प्रारम्भ
महमा गोबर मिसाएपछि जे खाना बन्छ, त्यसलाई पञ्चेबाजा र नौमती बाजा भन्छन् । छापामा छापिएका, मानिसहरूले बताएका र युट्युबमा आएका वृत्तान्तहरूले त्यही भनिरहेका छन् ।
कुरै बुझाउन गाह्रो
महाभारतमा युद्धको घोषणा गर्न बजाइएको शंख पाञ्चजन्यको रूपान्तरण हो, पञ्चेबाजा । पाँचवटा बाजा हुनुपर्छ कि पर्दैन ? भगवान् जानून् किनभने पाञ्चजन्यको अर्थ पाँच पाण्डवहरूको प्रतिनिधि युद्धघोषणा हो, जो उनीहरूका सारथि कृष्णले फुक्छन् । त्यसैले यो वीररस घन्काउने संगीत आयोजना हो । जसमा विवाहको निम्ति केटीबाट चुनिन पुगेको केटा (स्वयंवरित) विजयीभाव लिएर केटीलाई लिन दलबल सहित उसको घर पुग्छ ।
शंख प्राकृतिक रूपमा नपाइने भूपरिवेष्टित देशको विजयी केटाले के घन्काओस्, कर्नाल, नर्सिंहा, दमाहा, नगरा र झुर्मा छोडेर ? तर यहाँ टुप्लुक्किएको छ- ‘ट्याम्को’ सबैको मुखमा । कुनै बेलाको जन्ती जान हिंडेको केटो सायद क्षयरोगी थियो होला, ट्याम्को जुटायो उसले ।
पूर्वी तराईका राजवंशीहरूमा केटा पुग्छ केटीको घरमा नांगो तरबारको टुप्पामा सिउरिएको सुपारी लिएर । इन्डियाको अपराध जगत्मा ‘सुपारी लिनु’ यसैबाट आएको हो । अर्थ हो, गिंडबाट टाउको छुट्याएर लिनु । त्यसैले भनेको पञ्चेबाजा ट्याम्को सहितको क्षयरोगी वाद्यवृन्द होइन, यो कुनै सिनेमाको नौरंगी गीत बजाउनका निम्ति बनेको व्यवस्थापन नै होइन । खाँडो जगाउनुपर्ने व्यवस्थाले नै पनि स्पष्टै भनिरहेको छ- यो क्षणको माग ‘वीररस’ विशेषको मात्रै हो ।
कुरै बुझाउन गाह्रो
कर्नाल, नर्सिंहा, दमाहा दोहोर्याइदिएपछि र सहनाई थपिदिएपछि नौमती बाजा बन्छ- तिनले नै यस्तो वृत्तान्त छरिदिएका छन् । यो वृत्तान्त नौमती होइन कुमतिको परिचायक हो ।
मती शब्दले स्पष्टै बुझाइरहेको छ महिलाहरूको वाद्यवृन्द, केटा उसको भावी श्रीमती लिन हिंडेपछि उसका घरका नौ जना मतीहरूले प्रदर्शन गर्ने शृंगार रसको । इन्डियाबाट भित्र्याइएको सहनाईले वैराग्य रस छोड्छ कि शृंगार रस ? सोच्नुपर्ने आफैंले हो । सहनाईका बादशाह मानिने इन्डियाका विस्मिल्ला खाँका नब्बे वर्ष नाघेपछिका सहनाईवादन पनि प्रशस्तै सुन्न सकिन्छ युट्युबमा । सुने भइहाल्छ ।
शहनाई शब्द बनेको हो शाहिन अर्थात् राजसीबाट तर जन्मघर छोड्दाको दुःख ‘सहन’ गर्नुपर्दाको रुन्चे धुन भने हुन्छ यसको स्वरलाई नेपालीहरूले । न कि कुनै खुसी र उमंगको ।
भन्न खोजेको इन्डियाका मुगल शासक औरंगजेबपछि हार्दै र खुम्चिंदै जान थालेका बादशाह र राजाहरूको ‘सहनशक्ति’ झल्काउने बाजा शाहिनमा परिणत भयो कि बरु ?
वीररस र वैराग्य रसको उरन्ठेउलो संगम हाम्रो नौमती बाजा तुलनायोग्य छ, सन् १८४५ मा जर्मन (प्रसियन विशेष) राजकुमार वाल्दमारले हनुमानढोकाको संगीत कार्यक्रमले आफूलाई दिएको हैरानी बताउँदाको विवरणसँग- न ठाउँको, न पात्रको, न साधनको, न सन्दर्भको, न अर्थज्ञानको एउटा गाईजात्रा !
जबकि यतैबाट लगेर कम्तीमा ३००० वर्षअघि नै युरोपले ‘नाइन म्युजेज’ भन्ने धारणालाई स्थापित गरिसक्यो । ‘नौमती बाजा भने पनि सामान्यतः ११ बाजा बजाइन्छ । त्यही ११ बाजाको वाद्यवादक टोलीलाई एकजोली दर्शने भन्ने चलन छ । (पेज १००, महारानी) उपन्यास भए पनि पर्वत राज्यको पृष्ठभूमिमा दिइएको यो विवरणले त झन् हाम्रो मतिको स्तरलाई कहाँ झार्छ कहाँ भन्नै सकिन्न ।
म्युजेज र म्युजिक
संस्कृतको मुष (मुख) बाट अंग्रेजीको म्युजिक वा म्युजेज बन्ने हो । खका ठाउँमा ष प्रयोग गरेपछि यो यथार्थ अरू स्पष्ट हुन्छ नै । यही कारण संस्कृतको आलाप शब्द ग्रीकमा औलो (एक बाँसुरी बाजाविशेष), पिपिरी अंग्रेजीमा पाइप, लय ग्रीकमा लायर (एक किसिमको ताजा बाजाविशेष), फुक्नु अंग्रेजीमा फ्लुट (एक बाँसुरी बाजाविशेष), जनावरको आन्द्राबोधक सारबाट सारंगी ग्रीकमा सिरिङ्स हुन्छ । हरिण सिङ बदलिएर हर्न र हार्मोनियम, सितार बदलिएर षिथरा र अन्ततः अंग्रेजीको गिटार हुन्छ, संस्कृतको तानबाटै टेनोर बन्ने हो । सही उच्चारण कोयर (वृन्दगान) होइन स्वर हो भन्ने बुझियो भने सुरत (यौन सक्रियता) शब्द लेटिन अमेरिकाको सार्निवल (यौन उत्सव) हुन्छ भन्ने बुझिन्छ न कि कार्निवल उच्चारण गरेर । सितार त्यसैगरी ग्रीक जिब्रोमा षिथरा हुन गएको हो । लेख्नेले लेखिदिएर मात्र हुँदैन, पढ्न पनि जान्नुपर्छ ।
भूमध्यसागरको उत्तर तटीय क्रेट टापुविशेष ग्रीसको पूर्वीय सभ्यता आयात गर्ने मुख्य नाका हो । फनिसियन व्यापारीहरू त्यसका मुख्य वाहक हुन् ।
‘नाइन म्युजेज’
होमरले २८०० वर्षअघि नाइन म्युजेज अर्थात् नौ संगीतसाधिका भन्ने वाक्यांश लेखेका छन् । (अडिसी, अध्याय ११) यसले लगभग ३००० वर्षअघि नै नौमती बाजाको अस्तित्व थियो भन्ने देखाएको छ । उनका अर्का समकालीन हेसियोडले ती संगीतसाधिका भनिने दैवी पात्रहरूको नाम दिएका छन्- क्लियो, युटेर्प, थालेइया, मेल्पोमेन, टेर्पिसोर, इराटो, पलिहेमिया, युरानिया र क्यालिअप । (थियोगनी, अध्याय ३)
क्लियो र क्यालिअप कालीको रूपान्तरण हो, युटेर्प तारको रूपान्तरण हो, इराटो आरोहको, थेलेइया ‘थात’ को, मेल्पोमेन संस्कृतको मधुको, टेर्पिसोर सुरुमा तारस्वर र पछि तारसप्तकको, पलिहेमिया संस्कृतको दुई शब्द बहुल र होमको, युरानिया संस्कृतको अवरोहका रूपान्तरणहरू हुन् ।
दैवीपात्र भनेपछि देवी भयो । उनीहरूले देवी नै भनेका छन् । अर्थात् नौमती शब्द नवदुर्गाबाट लिइएको हो भन्ने स्पष्टै छ । कालरात्रिको कालीबाहेक अरू वैयक्तिक नाम मिल्दैन तर नवदुर्गाको नाममा जाने हो भने ती सबै शिवानी हुन् किनभने दुर्गा, काली, भगवती, शक्ति, पार्वती जे भने पनि एउटै व्यक्तिका पर्याय हुन् । उनीहरूले ती नामका बारेमा दिएका व्युत्पत्तिहरू रमाइला छन्, पढ्दै रमाइलो, अथ्र्याउँदै रमाइलो । पूर्वका बारेमा कुरै नबुझी अजासु हुने बानी परेका पश्चिमाहरूले लगाएको अर्थ पढ्दा रमाइलै हुन्छ । (ए.बी. कुक र बिक्सका)
तर कसैका हातमा संगीतयन्त्र थमाइएको छ भने त्यो इराटोका हातमा षिथरा (सितार), युटेर्पका हातमा औलो (बाँसुरी) र क्यालिअप वा टेर्पिसोरका हातमा लायर (एक किसिमको सारंगी) हो । (अरूलाई कला, इतिहास, नाटक, नृत्य, ज्योतिषसम्मको प्रतिनिधि बनाइएको छ ।) यी सबै तारबाजा वा सुषिर बाजा हुन् । नगरा र दमाहा जस्ता तालबाजा वा युद्धबाजा होइनन् । अर्थात् हाम्रा नौमतीले प्रयोग गर्ने बाजामा बरु कालरात्रि सकिएपछिको मधुर धुन दिने सारंगी, विनायो वा मुर्चुंगा, बाँसुरी जस्ता बाजाहरू पर्न जान्छन् । तिनले त्रिदेवीलाई नवदुर्गा बनाएछन् भन्ने पनि स्पष्टै छ, जो स्वयं उनीहरूकै लेखाइबाट संकेत मिल्छ पनि ।
यो त्यो बेलाको कुरा हो जति बेला ब्रह्मा र विष्णुको दन्त्यकथा जन्माउने पद्म पुराण जन्मिएकै थिएन, पश्चिमी समयशास्त्रमा जाने हो भने पनि ।
मेल्पोमेन, पलिहेमिया मूलमा गायिका हुने गर्थे भन्ने देखिन्छ, त्यहींनेर इराटो, थेलेइया, युरानिया र टेर्पिसोर संगीतसाधिका । यद्यपि टेर्पिसोरलाई नृत्यको प्रतिनिधि बनाउनु उनीहरूको इच्छाको कुरा । भ्रमको एउटा प्रशस्त उदाहरण पलिहेमिया हो । उनी पवित्र कविताकी दैवी प्रतिनिधि हुन् । लेखिसकियो पनि ग्रीक शब्द पली संस्कृत बहुलबाट बन्ने हो तर हेमिया शब्द वैदिक ऋचा पाठ गर्दा गरिने होमबाट बनेको हाइमबाट आएको हो । यसैले ती पवित्र कविताकी देवी बन्न पुगिन् ।
कुरै बुझाउन गाह्रो
साक्सोफोन (नेपालीमा सासफ्वाँ), बगल (नेपालीमा बिगुल), क्लारिनेट (नेपालीमा कलाँट) आदिको संयोजन हो बाच्छैबाजा । यो हिन्दी शब्द बादशाहीको नेपालीकरण हो, चिनियाँ पेत्साहीको नेवारीकरण पाच्छै (रायो साग) जस्तै ।
यहाँ नेपालमा यो बाच्छैबाजा कस्तो बाजा हो, सलामी दिन हिंडेको कसैको कि बाच्छालाई बजाउन (कुट्न) हिंडेको हुल्याहाहरूको डफ्फा हो ? बुझिनसक्नु छ ।
त्यसमाथि बिगुल उर्दी जारी गर्दा फुकिन्छ । बहालवाला राणा प्रधानमन्त्री बितेकाले हनुमानढोकामा तोडावालाहरू जम्मा हुनू भनेर धरहराबाट बिगुल फुकिन्थ्यो भन्ने हामीले सुने जस्तै । यो बिगुल कसको देहान्तमा फुकिएको हो ? थाहा पत्तो पाइँदैन ।
हुँदाहुँदा यति बेला बगललाई नौमती बाजाभित्र मात्र पारिएको छैन, भेरीको नामले नुवाकोट भैरवीको पूजामा पनि बजाइन्छ । भेरी र बगलबीचको भिन्नता समेत थाहा नपाउने यो कालबेलाप्रति जति आलोच्य कोण राखे पनि कम हुन्छ ।
नेट भन्छ, योहन डेन्नरले लगभग इस्वीको १७०० मा क्लारिनेट पत्ता लगाए । बगलको पहिलो औपचारिक प्रयोग सन् १७५८ मा जर्मनीको हेनोभरमा भयो । साक्सोफोन बेल्जियमका एडल्फ साक्सले सन् १८४० मा पत्ता लगाए । यसरी नेटले स्पष्टै गरिदियो- बाच्छैबाजामा पर्ने प्रमुख सुषिर बाजाविशष सेक्सोफोनको उत्पत्ति हाम्रो विक्रम संवत् १८९७ मा पनि भएकै थिएन । यस समय थिए इन्डियाका अन्तिम मुगल बादशाह बहादुर शाह जफर । जसका नाममा बादशाही बन्ने कुरै आएन । उनी अत्यन्त कमजोर र दिल्लीमा मात्र सीमित थिए । फेरि बनेको २५–३० वर्षमा वाद्यवृन्दका रूपमा युरोपबाट दिल्ली आइहाल्ने कुरा पनि भएन ।
यसको अर्थ हो, सन् १९११ मा दिल्लीमा जर्ज पञ्चमलाई इन्डियाको पहिलो बादशाह घोषणा गरिएपछि यसको सुरुआत भयो । यो बाच्छैबाजा सलामीको धुन हो यथार्थमा । विवाहमा नवविवाहितलाई सलामी दिन्छौं हामी ?
मैतीदेवी ब्यान्डबाजा, कुश्लेचौर ब्यान्डबाजा आदि ढाँचाका साइनबोर्डहरू खुबै देखिन्थे काठमाडौंभरि । अचेल साइनबोर्ड देखिंदैन प्रायः तर ब्यान्डबाजाको नाममा बाच्छैबाजाहरू लिएर यस्ता हुलियाका मानिसहरू टुप्लुकिन्छन् मानौं ती मेजर, कर्नेल, जर्नेल हुन् । दज्र्यानी चिह्न, कुममुनिको सास (डोरी) र तक्माहरू बाहेक अरू सम्पूर्ण झिलिमिलीयुक्त हुन्छन् ।
ब्यान्डको अर्थ वृन्द वा डफ्फा मात्रै हो । मानिस जुट्नुको कुनै अर्थ नै भएन तर सैनिक पोशाकमा उत्रिएपछि कि तिनले मार्चपासको सैनिक धुन र राष्ट्रिय गान घन्काउनुपर्यो कि सलामी धुन दिनुपर्यो । ती सिनेमाका गीत घन्काउँछन् । यो गाईजात्रा हो कि गोरुजात्रा हो कि ? कि लाखे जात्रा ? पचाउन सक्ने नेपाली समाज नै अर्धंगी जस्तो लाग्छ ।
मांगलेनी
ग्रीक नाइन म्युजेजको परिकल्पना नवदुर्गामा आधारित छ भन्ने लेखियो माथि । नेपालको एउटा गायनवृन्द दशैंमा उच्चारण गरिने नवदुर्गा ‘जयन्ती, मंगला, भद्रकाली…’ मा आधारित छ भन्ने पनि स्पष्टै देखिन्छ । त्यही मंगलदायक, कल्याणकारी मंगला नेपाली परम्परामा गायनवृन्द मांगलेनी हुन पुग्छ । नभन्दै होमरका दुई पात्र काल्चास कालरात्रि र डिर्के दुर्गाको रूपान्तरण हो ।
मांगलेनी भनिएको लमजुङको दरबार गाउँशहरको उतिबेलाको पूजा अनुष्ठानमा मांगल गीत गाउने महिलाहरू पनि हुन्, हनुमानढोकामा गाउने महिलाहरू पनि हुन् र पश्चिम नेपाल र त्यसपारि मांगल गीत गाउने महिलाहरू पनि हुन् ।
महिलाको स्वरलाई संगीत चाहिंदैन अर्थात् त्यो आफैंमा एक संगीत हो भन्ने मान्यता छ । र त्यस्ता मांगलेनीहरू प्रायः पाको उमेरका हुँदा स्वर धोद्रो हुने भएकाले त्यसलाई संगीतको ‘बेस’ मान्ने गरिन्छ पनि ।
मांगलेनीहरू ५–६ जना हुन्छन् । तिनले कुनै पनि बाजा लिएको देखिंदैन तर तिनले प्रायः राग मालश्रीमा आफ्नो गायन आधारित गर्छन् । जसरी मानदास तुलाधरले ७०० भजनपिच्छे ती आधारित रागको उल्लेख गरेका छन् । बरु लगभग हजार मांगल गीतहरू संकलन गरे पनि जयराज पन्तले ती आधारित हुने रागहरू दिएका छैनन् । ठूलै त्रुटि छ शोधमा ।
जहाँसम्म रागको कुरा छ, मनियर विलियम्सले रङ शब्दबाट राग आएको हो भन्ने हाँसउठ्दो तर्क गरेका छन् । हाँसउठ्दो किनभने रागका कम्तीमा आधा दर्जन अर्थ हुन्छन् । बरु मार्टिन वेस्टले दिएको सूचना उल्लेखनीय छ- २७०० वर्षअघि असिरियाका राजाहरू आर्बेलास्थित इस्थार (ईश्वरी) को मन्दिरमा देवी स्वयं उपस्थित भएर ‘रागिम’ नामको उच्चारणकर्ता मार्फत गरेको भविष्यवाणीे सुन्ने गर्थे । यद्यपि ग्रीक तारसप्तकको उल्लेख सबैभन्दा पुरानो हो ।
