११ साउन, काठमाडौं । नेपाल पुलिस क्लबले ललित स्मृति एन्फा यू१८ युथ लिगमा शुक्रबार जावलाखेल युथ क्लबलाई ३-१ ले पराजित गर्दै शीर्ष स्थानमा उक्लेको छ ।
एन्फा कम्प्लेक्समा भएको खेलमा कप्तान सुबास बामको दुई गोल मद्तमा पुलिसले सहज जित हात पारेको हो । सुबासले खेलको २५औं र ३२औं मिनेटमा गोल गरे । यस्तै साजन राज गौतमले ४४औं मिनेटमा गोल गरेका थिए ।
जावलाखेलका लागि निशान राईले पहिलो हाफको इन्जुरी टाइममा एक गोल फर्काए । दोस्रो हाफमा दुवैतर्फबाट कुनै गोल हुन सकेन ।
लिगमा तेस्रो जित हात पारेको पुलिस चार खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा उक्लेको हो । दोस्रो हार बेहोरेको जावलाखेल भने चार खेलबाट २ अंकसहित १०औं स्थानमा छ ।
शुक्रबारै भएको अर्को खेलमा मनाङ मर्स्याङ्दी क्लबले पहिलो हार बेहोरेको छ । मनाङलाई सातदोबाटो युथ क्लबले २-० ले पराजित गर्दै अपराजित यात्रामा ब्रेक लगाएको हो ।
सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङले १३औं र प्रज्वल कार्कीले ७२औं मिनेटमा गोल गरे ।
पराजित मनाङ चार खेलबाट ९ अंकसहित दोस्रो स्थानमा छ । लिगमा पहिलो जित निकालेको सातदोबाटोको चार खेलबाट ४ अंक जोडेर सातौ स्थानमा उक्लेको छ ।
शुक्रबारको खेलपछि लिगमा चौथो चरणको खेलहरु सकिएका छन् । अहिलेसम्म नेपाल पुलिस र मछिन्द्र एफसी मात्र अपराजित छन् । जावलाखेल युथ क्लब, संकटा एफसी र त्रिभुवन आर्मी एफसी अहिलेसम्म जितविहिन छन् ।
चौथो चरणको खेलपछि अंकतालिका
फोटो : एन्फा
प्रतिक्रिया 4