News Summary
Generated by OK AI. Editorially reviewed.- मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कपको फाइनलमा शनिबार नेपाल र यूएई उपाधि र सन् २०२७ एसिया कप स्थानका लागि आमनेसामने हुँदैछन्।
- जारी प्रतियोगितामा यूएई अपराजित रहँदै फाइनल पुगेको छ भने नेपाल समूहविजेता बनेर सेमिफाइनलमा ओमानलाई हराउँदै फाइनलमा पुगेको हो।
- नेपाल र यूएईबीच हालसम्म १९ एकदिवसीय अन्तर्राष्ट्रिय खेल भएका छन्, जसमा नेपालले ११ र यूएईले ८ जित निकालेका छन्।
२६ भदौ, काठमाडौं । एसोसियट क्रिकेटको नक्सामा नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको मैदान खाली रहने हो भने जुनसुकै ठूलो प्रतियोगिता पनि फिक्का र अपुरो लाग्छ ।
एकअर्काका कट्टर प्रतिद्वन्द्वी मानिने यी दुई टोली जब–जब आमनेसामने हुन्छन्, तब मैदानमा केवल क्रिकेट खेलिँदैन- त्यहाँ प्रतिष्ठा, बदला र सर्वोच्चताको कडा युद्ध लडिन्छ ।
त्यस्तै अर्को ऐतिहासिक र बहुप्रतिक्षित भिडन्तका लागि मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कपको फाइनलमा शनिबार नेपाल र यूएई पुनः आमनेसामने हुँदैछन् ।
यो खेल केवल उपाधिका लागि मात्र होइन, सन् २०२७ को एसीसी एसिया कपमा स्थान बनाउने रणनीतिक ढोका पनि हो । त्यसैले यस फाइनललाई एसोसियट क्रिकेटकै इतिहासमा सबैभन्दा महत्त्वपूर्ण र उच्च दबाबयुक्त खेलमध्ये एक मानिएको छ ।
जारी प्रतियोगितामा यूएई आफ्नो अपराजित यात्रा कायम राख्दै फाइनल पुगेको छ । अर्कोतर्फ, समूह चरणको अन्तिम खेलमा हङकङसँग हार बेहोरे पनि नेपालले समूहविजेताकै रूपमा सेमिफाइनल खेलेर ओमानमाथि शानदार जित हासिल गर्दै उपाधि नजिक आफ्नो स्थान पक्का गरेको हो ।
पछिल्ला वर्षहरूमा नेपाल र यूएईको भिडन्त एसोसियट जगतकै सबैभन्दा चर्चित र रोमाञ्चक ‘हाइ-भोल्टेज’ प्रतिस्पर्धाका रूपमा स्थापित भइसकेको छ ।

नेपाल-यूएई राइभलरी
आईसीसी वा एसीसीका प्रतियोगितामा अधिकांश निर्णायक खेलमा नेपाल र यूएई नै आमनेसामने हुने गरेका छन् । कहिले यूएईले नेपाललाई स्तब्ध बनाउने गरेको छ भने कहिले नेपालले बदला लिने गरेको छ ।
जस्तै सन् २०२२ को टी-२० विश्वकपका लागि भएको छनोटमा नेपाल निर्णायक सेमिफाइनलमा यूएईसँग नै पराजित भएर विश्वकप खेल्नबाट चुकेको थियो । त्यसपछि सन् २०२४ को विश्वकप छनोटमा नेपालले यूएईलाई नै हराएर विश्वकपमा स्थान बनाएको थियो ।
यस्तै, प्रिमियर कपको पहिलो संस्करण (एकदिवसीय फर्म्याट) सन् २०२३ मा नेपालमै आयोजना हुँदा नेपालले फाइनलमा यूएईलाई नै हराएर एसिया कपको टिकट काटेको थियो ।
त्यसपछि सन् २०२५ मा टी-२० फर्म्याटमा भएको एसीसी प्रिमियर कपमा नेपाल सेमिफाइनलमा यूएईसँग पराजित भयो । त्यसबेला नेपाल तेस्रो स्थानको खेलमा पनि हङकङसँग पराजित भएर एसिया कप टी-२० खेल्नबाछ वञ्चित भएको थियो ।
फेरि एकपटक एकदिवसीय फर्म्याटको प्रिमियर कपमा नेपाल र यूएई निर्णायक खेलमा आमनेसामने हुँदैछन् । दुवैको लक्ष्य एउटै छ- एसिया कप खेल्नु । नेपाल दोस्रोपटक एसिया कप खेल्ने लक्ष्यमा छ भने यूएई ५० ओभरको एसिया कप पहिलोपटक खेल्ने लक्ष्यमा छ ।
नेपालका लागि चुनौती सहज भने छैन । यूएई प्रतियोगिताभर उत्कृष्ट लयमा देखिएको छ भने नेपालको सबैभन्दा ठूलो चिन्ता ब्याटिङ हो । ओमानविरुद्ध नेपालले १४७ रन मात्र बनाए पनि सानदार बलिङका बलमा लक्ष्य जोगाएको थियो। फाइनलमा भने यूएईविरुद्ध त्योभन्दा प्रभावशाली ब्याटिङ आवश्यक पर्ने देखिन्छ ।

