+

कर्पोरेट सुपर सिक्सेसको क्वाटर फाइनल समीकरण तय

२०८१ वैशाख  २४ गते १९:२० २०८१ वैशाख २४ गते १९:२०
कर्पोरेट सुपर सिक्सेसको क्वाटर फाइनल समीकरण तय

२४ वैशाख, काठमाडौं । माछापुच्छ्रे बैंक र एनसेल लिजेन्ड्स जारी कर्पोरेट सुपर सिक्सेस सिजन–७ मा समूह चरणको खेलमा अपराजित रहँदै क्वाटर फाइनलमा पुगेका छन् ।

एसएस इभेन्ट्स प्रालि र नेकोसको संयुक्त आयोजनामा मूलपानी क्रिकेट मैदानमा जारी कर्पोरेट सुपर सिक्सेस सिजन–७ मा सोमबार क्वाटर फाइनल समीकरण पूरा भएको हो ।

तीनदिने प्रतियोगिताको क्वाटर फाइनल, सेमिफाइनल र फाइनल मंगलबार नै हुनेछन् ।

मंगलबारको पहिलो क्वाटर फाइनलमा माछापुच्छ्रे र सिप्रदी, दोस्रो क्वाटर फाइनलमा आईसीएफसीले एनआईसी एसियासँग, तेस्रो क्वाटर फाइनलमा एनसेल लिजेन्ड्सले राष्ट्रिय वाणिज्य बैंक र चौथो क्वाटर फाइनलमा सुबिसुले सूर्य नेपालसँग प्रतिस्पर्धा गर्नेछन् ।

त्यसअघि मूलपानी क्रिकेट मैदानमा भएको खेलमा समूह ‘ए’ को माछापुच्छ्रे र समूह ‘सी’ को एनसेल समान तीन खेल जित्दै समूह विजेताका रूपमा क्वाटर फाइनलमा पुगेका हुन् ।

माछापुच्छ्रले सोमबार समूहमा क्लाउड फ्याक्ट्रीलाई १ रन र एनआईसी एसिया बैंकलाई १ विकेटलाई हराउँदै समूह विजेता बन्यो ।

यद्यपि हारको बाबजुद एनआईसी समूह उपविजेताका रूपमा दोस्रो चरणमा पुग्यो । एनआईसी एसियाले आइतबार नै दुई जित निकालेको थियो ।

पाँच ओभरमा भएको कर्पोरेट सुपर सिक्सेस सिजन–७ मा सोमबार १२ खेल भएको थियो ।

एनसेल लिजेन्ड्सले सोमबार सूर्य नेपाललाई पाँच विकेट र नेपाल बैंकलाई २३ रनको फराकिलो अन्तरले हराउँदै समूह विजेता भयो ।

यो समूह ‘सी’ मा तीन खेलको समाप्ति सूर्य नेपाल, आइएमई ग्रुप र नेपाल बैंकले समान एक जित निकाले । यद्यपि नेट रनरेटका आधारमा सूर्य नेपाल क्वाटर फाइनलमा पुग्न सफल भयो । सूर्य नेपालले सोमबार आइएमई ग्रुपमाथि ११ रनको जित निकालेको थियो ।

यो नै दोस्रो चरणमा पुग्न पर्याप्त बन्यो । समूह ‘बी’ बाट आईसीएफसी फाइनान्स र सिप्रदी शीर्ष दुईमा रहँदै क्वाटरफाइनलमा पुगे ।

आईसीएफसी फाइनान्सले सोमबार मूलपानीमा जगदम्बा ग्रुपलाई ५ रन र सिप्रदीलाई १२ रनले हरायो । यससँगै समूहमा तीन खेल नै जित्दै आईसीएफसी फाइनान्स दोस्रो चरणमा पुग्यो ।

सिप्रदीले भने दोस्रो दिन जगदम्बा ग्रुपलाई १५ रन र कुमारी बैंकलाई १४ रनले हरायो । सिप्रदीले एक खेल मात्र गुमाउन पुग्यो । समूह ‘डी’ मा तीन टोलीले मात्र प्रतिस्पर्धा गरेका थिए ।

तीमध्ये सुबिसु दुई खेलमा अपराजित रहँदै क्वाटर फाइनलमा पुग्न सफल भयो । सुबिसुले दोस्रो दिन राष्ट्रिय वाणिज्य बैंकमाथि तीन विकेटको जित निकाल्दै अपराजित यात्रा कायमै राखेको हो ।

यो समूहबाट राष्ट्रिय वाणिज्य बैंक दोस्रो चरणमा पुग्न सफल भयो । वाणिज्य बैंकले पनि सोमबार एनसेल इलाट्समाथि १३ रनको जित निकाल्यो । यो जित नै वाणिज्य बैंकलाई क्वाटर फाइनलमा पुग्न पर्याप्त भयो ।

सोमबार भएका अन्य खेलमा समूह ‘बी’ को जगदम्बा ग्रुपले कुमारी बैंकलाई ४ रन, समूह ‘सी’ को आइएमईले नेपाल बैंकलाई १८ रन, समूह ‘ए’ को प्राइम बैंकले क्लाउड फ्याक्ट्रीमाथि ३० रनको जित निकाल्यो ।

यो जित तीनै टोलीका लागि दोस्रो चरणमा पुग्न पर्याप्त भएन । १५ वटा कर्पोरेट हाउसले प्रतिस्पर्धा गरेको यस सिजनको विजेता र उपविजेताले ट्रफी र गिफ्ट ह्याम्पर पाउनेछन् ।

साथै विजेताले आगामी सिजन फ्रि इन्ट्री पाउने भएका छन् । प्लेयर अफ दी टुर्नामेन्ट, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर, बेस्ट फिल्डर र बेस्ट विकेटकिपरले पनि पुरस्कार पाउनेछन् ।

आयोजकका अनुसार सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी, हिट बोर्ड र फेयर प्ले अवार्ड पनि प्रदान गरिने एसएस इभेन्ट्स प्रालीका निर्देशक सुमित रौनियारले बताए ।

कर्पोरेट सुपर सिक्सेस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय