर्स यू मस्ट ? (तिमीलाई जिन्दगीमा कसले सबैभन्दा धेरै प्रभाव पारेको छ ?)’
‘रवीन्द्रनाथ टेगोर र सन्दीप लामिछाने’, उनले एकैश्वासमा भनेकी थिइन् ।
हुन त दुई नाम कुनै पनि कोणबाट तुलना गर्न मिल्दैन । तर उनी कहिलेकाहीं कविता लेख्थिन्, साहित्यमा रुचि थियो । ११ वर्षको उमेरमा टेगोरले किताब निकालेका थिए । उनी पनि किताब निकाल्ने सपना बुन्थिन् ।
‘अनि, लामिछाने ?’
त्यसबेला भर्खरै लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) मा खेलेर चर्चामा आएका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समेतले उनको नाम लिएका थिए । अन्तरर्वार्ताहरूमा लामिछानेले पनि आफू जस्तै दुःख गरेर त्यो उचाइमा पुगेको रहेछन् भन्ने उनलाई लाग्थ्यो ।
‘सन्दिप लामिछाने माथिबाट फस्टाएको मानिस होइन, धरातलबाट दुःख गरेर आफूलाई माथिसम्म पुर्याएको मानिस हो’, उनी सम्झिन्छिन्, ‘त्यसैले म ऊबाट प्रभावित छु भनेकी थिएँ ।’
उनी क्रिकेट हेर्न कीर्तिपुर खेलमैदान गइरहन्थिन् । त्यहिबेला क्रिकेटर देव खनालसँग स्न्यापच्याटमा जोडिएकी थिइन् । देवले स्न्यापमा मेन्सन गरेर एउटा फोटो पठाएपछि उनले लामिछानेलाई पनि ‘एड’ गरेकी थिइन् ।
कुराकानी भएको एकसाता पनि पुगेको थिएन । प्रेरणाको स्रोत मानेको स्टार क्रिकेटर आफूसँग बोल्न थालेपछि उनी औधी खुशी भएकी थिइन् । उनले आफ्नो परिवारिक अवस्थाबारे पनि सुनाएका थिइन् ।
गौशाला २६ को अवस्थाबारे जानकार लामिछाने ५ भदौमा क्लोज क्याम्प छाडेर उनलाई भेट्न बानेश्वर आएका थिए । प्रि–बोर्ड परीक्षा चलिरहेको थियो, साँझ पनि भइसकेकाले सुरुमा निस्किन नमिल्ने बताएकी थिइन् ।
तर लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जान लागेकाले त्यो दिन नभेटे फेरि ५/६ महिनासम्म भेट नहुने बताए । अझ बानेश्वर नै आइपुगेको भन्दै अर्को स्न्याप पठाए । होटल छेऊ नै आइपुगेपछि उनी निस्किएकी थिइन् ।
‘त्यसबेला खाजा मात्र खाएर आउने, फोटो खिच्ने भन्ने सोचेकी थिएँ’, उनले जिल्ला अदालतमा दिएको बयानमा भनेकी छन्, ‘तर, मलाई लामिछानेले भक्तपुर दरबार स्क्वायर हुँदै नगरकोटसम्म पुर्याए ।’
त्यो भेटमा पनि सुरुमा लामिछानेले गौशाला २६ लाई दुई घन्टासम्म ‘मोटिभेसन’ दिएका थिए ।
‘तर अहिले त्यो व्यवहार बोलेका शब्दहरू सबै योजनावद्ध रहेछ भन्ने लाग्छ’, उनी भन्छिन्, ‘त्यो दिन मैले छिटो जाउँ होस्टल बन्द हुन्छ भनेका बेला ढिला गर्दासमेत त्यो मान्छेको नियत यस्तो होला भन्ने अलिकति पनि सोचेको थिइनँ ।’
