News Summary
Generated by OK AI. Editorially reviewed.- खप्तड फाल्कन्स सुदूरपश्चिमले काठमाडौं रेड्ससँग ३-२ सेटको पराजय बेहोर्दै नेपाल भलिबल लिगको पहिलो संस्करण जितविहीन सकाएको छ ।
- लिग चरणका पाँचै खेल हारेको खप्तडले काठमाडौंविरुद्ध पहिलो पटक सेट जितेर १ अंक जोडेको छ ।
- कर्णालीले मधेश वारियर्सलाई ३-१ ले हराउँदै ११ अंकसहित दोस्रो स्थान बनाएर काठमाडौंसँग प्लेअफ खेल्ने भएको छ ।
२६ भदौ, काठमाडौं । खप्तड फाल्कन्स सुदूरपश्चिमले जितविहीन हुँदै नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करण सकाएको छ ।
बिहीबार सम्पन्न लिग चरणको अन्तिम खेलमान खप्तडले काठमाडौं रेड्सलाई कडा चुनौती दिएपनि ३-२ को सेटमा पराजित भयो ।
लिग चरणमा खेलेको पाँचै खेलमा पराजित भएको खप्तड पहिलो संस्करणमा जितविहीन हुने एक्लो टोली बन्यो । काठमाडौं विरुद्धको खेलमा आएर पहिलो पटक सेट जितेको खप्तडले खेललाई पाँचौ सेटसम्म पुर्याएपनि जित हात पार्न सकेन । पाँचौ सेटमा पराजित भएकोले खप्तडले १ अंक जोड्दै अंकको खाता भने खोल्यो ।
काठमाडौंले खप्तड विरुद्ध सुरुमा विदेशी खेलाडीलाई आराम दिँदै नेपाली खेलाडीहरू मात्र खेलाएको थियो । तर खप्तडले चुनौती दिएपछि काठमाडौंले विदेशी खेलाडी पनि कोर्टमा उतार्दै जित हात पार्यो ।
खप्तडले पहिलो सेट २५-१९ ले जित्दै खेलमा अग्रता बनाएको थियो । तर काठमाडौंले दोस्रो सेट २५-१९ ले नै आफ्नो पक्षमा पार्दै खेल बराबरी गर्यो । तेस्रो सेट अप्तडले २५-२० ले जित्दै फेरि अग्रता लियो । तर त्यसपछि भने काठमाडौंले पुनरागमन गर्दै लगातार दुई सेट आफ्नो पक्षमा पार्यो । काठमाडौंले चौथो सेट २५-१९ ले आफ्नो पक्षमा पार्दै खेललाई पाँचौ सेटमा पुर्याएको थियो । पाँचौ तथा निर्णायक सेट १५-१३ ले आफ्नो पक्षमा पार्दै काठमाडौंले जित हात पार्यो ।
लिग चरणमा ५ मध्ये ४ खेल जितेको काठमाडौं १० अंक जोडेर तेस्रो स्थानमा रह्यो । अब काठमाडौंले फाइनल प्रवेशका लागि कर्णाद्यी शिवराजसँग शुक्रबार प्लेअफ खेल्नेछ । कर्णालीले बिहीबारै मधेश वारियर्सलाई ३-१ को सेटमा पराजित गरेको थियो । ४ खेल नै जितेको कर्णाली ११ अंकसहित दोस्रो स्थानमा रह्यो । कर्णालीले मधेशलाई २५-२०, २५-२०, २१-२५, २५-१९ ले पराजित गर्यो ।
पहिलो खेलमा कर्णालीसँग पराजित भएपनि त्यसपछि लगातार ४ खेल जितेको अन्नपूर्ण स्पाइकर किंग्स १२ अंकसहित शीर्ष स्थानमा रहेर सिधै फाइनल पुगेको छ ।
एनभीएलमा शुक्रबार कर्णाली र काठमाडौंबीच फाइनल प्रवेशका लागि प्लेअफ खेल हुनेछ । त्यस खेलको विजेताले फाइनलमा अन्नपूर्ण स्पाइकर किंग्ससँग शनिबार खेल्नेछ ।
प्रतिक्रिया 4