जितिया, के तपाईं यो नामसँग परिचित हुनुहुन्छ ? सम्भवत: तपाईंले ‘छैन’को भावमा टाउको हल्लाउनुहुनेछ । जबकि लाखौं मधेशी समुदायको हृदयमा उमंगको झंकार पैदा गर्ने नाम हो यो । किनभने उनीहरुको जीवन पद्धतिसँग यो पर्व अभिन्न रुपले जोडिएको छ । त्यसैले त जब-जब जितिया सुरु हुन्छ, मधेशको आँगन उत्सवले नाच्न थाल्छ ।
यो पर्वमा नेपालका ७७ लाख ७० हजार बढी मधेशी समुदाय एकसाथ रमाउँछन् । नेपालको जनगणना २०७८ अनुसार जितिया मनाउनेहरुको जनसंख्या कुल जनसंख्याको करिब २६ दशमलव ६५ प्रतिशत अर्थात् ७७ लाख ७० हजार भन्दा बढी जनसंख्या रहेका छन् ।
मधेशी समुदाय अन्तर्गतका यादव, तेली, कोइरी, मलाह, ब्राह्मण, कायस्थ, चमार, मुसहर, खत्वे, धानुक, नुनिया, सुडी, हलुवाई, कामत, कलवार, केवट, रौनियार, देव, दुसाध, झागड लगायत ४८ भन्दा बढी जातीय समुदायले मनाउँछन् । त्यस्तै थारु, राजवंशी तथा खवासहरुले पनि यो पर्व मनाउने गरेका छन् ।
जितिया के हो ?
भविष्य पुराणमा वर्णन गरे अनुसार शालिवाहन राजाको पुत्र जितमहान थिए । उनीमाथि महादेवको असीम कृपा रहेकाले नियमनिष्ठाले व्रत गर्ने महिलालाई सन्तान दीर्घायु हुने वरदान भगवानबाट प्राप्त गरेका थिए । तिनै भगवानले पुत्रको रक्षा गरून् भनी नेपालको मिथिला क्षेत्र र उत्तर तथा पूर्व भारतमा जितिया श्रद्धापूर्वक मनाइन्छ ।
यस पर्वमा आमाहरू आफ्ना सन्तानको उन्नति, प्रगति, सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै चौबीस घण्टा वा अझै बढी निर्जला व्रत बस्छन् जो ‘जितिया व्रत’ नामले प्रख्यात छ । निर्जला व्रतमा पानी पिउन पनि वर्जित हुन्छ । यसरी अन्नपानी केही नखाई आफ्ना सन्तानको सुखशान्ति र चिरायुका लागि आमाहरूले व्रत बस्छन् ।
यस पर्वसँग जोडिएका धेरै कथा छन् । जितमहानको नामबाट नै जितिया भएको विश्वास छ । एक पौराणिक कथाअनुसार जितमहान नामका एक गन्धर्व राजा राजकाज त्यागेर आफ्ना बाबुको सेवा गर्न जंगल गए । जंगल घुम्दै गर्दा उनले एक जना शोकाकुल वृद्धालाई देखे ।
उनले महिलालाई शोकको कारण सोधे । महिलाको शोकका कारण उनको एक मात्र छोरालाई गरुडलाई बुझाउनुपर्ने भएकाले थियो । महिलाका अनुसार उनी नाग वंशकी छोरी रहेको र उनको एक मात्र छोरा रहेको बताइन् । उनले गरेको भाकलका कारण उनको सो एक मात्र छोरालाई भोलि गरुडलाई भेटी चढाउनुपर्ने भएकाले शोकमा रहेको बताइन् ।
जितमहानले ती वृद्धाको छोरो बचाउने वाचा गरे । भोलिपल्ट ती महिलाले भेटी चढाउने ठाउँमा गए अनि तिनका छोराको साटो आफूलाई नै गरूडसामु समर्पण गरे । गरूडले खान खोज्दा उनी तर्सिएनन्, प्रसन्न र अभय पो देखिए । त्यस्तो अभय अवस्था देखेर गरूडले उनको परिचय मागे ।
जितमहानले विस्तारपूर्वक आफ्नो परिचय दिए । उनको निर्भिकता र उदारताबाट गरूड प्रसन्न भए । गरुडले त्यसउप्रान्त बली नलिने र जितमहानको उपासना गर्ने आमाहरूका सन्तानको भलाइ हुने वरदान दिए । यसै घटनापछि महिलाले जितमहानको उपसना गर्दै जितिया सुरू गरेको भनाइहरु छन् ।
जितियासँग जोडिएको एउटा मात्र कथा छैनन् । यसैसँग जोडिएको अर्को कथा ‘चिल र स्यालको कथा’ छ । नर्मदा खोलाको किनारमा पाखरको एउटा रूख थियो । त्यस रूखमा एउटा माथिपट्टि पोथी चिलको बास थियो । त्यसको फेदमा पोथी स्यालको बास थियो । ती दुवैको आपसमा खुब मेल थियो । खोला नजिकको गाउँमा महिलाहरू असोजको कृष्ण पक्षमा जितमहान भगवानको प्रार्थना गर्दै निर्जला व्रत बस्ने गरेको चिल र स्यालले थाहा पाए ।