यही मंगल गान लिम्बूहरूको ‘मांगेना’ र थारूहरूको माग्गर हुन पुगेको हो ।
ट्याम्को
ट्याम्कोको अंग्रेजी रूप टिम्पानी हो । अंग्रेजीको टिम्पानी मध्यपश्चिम (सिरियादेखि इजिप्ट) सम्मको उत्पत्ति हो, अधिकतम पुरानो प्रमाण इस्वी ६०० को-भनेका छन् ब्रिटिस विज्ञहरूले । केटल ड्रम यही टिम्पानीको अर्को नाम हो, वाल्दमारले उल्लेख गरेका ।
तान्त्रिक डमरुमा भ्यागुताको छालाले मोरिन्छ भनेर स्व. रामशरण दर्नालले पंक्तिकारलाई बताउनुुसँग पूर्वी पहाडका मेवाहाङ राई भाषाको भ्यागुतोबोधक शब्द ‘डेङडेपाहा’ मिल्न पुगेको छ । यसले के भन्छ भने डमरु, दमाहा, ट्याम्को शब्दको व्युत्पत्ति नेपालको दक्षिण सीमा नाघेर जाँदैन । जीवविज्ञानमा टाम्पानियम भ्यागुतोको स्वर सम्बन्धित उपांग हो नै टाउको दुई छेउको । बरु २६०० वर्षअघिका पाणिनिको उदुम्बरिका (समरो कम्मर भएकी महिला) शब्द त्यसपछाडिको रहेछ भन्ने बुझिन्छ । सम्भव छ, डुम्रीको काठबाट दमाहा वा ट्याम्कोको घेरो बनाइन्थ्यो कुनै बेला ।
दाफा
एक किसिमको ठूलो मादल भने हुने नेवारहरूको तालबाजा हो । फरक के भने मादलमा जस्तो खरी दलिएको हुँदैन र औंलाका सट्टा लामो गजोले बजाइन्छ तर दाफा खलकका सबैले दाफा मात्रै बजाउँछन् भन्ने छैन । अनेक भिन्न नाम भएका सुषिर बाजाहरूको पनि बाहुल्य हुन्छ ।
दाफा खलकको मुख्य संगीतयन्त्र बन्न गएको छ हार्मोनियम । यो मध्यकालीन युरोपको देन हो । अनेक दाफा खलकले अनेक पश्चिमा संगीतयन्त्रहरू प्रयोग गरिरहेका होलान् । एउटा रमाइलो उदाहरण आदेश्वरको भजनमण्डलीले प्रयोग गर्ने टेंगुल (शुद्ध रूप अंग्रेजीको ट्रयांगल) हो । नेपाली भजनमा यस्ता संगीतयन्त्रहरूको पहुँच रोचकभन्दा हास्यास्पद धेरै छ । दबलीको शुद्ध रूप देवालय हो, तर बुझिरहिएको छ दोबाटो । सम्भवतः दाफाको शुद्ध रूप डफ्फा हो । त्यसैले अन्योल भएको हो संगीतयन्त्रको चयनमा । यद्यपि नेवारीमा दाफा भनिने र हिन्दीमा डफल्का भनिने छुट्टै बाजा हुन्छ ।
पश्चिमा गिर्जाघरहरूमा जडान गरिएको ठूलो बाजालाई पाइप अर्गान भन्छन्- मोजार्टले सबैभन्दा बढी प्रशंसा गरेका । संस्कृत शब्द अंगबाट अर्गान बनेको हो जस्तो लाग्छ तर गिर्जाघरको अर्गान बनेको हो संस्कृतको आराधनाबाट, प्रार्थनाबाट प्रेयर जस्तै । यसो भन्नाको कारण हो बाजाबोधक अर्गान प्रयोग भएको हजार वर्षपछि मात्रै अंगबोधक अर्गान प्रयोग भएको हो, पश्चिमा वाङ्मयमा । अब टेंगुलको डिस्टर्ब गर्ने ट्याङ ट्याङले आराधनालाई सघाउँछ कि भंग गर्छ ? उत्तर दिइरहनु परोइन ।