पछिल्लो लय र हेड टु हेड
नेपालले जारी प्रिमियर कपमा पाँच खेलमध्ये चार जित र एक हारको नतिजा निकालेको छ । यूएई भने पाँचै खेल जित्दै अपराजित रूपमा फाइनल पुगेको हो ।
प्रिमियर कपअघि दुवै टोलीले फरक फरक टोलीसँग आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खला खेलेका थिए । नेदरल्यान्ड्स र नामिबियामा भएको त्यस शृङ्खलामा नेपालले लगातार चार हार बेहोरेको थियो भने क्यानडा र स्कटल्यान्डसँग भएको शृङ्खलामा यूएईले एक जित निकाल्दा एक खेलमा पराजित र दुई खेल वर्षाका कारण नतिजाविहीन बनेका थिए ।
नेपाल र यूएईबीच हालसम्म १९ एकदिवसीय अन्तर्राष्ट्रिय खेल भएका छन् । नेपालले ११ खेल जित्दा यूएईले आठ खेल आफ्नो पक्षमा पारेको छ ।
पछिल्लोपटक कीर्तिपुरमा भएको लिग–२ शृङ्खलामा नेपालले यूएईलाई दुवै खेलमा हराएको थियो । मलेसियाको भूमिमा भने यी दुई टोली सन् २०१८ मा भिड्दा यूएई विजयी भएको थियो ।

प्लेयर्स टु वाच
नेपालका लागि ब्याटिङमा दीपेन्द्रसिंह ऐरी सबैभन्दा महत्त्वपूर्ण खेलाडी हुनेछन् । यूएईविरुद्ध उनले विगतमा पनि निर्णायक इनिङ्स खेल्दै आएका छन् । युवा ब्याटर इशान पान्डेको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण हुनेछ ।
बलिङमा कप्तान सन्दीप लामिछाने र करण केसी नेपालको मुख्य हतियार हुन् । यदि बिहीबारको जस्तै स्पिनमैत्री पिच रह्यो भने ललित राजवंशी र शेर मल्लसहितका स्पीनरहरूले पनि खेलको दिशा बदल्न सक्छन् ।
यूएईका लागि कप्तान हरप्रित भाटिया र शीर्षक्रमका अदीब उसमानी प्रमुख ब्याटिङ आधार हुन् । बलिङमा बाँयाहाते स्पिनर हेदर अली र आयान अफ्जल खान प्रतियोगिताभर उत्कृष्ट लयमा देखिएका छन् ।

सम्भावित ११
नेपालले एक परिवर्तन गर्न सक्ने सम्भावना छ। लयमा नदेखिएका देव खनालको स्थानमा अर्जुन कुमाललाई पुनः अवसर मिल्न सक्छ । अन्य स्थानमा परिवर्तनको सम्भावना न्यून छ ।
यूएईले भने फाइनलअघि खेलेको टोलीलाई नै निरन्तरता दिने अपेक्षा गरिएको छ ।
नेपालको सम्भावित ११ : आसिफ शेख, अर्जुन कुमाल, इशान पान्डे, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, बसिर अहमद, गुल्शन झा, करण केसी, सन्दीप लामिछाने, शेर मल्ल, ललित राजवंशी
यूएईको सम्भावित ११ : अदीब उसमानी, तनिश सुरी, राहुल चोपरा, हरप्रित भाटिया, अक्षदीप नाथ, शोएब खान, आयान अफ्जल खान, हेदर खली, खुजाइमा बिन तनभिर, मोहम्मद मोहसिन, इबरार अहमद
***
खेल : नेपाल भर्सेस् यूएई, फाइनल
मिति र समय : २७ भदौ, बिहान ७:१५
स्थान : वायुमास क्रिकेट ओभल, क्वालालम्पुर
मौसम : बादल, वर्षाको सम्भावना
प्रतिक्रिया 4