पाखुरीमा बल भएका र हातमा शैक्षिक योग्यताको प्रमाणपत्र बोकेका युवाहरु ‘बेरोजगार’ छन् । ‘जागिर पाइएन यार’ भन्ने गुनासोले युवावृत्तमा एक किसिमको कोलाहल नै पैदा गरेको छ । किन उनीहरु बेरोजगार छन् ? यो प्रश्नको केन्द्रमा एउटै जवाफ छ, ‘किनभने उनीहरुसँग सीप छैन ।’
नेपालमा युवा बेरोजगारी एक चर्को मुद्दा बनेको छ । रिसर्च प्लेटफर्म म्याक्रोट्रेन्डस्का अनुसार नेपालमा १५ देखि २४ वर्ष उमेर समूहका २० दशमलव ४४ प्रतिशत युवा बेरोजगार छन् । बेरोजगारीको यो अत्यासलाग्दो तथ्यांकले हाम्रो शैक्षिक पद्धतीलाई गिज्याइरहेको आभास हुन्छ ।
खासमा हामीले विद्यालय तहदेखि नै यस्तो जग बनाउन जरुरी छ, जसले बालबालिकामा कुनै न कुनै सीप विकास गरोस् । पढाइको समानान्तर सीप भएपछि मान्छेमा आत्मविश्वास र आत्मनिर्भरता बढ्छ । यसले उनीहरुको जीवन सहज मात्र होइन, समृद्ध पनि बनाउँछ ।
सीप किन जरुरी ?
हामी सफलताको पछाडि दौडन्छौं । कसरी सफल बन्ने ? हरक्षण हाम्रो दिमागमा यही कुरा खेलिरहेको हुन्छ । जबकि सफलताको कुन्जी भनेको सीप हो ।
सीपले मान्छेलाई सक्षम बनाउँछ । भनिन्छ नि, ‘सफल होइन, सक्षम बन । सफलताले तिमीलाई पछ्याउनेछ ।’
सीप एक यस्तो औजार हो, जसले रोजगार खोज्नुपर्दैन । बरु, रोजगारले खोज्दै आउँछ । त्यसैले जोसँग हातमा सीप छ, उनीहरुले हात बाँधेर बस्नुपर्ने बाध्यता हुँदैन । हात उठाएर ‘बेरोजगार भइयो’ भनी सुस्केरा हाल्नु पर्दैन । किनभने रोजगार बजारमा सिपालु हातहरुको जहिले पनि खाँचो भइरहन्छ ।
अहिले विश्वको रोजगार बजारमा नयाँ-नयाँ दक्षता र सीपको माग भइरहेको छ । वल्र्ड इकोनोमिक फोरमले प्राविधिक परिवर्तनका कारण सन् २०३० सम्ममा कम्तीमा एक अर्ब मानिसलाई पुनः दक्ष बनाउनुपर्ने अनुमान गरेको छ । यसले विद्यार्थीलाई उपयुक्त सीप प्रदान गर्ने शैक्षिक कार्यक्रमको आवश्यक्तालाई औंल्याएको छ ।
कस्तो सीप ?
सबैलाई थाहा भएको कुरा हो, कुनैपनि कामलाई कुशलतापूर्वक गर्ने कला वास्तवमा सीप हो । सही ढंगले परिकार तयार गर्नु, कफी बनाउनु, मोबाइल मर्मत गर्नु, गाडी कुदाउनु सबै सीप हुन् । सीप सानो वा ठूलो हुँदैन । हरेक सीपको आ-आफ्नै ठाउँमा खाँचो र महत्व हुन्छ ।
यद्यपि रोजगार बजारले हाम्रो सीपलाई निर्देशित गर्छ र बजारको माग अनुरुप हामी आफूमा सीप विकास गर्न सक्छौं । तर, अर्को महत्वपूर्ण कुरा के पनि हो भने सीप भएपछि रोजगारकै खोजीमा मात्र लाग्नुपर्छ भन्ने छैन । हातमा सीप भएकाहरुले रोजगारीको अवसर आफैले सिर्जना गर्न सक्छन् । नवीन उद्यम व्यवसाय सुरु गर्न सक्छन् ।
यावत् प्राविधिक दक्षता मात्र नभई आलोचनात्मक सोंच, समस्या समाधान गर्ने खुबी, रचनात्मक र नवीन जुक्ति, सञ्चार दक्षता, डिजिटल साक्षरता, भावनात्मक विवेकलाई पनि सीपकै रुपमा व्यख्या गरिन्छ । आफूसँग भएको कुरा सहजै बिक्री गर्न सक्नु, आफूले भन्न खोजेको कुरा सही ढंगले बुझाउन सक्नु पनि सीप हो । विश्व रोजगार बजारको बदलिँदो प्रारुपसँगै फरक किसिमको सीपले महत्व पाउन थालेको छ ।
म्याकिन्सेको प्रतिवेदनले सन् २०३० सम्ममा सबै उद्योगहरुमा कामदारका लागि आलोचनात्मक सोंच, समस्या समाधान गर्ने खुबी, रचनात्मक र नवीन जुक्ति जस्ता ‘सफ्ट स्किल’ अझ महत्वपूर्ण हुने बताएको छ ।
पढ्दै, कमाउँदै
हामी किन बेरोजगार भयौं भन्ने प्रश्नले अर्को प्रतिप्रश्न गर्छ, ‘हामीसँग किन सीप भएन ?’
