+
+

मेरो करिअरको नयाँ च्याप्टर सुरु हुँदैछ : एरिक विष्ट

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० माघ ५ गते १५:२६

५ माघ, काठमाडौं । भारतको दोस्रो श्रेणीको लिग क्लब शिलोङ लाजोङ एफसीमा अनुबन्ध भएका नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर एरिक विष्टले यो अनुबन्धबाट नयाँ च्याप्टर सुरु भएको बताएका छन् ।

मेघालयको क्लब लाजोङले बिहीबारदेखि लागु हुने गरेर २३ वर्षीय एरिकलाई अनुबन्ध गरेको थियो । पहिलो पल्ट विदेशी क्लबमा आबद्ध भएका एरिकाले टिममा आवद्ध भएर प्रशिक्षण नै थालिसकेका छन् ।

उनी शिलोङमा अनुबन्ध हुने दोस्रो नेपाली खेलाडी हुन् । यसअघि राष्ट्रिय टिमका पूर्व कप्तान अनिल गुरुङले २००९ मा शिलोङबाट खेलेका थिए ।

‘धेरै खुशी लागेको छ । यसअघि अनिल दाइले खेल्नु भएको थियो, शिलोङमा अनुबन्ध हुने दोस्रो नेपाली खेलाडी बन्दा खुसी छ,’ एरिकले शिलोङबाट अनलाइनखबरसँग भने, ‘पहिलो पटक देश बाहिरको क्लबमा आएको छु । मेरो फुटबल करिअरको नयाँ च्याप्टर सुरु हुँदैछ । त्यसैले यहाँ खेल्न एकदमै उत्साहित छु । नयाँ कल्चर नयाँ वातावरणमा खेल्ने प्रतिक्षामा छु ।’

एरिक जारी सिजन २०२३-२४ को बाँकी समयका लागि अनुबन्ध भएका हुन् । जारी सिजनमा ११औं चरणका खेल सकिएका छन् र सिलोङ्ले अझै १३ खेल बाँकी छ ।

११ खेलबाट १९ अंकसहित सिलोङ् अहिले लिग तालिकाको पाँचौ स्थानमा छ । अबको खेल सिलोङ्ले फेब्रुअरी २ मा घरेलु मैदानमा इन्टर काशीसँग खेल्ने छ ।

भारतको मेघालय राज्यमा रहेको शिलोङ क्लबमा नेपाली बोल्ने खेलाडीहरु समेत छन् । त्यसैले एरिक आफूलाई धेरै सजिलो हुने विश्वासमा छन्, ‘यहाँ नेपाली भाषीहरु पनि धेरै छन् । सजिलो हुनेछ ।’

उनी क्लबहरुलाई खेलाडी उपलब्ध गराउने भारतीय एजेन्ट कम्पनी इबिजामार्फत शिलोङ लाजोङमा अनुबन्ध भएका हुन् । ‘सुरुमा मलाई इबिजाले अनुबन्ध गर्‍यो । त्यसपछि उहाँहरुले नै मलाई शिलोङ क्लबका लागि प्रस्ताव गर्नुभयो र म आएँ’, एरिकले भने, ‘एजेन्ट नहुँदा नेपाली खेलाडीहरुलाई विदेशमा गएर खेल्न गाह्रो हुन्छ । नेपालमा पनि राम्रा खेलाडीहरु छन् । यदी उनीहरुले एजेन्ट पाए विदेशमा खेल्ने अवसर पाउन सक्छन् ।’

इबिजामा एरिकसँगै किरण चेम्जोङ र आयुष घलान पनि आवद्ध छन् । किरणले राउण्ड ग्लास पञ्जावबाट आई लिग खेल्दै आएका छन् ।

नेपाली खेलाडी पनि क्षमतावान छन् भन्ने प्रमाणित गर्ने अवसर

एरिकले केही समयअघि मात्रै सम्पन्न नेपाल सुपर लिग एनएसएलमा बुटवल लुम्बिनी एफसीको कप्तानी गरेका थिए । उनी टिमको मार्की खेलाडी समेत थिए ।

नेपालको एक मात्र फ्रेन्चाइज लिगमा कप्तानी गरेपछि आफूले धेरै कुरा सिकेको र व्यक्तित्व पनि विकास भएको उनले बताए ।

त्यसअघि उनले ललितपुर सिटीबाट २०७८ सालमा पहिलो एनएसएल खेलेका थिए । त्रिभुवन आर्मी एफसीबाट ए डिभिजन करिअर सुरु गरेका उनले त्यसपछि एनआरटीबाट खेले । पछिल्लो पटक उनले चर्च ब्वाइज युनाइटेडबाट ए डिभिजन लिग जितेका थिए ।

एरिकले सन् २०२० मा बंगलादेश विरुद्ध खेल्दै राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए । उनले नेपालको उमेर समूहको राष्ट्रिय टिमबाट पनि खेलेका छन् ।