उनीहरुले पनि गाउँका महिलाहरूले झैं व्रत बस्ने निर्णय गरे । दुवै (स्याल र चिल) ले व्रत सुरू गरे । सोही दिन एक व्यापारीको छोराको मृत्यु भयो । साझमा दाहसंस्कार गरेर सबै फर्केपछि बाँकी रहेका लास खाएर स्यालले व्रत तोड्यो । तर चिलले व्रत पूरा गर्यो ।
अर्को जन्ममा चिल र स्याल दिदीबहिनी भएर जन्मिए । चिल (दिदी)को शिलवती र स्याल (बहिनी)को नाम कपुरावती रह्यो । कपुरावतीको बिहे त्यसै राज्यका राजा मलायकेतुसँग भयो । शिलवतीको बिहे बुद्धिसेन नामका साधारण व्यक्तिसँग भयो । जितमहान भगवानको व्रत पूरा गरेकी शिलवतीले सात जना सुन्दर पुत्र जन्माइन् । कर्पुरावतीले पनि पुत्र जन्माइन् तर जन्मनासाथ मृत्यु हुने भएकाले जिवित कोहि रहेनन् । कर्पुरावतीको मनमा इर्ष्या उत्पन्न भयो ।
उनले दिदीका छोराहरुलाई मार्ने षड्यन्त्र पनि रचिन् । तर भगवान जितमहानको ब्रत उपसना गरेको कारण शिलवतीका सातै जना छोराहरु जीवित नै रहे । कपुरावती अन्तिममा यसको कारण पत्ता लगाउन दिदीको घर पुगिन् । दिदीले पूर्वजन्ममा चिल र स्यालको जुनीमा रहेका आफूहरू दुवै दिदीबहिनीले भगवान जितमहानको व्रत बसेको कुरा स्मरण गराइन् ।
आफूले व्रत पूरा गरेको र बहिनी कपुरावतीले बीचमै व्रत तोडेको पनि सम्झाइन् । उनले त्यही व्रत पूरा गरेको प्रतापले आफ्ना छोराहरूको रक्षा भएको कुरा पनि बहिनीलाई सुनाइन् । त्यसै बेलादेखि आमाहरूले भगवान जितमहानको पूजाआराधना सुरू गर्दै जितिया पर्व थालेको जनविश्वास छ ।
जितियाको अर्को किंवदन्ती पनि छ । प्राचीनकालमा महाप्रतापी राजा सालिकवाहनकी एक छोरी थिइन् । तिनको नाम मसवासी थियो । उमेर पुगेपछि राजाले छोरीको बिहे गरिदिने धेरै प्रयास गरे तर छोरी मसवासीले मानिनन् । छोरीको इच्छाअनुसार राजाले राजमहलबाहिर एउटा कुटी बनाइदिए । मसवासी त्यही कुटीमा बस्न थालिन् ।
उनी सूर्योदयअघि नै नदीमा गएर नित्य नुहाइधुवाई गरी पूजाआजा गर्ने गर्थिन् । एक बिहान उठ्न ढिलो भएछ । नुहाएर हतारहतार फर्किने क्रममा सूर्यको प्रकाश उनको शरीरमा पर्यो । यही कारणले उनी गर्भवती भइन् र एक सुन्दर छोरा जन्माइन् । उनका छोरा निकै फूर्तिला थिए । खेलमा साथीहरूलाई जित्थे । सबैलाई जित्ने भएकाले छोराको नाम जितुवा राखिन् ।
जितुवाका साथीहरू उनको क्षमता हेरेर डाहा गर्थे र अनेर्वा (बाबु विनाको) भनेर अपमान गर्थे । साथीहरूबाट हैरान भएपछि एक दिन उनले आमासँग आफ्ना बाबुबारे सोधखोज गरे । आमाले जो भएको कुरा बताइन् र उनका बुबा सूर्य हुन् भनिन् । जितुवा आफ्ना बुबालाई भेट्ने निधो गरेर यात्रामा निस्किए । आफूलाई भेट्न जितुवा आए, आफ्नो तापले भस्म हुने चिन्ता सूर्यदेवलाई भयो । त्यसैले सूर्यले मानवरूप धारण गरेर जितुवालाई पृथ्वीमै दर्शन दिए । सोही भेटमा सूर्यले जितुवालाई ‘निष्ठापूर्वक जितुवा र जितमहानको पूजाअर्चना गर्ने विवाहित महिलाका सन्तान स्वस्थ र दीर्घायु हुने’ आशीर्वाद दिए ।
जितिया र जितमहानको चर्चा महाभारतमा पनि गरिएको छ । महाभारत युद्धको क्रममा अश्वत्थामाको छलबाट हतप्रभ भएकी द्रौपदी धौम्य ऋषिकहाँ पुगिन् र आफ्नो व्यथा सुनाइन् । पुत्रको मृत्युको भयले पीडित द्रौपदीको दुःख सुनेर धौम्यले सत्ययुगमा भगवान नारायणको तपस्या गरेर वरदान पाएका सत्यवादी पुरूष जितवाहनको पूजाआराधना गर्न सल्लाह दिएको प्रसंग छ ।
कसरी गरिन्छ ?