बितेको १७५ वर्ष
सन् १९४५ को फेब्रुअरी र मार्च महिनामा नेपाल आउँदा आफ्नो स्वागतमा प्रयोग भएका बाजाहरूको नाम वाल्दमारले दिएका छन् । तिनको केटल ड्रम भनेको ट्याम्को हो भनेर लेखिसकियो । उनले भनेको ट्रम्पेट मुख चौडा भएको कर्नाल जस्तै कुनै सुषिर बाजा बुझिन्छ । सिम्बल झुर्मा हो । हन्र्स भनेको सिङबाजा हो । ब्यागपाइप भनेको यति बेला सिपाहीले बजाउने स्कटिस न्याउलीबाजा नभएर मेसक भएको बुझिन्छ । भायलिन भनेको सारंगी हो, गिटार भनेको सम्भवतः सितार वा वीणा हो, तानपुरा हो भन्ने लाग्दैन ।
मसक र मेसक दुवै संस्कृतमा भेडा बुझाउने मेषबाट बनेको हो । भित्री अंग-प्रत्यंग निकालेर रहेको छालाको प्वालमा बिर्को लगाएमा पानी बोक्ने थैलो मसक हुन्छ, नली हालेर बजाएमा मेसक ।
माथिको विवरणले भन्छ, उनले ती वाद्यवृन्दमा ताल-सुर भेटेनन् । सन् १७०० बाट सन् २००० अर्थात् ३०० वर्षमा पश्चिमा वाद्यवृन्द धेरै माथि उक्लिएको छ मात्रै होइन, समय र रसबीचको संयोजनको मर्मज्ञान पनि समृद्ध छ तर १८४५ बाट हेर्यो भने २०० वर्ष पनि पुग्दा नपुग्दै नेपाली वाद्यवृन्दको चेतना झनै खस्किएको छ ।
‘चाखोङ डिख्रोङ’
भान्सेहरू डाडु, पन्यु, थाल, गाग्री, खड्कुला बजाउँदै सांगीतिक धुनमा आयोजकछेउ आउँछन्-कुनै भोजभतेरपछि, लोहरूङ राईहरूमा रहेको एउटा परम्पराअन्तर्गत । (लोहरूङ राई-एलेन ठूले, पेज ८८/८९) बरु नेपाली वाद्यवृन्दको मौलिकता खोजे हुन्छ यही लोहरूङ भाषाको ‘चाखोङ डिख्रोङ’ मा माथिको कतिपय तरंगी पारा अपनाइरहने हो भने ।
पश्चिमा टेबलमा खाना खाइरहेका बेला भान्से स्वयं आएर के र कस्तो लाग्यो ? सोध्ने चलन केहीयता काठमाडौंमा पनि भित्रिरहेको छ तर त्योभन्दा पनि कता हो कता, उच्चस्तरको यो पूर्वी पहाडी संस्कृतिलाई परिष्कृत पार्नु र विस्तार गर्नु बरु सुन्दर कार्य हुनेछ ।
पुछारमा
भन्न खोजेको मेडिकल इन्जिनियरिङ भने जस्तै नेपाली संगीत साधनहरूलाई इन्स्ट्रुमेन्ट इन्जिनियरिङ चाहिएको छ पहिला । जुन ढिलो भइसकेको छैन, पश्चिम हेरी । त्यसपछि मात्र वाद्यवृन्दको रौनक देख्न, सुन्न पाइएला ।
पश्चिमी जाभा (इन्डोनेसिया) को रैथाने बाजा ‘आङक्लुङ’मा ‘बोहेमियन राप्सोदी’ सुन्नुको आनन्द बेग्लै छ तर त्योभन्दा पनि पहिला सायद नेपाललाई आवश्यक छ लाहोर (पाकिस्तान) को ‘ट्यान्जिबल र इन्ट्यान्जिबल’ दुवै सम्पदाको फ्युजन ‘हबेली बारुदखाना’ बराबरको संरक्षकत्व वाद्ययन्त्रहरूमाथि ।
(बुकहिलद्वारा प्रकाशित सौरभको पुस्तक ‘असहमति-४’ को अंश)
प्रतिक्रिया 4