गौशाला २६ ले फ्यानका रूपमा क्रिकेटबारे सोधिरहेकी थिइन् । लामिछाने ‘तिमी मेरो इन्टरभ्यू लिन आएको हो र !’ भन्दै टारिदिन्थे । उनले फोटो खिच्न खोज्दा पनि सन्दीपले दिएका थिएनन् ।
स्न्याप पठाउन खोजेको देखेपछि मोबाइल नै लगिदिएका थिए । त्यो दिनपछि उनको स्वभाव नै फेरिएको थियो । उनी एकोहोरिएकी थिइन् ।
‘म बोलिरहने स्वभावकी थिएँ, फरक देखेपछि टिचरहरूले तिमीलाई के भएको छ भन्दै सोध्नुभएको थियो’, उनी सम्झिन्छिन्, ‘मलाई निष्कृय देखेपछि उहाँहरूले नोटिस गर्नु स्वाभाविक पनि थियो ।’
त्यतिञ्जेलमा लामिछानेले उनलाई ब्लक गरिसकेका थिए ।
‘उसले मेरो कमजोर आर्थिक अवस्थाको फाइदा उठायो, मैले पारिवारिक अवस्था नबताएको भए पनि उसले ममाथि यो हिम्मत गर्ने थिएन होला’, उनी भन्छिन्, ‘त्यो समयमा मैले जाहेरी नदिएको भए मानसिक तनावका कारण जुनसुकै बेला पनि मैले आफूलाई सिध्याउन सक्थें होला भन्ने लाग्छ ।’
जुलियाको कविताले दिएको हिम्मत
घटना भएको तीन दिन बितेको थियो । अंग्रेजी शिक्षकले जुलिया बुर्गोसले लेखेको ‘आई वाज माई वन रूट’ भन्ने कविता बारे प्रस्तुति दिन उनलाई भनेका थिए ।
क्यालिफोर्नियाकी जुलियाले कवितामार्फत महिलाको जिन्दगी पुरुषले निर्धारण गर्ने होइन, आफ्नो बाटो आफैं कोर्ने हो भनेकी थिइन् । उनले लैङ्गिक असामनता र पुरुषले महिलालाई हेर्ने नजरबारे कवितामा प्रश्न उठाएकी थिइन् ।
गौशाला २६ ले संसारभरिका नारीले एउटै भाषा बोलेका हुन्छन्, त्यो भनेको मौनताको भाषा हो भन्दै प्रस्तुति दिएकी थिइन् ।
‘यो कविताबारे प्रस्तुति दिएपछि उकुसमुकुस भएको मन फुकाउनुपर्छ भन्ने लाग्यो’, उनी भन्छिन्, ‘मैले कविताबारे बताएपछि एक जना मेरो साथीलाई भएको घटना भन्दै हाई–प्रोफाइल व्यक्तिले बलात्कार गरेको सुनाएँ ।’
त्यसपछि नै उनलाई यसबारे आवाज उठाउनुपर्छ भन्ने आँट आएको थियो । ‘हुन त त्यो विद्रोह मेरो जिन्दगीको पहिलो थिएन’, उनी भन्छिन्, ‘यसपटक फेरि आवाज उठाइनँ भने पूरै जिन्दगी पश्चतापमा बित्छ भन्ने लाग्यो ।’
यद्यपि अघि बढ्ने बाटो उनले पहिल्याउन सकिरहेकी थिइनन् । एक जना कानुन पढिरहेका साथीलाई उनले सोधिन् । उनले नाबालिगको हकमा उजुरी गर्न ‘ठूलो’ मानिस चाहिन्छ भने । अझ हाई–प्रोफाइल भन्ने भएपछि परिस्थिति झन् कठिन बन्यो ।
त्यो अवधिमा उनी एकदमै द्विविधाबाट गुज्रिइन् । दोसाँधका बीच आमालाई भेट्न गाउँ फर्किइन् । आमा खुसी भइन् । तर एकाएक घर पुगेकी उनलाई आमाले ‘किन एक्कासी आएको ?’ भनेर सोधिनन् । उनले केही दिनमा घटनाबारे आमालाई सुनाइन् ।