अब विदेशी लिगमा अनुबन्ध भएपछि आफ्नो क्षमता देखाउने अवसर आएको र नेपाली खेलाडीले पनि राम्रो खेल्न सक्छन् भनेर देखाउने बताए । ‘नेपाली खेलाडीहरुले पनि अवसर पाए प्रोफेसनल फुटबल खेल्न सक्छन् । टप लेभलमा खेल्न सक्छन्,’ एरिकले आत्मविश्वासका साथ भने ।

विशेषगरी लामो दूरीबाट फ्रिकिक हान्न माहिर उनले एनएसएलमा पनि फ्रिकिकमा उत्कृष्ट गोल गरेका थिए ।

उनले क्लबले आफूलाई देखाएको विश्वासमा खरो उत्रने र प्रमाणित गरेर देखाउने पनि बताए । ‘शिलोङ लाजोङले म माथि विश्वास गरेर लिनुभएको छ । त्यसलाई म खेर जान दिन्न । उहाँहरुको विश्वासलाई सही प्रमाणित गरेर देखाउँछु भन्ने छ ।’

एरिकले विदेशी खेलाडीको कोटामा खेल्ने भएकोले चुनौती पनि हुने बताए । ‘चुनौती त हुन्छ नै । म विदेशी कोटामा अनुबन्ध भएको छु । खेल्ने अवसर पाउँदा आफ्नो क्षमता देखाउँछु ।’

आई लिगमा एक टिमले बढीमा ६ जनासम्म विदेशी खेलाडी अनुबन्ध गरन पाउनेछन् । जसमा एक जना एसियन राष्ट्रको हुनुपर्छ । यस्तै एक पटकमा एक एसियनसहित चार विदेशी खेलाडी मैदान उतार्न पाउनेछन् ।

यसअघि शिलोङमा जापानका २० वर्षीय ताकुतो मिकी एसियन कोटामा थिए । तर डिसेम्बरमा उनले क्लब छाडेपछि शिलोङले एसियन कोटामा एरिकलाई भित्र्याएको हो ।

शिलोङमा अन्य विदेशी खेलाडीमा ब्राजिलका डानिएल गोन्जालेज, डुगलास टार्दिन र रेनान पाउलिनो तथा सेनेगलका अब्दोउ करिम साम्ब छन् ।

उनीहरुसँग ड्रेसिङ रुम सेयर गर्न एरिक उत्साहित छन् । शिलोङ लाजोङको फस्ट टिम हाल कालिंगा सुपर कपका लागि भुवनेश्वरमा छ । समूह बी मा आईएसएल क्लब केरला ब्लास्टर्स र नर्थ इस्ट युनाइटेडसँग पराजित भएपछि शिलोङ एक खेल बाँकी छँदै समूह चरणबाटै बाहिरिसकेको छ ।

शिलोङले अब अन्तिम खेल जम्सेदपुर एफसीसँग शनिवार खेल्नेछ र त्यसपछि टिम फर्कनेछ । टीम फर्केपछि उनले पहिलो टिमसँग ट्रेनिङ गर्नेछन् ।

आफूले कहिले खेल्ने र सुरुवात रोजाईँमा खेल्न पाउने/नपाउनेबारे त्यसपछि थाहा हुने एरिकले बताए । ‘कालिंगा कप खेलेर फस्ट टिम पर्सि आउनेछन् । त्यसपछि टिमसँगै ट्रेनिङ हुनेछ । प्रशिक्षकको रणनीति कस्तो हुन्छ त्यो हेरेर मैले कहिले खेल्ने थाहा हुन्छ । म उत्साहित छु ।’

एरिकले आफ्नो प्रदर्शन दिन आएको र यसले आगामी दिनमा सहयोग गर्ने बताए । ‘मेरो मेरो प्रदर्शन देखाउन आएको छु । यो पटक राम्रो खेलेँ भने आगामी दिनमा अझ माथि जानका लागि त्यसले सहयोग गर्नेछ ।’

किरण लिम्बूसँगै, डिफेण्डर अनन्त तामाङ, अञ्जन विष्ट, अभिषेक रिजाल, विमल घर्ती मगरले पनि आईलिगको अनुभव लिइसकेका छन् । अनन्तले इस्ट बंगालबाट आईएसएलमा डेब्यु गरेका हुन् ।

गत सिजन अन्जन विष्टले आई लिगमा मुम्बई केन्क्रेबाट केही खेल खेलेका थिए । तर उनको क्लब आई लिग टु मा रेलिगेट भयो । विमल घर्ती मगरले मोहन बगानबाट र अभिषेक रिजालले आइजवाल एफसीबाट आई लिग खेलेका थिए ।

यसबाहेक रोहित चन्द इन्डोनेसियाको शीर्ष लिग लिग वान खेलिरहेका छन् । मनिष डाँगीले पनि थाइल्याण्डको दोस्रो श्रेणीको लिगमा अनुबन्ध भएर खेलेका थिए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?