जितिया पर्वमा आश्विन कृष्ण सप्तमी तिथिका दिन व्रतालु स्नान गरी चोखो हुने हुन्छ । व्रतालुले नजिकैको पोखरीमा स्नान गरी घिरौंलाको पातमा पीना र तेल राखेर जिमुतवाहन देउतालाई अर्पण गर्छन् । साथै पर्वको संकल्प पनि गर्छन् । यसै सप्तमी तिथिको उत्तरार्धमा व्रतालु महिला ओङ्गठन गर्ने गरिन्छ ।
व्रत बस्नुअघि रात्रिको समयमा दही, चिउरा, मिठाई लगायतका सामग्री भोजनको रुपमा ग्रहण गरिन्छ । त्यसलाई ‘ओङ्गठन’ भनिएको हो । ओङ्गठनको समयमा परिवारका सम्पूर्ण सदस्यले भोजन गर्ने चलन पनि रहेको छ ।
‘धियापुताके ठैग सुताबी, अपना खाए भैर थारी’ अर्थात् केटाकेटीहरुलाई केही खान्न भनी ठगेर सुताउने तर आफू चाहिं टन्न खाने भन्ने उखान जितियामा प्रचलित छ । रातको समयमा ओङ्गठन खाने भएर नै त्यसो भनिएको हो ।
अष्टमी तिथिको आरम्भसँगै उपवास सुरु हुन्छ । तिथिको समयमा हेरफेर भएको अवस्थामा व्रतालुलाई ३६ घण्टासम्म उपवासमा बस्नुपर्ने हुन्छ । उपवासको अवधिमा थुक पनि निल्न नहुने मान्यता छ । नवमी तिथिको आगमनपछि पूजापाठ गरेर पारन गरेर अर्थात् खाएर जितिया पर्वको समापन हुन्छ । यस वर्ष असोज ७ गते सोमबार नुहाएर घिरौंलाको पातमा पीना र तेल अर्पण गर्नुपर्ने छ ।
सोमबार राति, मंगलबार बिहान उज्यालो हुनु अगाडि करिब ४ बजेको सेरोफेरो सम्ममा ओङ्गठन खाएर उपवास सुरु गर्नुपर्ने हुन्छ । बुधबार साँझको ५ बजेपछि मात्र अर्थात् ३७ घण्टा ४ मिनेटपछि मात्र पारन (खान) मिल्ने हुन्छ ।
हरेक चाडपर्व हाम्रो संस्कार र परिचय हो । अझ यतिका धेरै जनसंख्याले मनाउँदै आएको जितियालाई राष्ट्रिय पर्वका रुपमा लिनुपर्ने स्वभाविक हुनुपर्ने हो । तर जितियाको चर्चा नेपालका राष्ट्रिय चाडहरुमा भएको पाइँदैन । जातजाति विशेष चाडहरुमा पनि यो भन्दा कैयौं गुणा कम रहेका लोसारहरु, जात्रा अनि क्रिसमसको चर्चा-परिचर्चा भएपनि जनजिब्रोमा जितिया कतै सुनिंदैन । कतैकतै बिदाको कुरा सुने पनि महिलालाई र त्यो पनि उपवासको अवधिभरि पनि हुँदैन ।
यसै वर्ष पनि ‘जितिया मनाउने महिलाहरुका लागि’ भनेर असोज ८ गते मंगलबार बिदा गरिएको छ । जबकि मंगलबारदेखि बुधबार बेलुका ५ बजेसम्म उपवास छ । उपवासमा बसेका अनि यति ठूलो जनसंख्याले मनाउने जितियाको भावना राष्ट्रले किन बुझ्न खोजेको छैन ?
(डा. साह तेली कल्याण समाज नेपाल, मोरङ जिल्ला अध्यक्ष हुन् ।)
प्रतिक्रिया 4