यसमा हाम्रो शैक्षिक परिपाटी धेरै हदसम्म जिम्मेवार छ । पढाइका साथ विद्यार्थीलाई सीप पनि सिकाउँदै जानुपर्ने थियो । तर, हामीले सीप विकासका लागि आधारभूत अभ्यासहरु गरेनौं । यसैले त स्नातकोत्तरपछि पनि युवाहरु भनिरहेका हुन्छन्, ‘बेरोजगार भइयो ।’
अन्तर्राष्ट्रिय श्रम संगठनका अनुसार विश्वभर करिब २६ करोड ७० लाख युवा शिक्षा वा तालिमबाट बञ्चित छन् । शिक्षा र सीप नहुँदा उनीहरुले आफ्नो क्षमताको समूचित उपयोग गर्न पाउँदैनन् । र, कतिपय अवसरहरु गुमाउन पुग्छन् । यसैले बालबालिकालाई पढाइका साथ उपयुक्त सीप विकास गर्नु जरुरी छ ।
हामीले एउटा सामान्य अभ्यास गरेका छौं, शिक्षालाई सीप र रोजगारसँग जोड्ने हेतुले । हाम्रो विद्यालयमा अध्ययनरत ११, १२ कक्षाका भाइबहिनीलाई नियमित पठनपाठनसँगै कुनै पनि सीप सिकाउँछौं । उनीहरुको अभिरुचि के कुरामा छ, त्यही अनुसारको सीप सिकाउँछौं ।
यसरी सीप सिकेका विद्यार्थीका लागि उपयुक्त रोजगार कम्पनी खोजिदिन्छौं । यसका लागि हामीले केही कम्पनीसँग समझदारी पनि गरिसकेका छौं ।
यस्तै नेपाल युवा उद्यमी संघ ललितपुर च्याप्टरसँग सहकार्य गरेर विद्यार्थीलाई उद्यमशिलतातर्फ पनि अगाडि बढाएका छौं । यस अन्तर्गत उनीहरुलाई उद्यमीसँग भेट गराउने, छलफल गराउने, उद्योगहरुको भ्रमण गराउने काम भइरहेको छ । यसले उनीहरुमा सीप विकास वा उद्यमशिलताबारे व्यवहारिक ज्ञान हुन्छ भन्ने हाम्रो विश्वास हो ।
अहिले कक्षा ११, १२ मा पढ्ने विद्यार्थी औसत १६-१७ वर्ष उमेर समूहका हुन्छन् । यो उमेरदेखि उनीहरुले पढाइलाई सीपसँग जोड्न सकेमा भोलिका दिनमा ‘बेरोजगार’ बस्नुपर्ने बाध्यता हुँदैन । किनभने हामीलाई थाहा छ, पढ्नु भनेको प्रमाणपत्रका लागि होइन, जीवनलाई सहज र सुन्दर बनाउनका लागि हो । अतः यसका लागि सीप अत्यावश्यक छ ।
सक्षम र स्वरोजगार
सहरका सटरहरु प्रतिदिन बन्द हुँदैछन् । गाउँघरको खेतबारी बाँझो छन् । उद्यम-व्यवसायमा मन्दी छ । तथ्यांकले भन्छ, दिनहुँ २५ सय हाराहारी युवा ‘श्रम भिसा’ च्यापेर देश छाड्दैछन् । यस्तो लाग्छ, देश डामाडोल हुँदैछ ।
विदेशबाट आउने रेमिट्यान्स हेरेर जसरी हामी रमाइरहेका छौं, त्यसको अर्को पाटोलाई हेरेर उत्तिकै डराउनुपर्ने स्थिति पनि छ । त्यो स्थिति हो, बौद्धिक र श्रम शक्ति पलायन । पाखुरीमा बल भएका ऊर्जावान युवाहरू विदेशको श्रम बजारमा पसिना चुहाइरहेका छन् । कक्षा ११, १२ को पढाइ सकाए लगत्तै युवाहरू अब्रोड स्टडीको तयारीमा दौडिरहेका छन् । यो सुखद् अवस्था होइन ।
अब के गर्ने त ?
यसका लागि शिक्षालाई सीपसँग जोड्नैपर्छ । विद्यार्थीसँग शैक्षिक योग्यताको प्रमाणपत्रसँगै हातमा सीप पनि हुनुपर्छ । यसले उनीहरुलाई स्वदेशमै रोजगार खोज्न, उद्यम व्यवसाय गर्न अनुकूलता दिनेछ । फलतः भोलिका कर्णाधार भनिएका युवाहरुले राज्यको अर्थतन्त्रमा ठोस र दिगो योगदान दिलाउनेछ । किनभने युवामा सीप अभिवृद्धिले उनीहरुको जीवन मात्र समृद्ध बनाउँदैन, यसबाट राज्य नै लाभान्वित हुन्छ ।
प्रतिक्रिया 4