आमाले एक झापड हानिन् । ‘तर किन भेट्न गइस् भनेर होइन, उनलाई अब कसैले बिहे गर्दैनन् भन्ने चिन्ता रहेछ’, गौशाला २६ भन्छिन्, ‘उहाँले पढ्नुभएको छैन, केही सरकारी कागजात छैन । यत्रो लड्ने त उहाँले केही सोच्न नै सक्नुहुन्थेन ।’
कतिसम्म भने नागरिकता नहुँदा गौशाला २६ को आमाले कोभिड–१९ विरुद्ध खोप लगाउन समेत पाएकी थिइनन् ।
‘उहाँको अहिलेसम्म पनि कुनै सरकारी कागजात छैन, उहाँ आधारभूत सुविधा र अधिकारबाट निकै टाढा हुनुहुन्छ’, उनी भन्छिन् । यस्तोमा उनले आमालाई निकैबेर सम्झाइन् ।
‘पछि उहाँले भन्नुभयो– म जस्तोको कोखबाट यति समझदार छोरी कसरी जन्मी, म छक्क पर्छु’, गौशाला २६ भन्छिन्, ‘उहाँले जम्माजम्मी एक रूपैयाँ नभएको मान्छेले आवाज उठाउनै सकिन्न भन्ने सोच्नुभएको थियो ।’
यसपछि दाइ पनि उजुरी दिन आउने भए । ‘मैले एकजना दिदीसँग कुरा गरें, पछि उहाँले एक जना कानुन व्यवसायीसँग जोडिदिनुभयो’, उनी भन्छिन्, ‘त्यसपछि बल्ल जाहेरी दिन प्रहरी वृत्त, गौशाला पुगेका थियौं ।’
गौशाला २६ लाई अझै पनि क्रिकेटप्रति उत्तिकै लगाव छ । उनलाई पनि अरुझैं खेलमैदानमा गएर चिच्याउँदै नेपालको पक्षमा हुटिङ गर्न मन छ ।
‘मैले सन्दिप लामिछानेलाई घृणा गरेको होइन, जुन पदमा बसेर जुन गलत काम गरेको थियो, त्यो चरित्रलाई घृणा गरेको हो’, उनी भन्छिन्, ‘उसले त्यो उचाइमा पुगेर पदको दुरूपयोग गरेको हो । म राष्ट्रिय टोलीको कप्तान हुँ, सबै मेरो पक्षमा छन्, मलाई के फरक पर्छ भन्ने भएर उसमा यति ठूलो हिम्मत आएको हो ।’
अहिले भने उनी आमाको हौसला सम्झिरहन्छिन्, ‘तैंले लडेको देखेर मलाई पनि हिम्मत मिलेको छ । तैले जसरी लडिस्, मैले पनि लडेको भए न्याय पाउने रहेछु ।’ पारिवारिक बेमेलका कारण लुगा समेत लिएर हिंड्न नपाएकी आमालाई छोरीको संघर्ष देखेर आफूले पनि संघर्ष गरेको भए हुने रहेछ भन्ने लागेको छ ।
समाज सभ्य भइदिएको भए गौशाला २६ ले पहिचान नै खुलाएर हिंडे पनि फरक पर्थेन । ‘गौशाला २६ त्योदिन उसको अपराधका कारण सिर्जित सांकेतिक नाम हो’, उनी भन्छिन्, ‘त्यो नामविना पनि त मेरो आफ्नै पहिचान छ । म विस्तारै बाहिर आइरहेकी छु, आउनेछु । सधैं पहिचान लुकाएर किन बस्नु ?’
उच्च अदालतबाट अस्वभाविक फैसला भयो भन्दैमा उनले हिम्मत हारेकी छैनन् । उनलाई कैयौं शुभेच्छुकको प्रेरणाले न्यायका लागि अन्तिमसम्म संघर्ष गर्ने आत्मबल पलाएको छ । ‘आउँदा पुस्तामा कुनै न कुनै दिन यत्तिको संघर्ष गर्ने मान्छे थियो भनेर कोही न कोहीले त सम्झेलान्,’ गौशाला २६ भन्छिन्, ‘कोही न कोहीले यसले यत्तिको संघर्ष गरेकी थिई त भन्लान् नि ! म संघर्ष गर्छु ।’
प्रतिक्रिया 4