+

भीमबहादुरले पारा ओलम्पिक छनोट खेल्ने

२०८१ वैशाख  २८ गते १४:४७ २०८१ वैशाख २८ गते १४:४७
भीमबहादुरले पारा ओलम्पिक छनोट खेल्ने

२८ वैशाख, काठमाडौं । पारा पौडी खेलाडी भीमबहादुर कुमालले फ्रान्समा पेरिस पारा ओलम्पिक २०२४ का लागि हुने छनोट प्रतियोगिता खेल्ने भएका छन् ।

पेरिस पारा ओलम्पिक छनोट आधार रहेको सिटी विश्व पारा पौडी प्रतियोगितामा भीमले प्रतिस्पर्धा गर्न लागेका हुन् ।

सिंगापुरमा मे १७ देखि १९ सम्म हुने प्रतियोगितामा भीमले पुरुष ५० मिटर र १०० मिटर फ्रिस्टाइलमा नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

दुवै स्पर्धामा भीमकै नाममा राष्ट्रिय कीर्तिमान पनि छ । ५० मिटरमा ३३.३४ सेकेन्ड तथा १०० मिटरमा १ मिनेट २१ सेकेन्डको भीमको व्यक्तिगत उत्कृष्ट टाइमिङ नै राष्ट्रिय कीर्तिमान हो ।

सिंगापुरमा हुने प्रतियोगिताका लागि भीमले विगत २ महिनादेखि कालोपुलस्थित वेस्ट भेन्युमा नियमित प्रशिक्षण गरिरहेको नेपाल पारा पौडी संघका अध्यक्ष सरोज श्रेष्ठले जानकारी दिए । श्रेष्ठ पनि अफिसियलका रुपमा सिंगापुर जाँदैछन् ।

गोरखाको नारेश्वर बेनीखोला निवासी भीमले आफ्नो करियरमा ३ अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । उनले खेलेको पछिल्लो प्रतियोगिता चीनको हाङझाउमा भएको चौथो एसियाली पारा खेलकुद हो ।

त्यसअघि उनले सन् २०१८ मा इन्डोनेसियामा भएको तेस्रो एसियाली पारा खेलकुद तथा सन् २०१९ मा लन्डनमा भएको विश्व पारा पौडी प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका थिए । ४१ वर्षीय कुमाल एम्पुटी फुटबलका पनि खेलाडी हुन् ।

भीमले पेरिस पारा ओलम्पिक छनोट हुने लक्ष्य रहेको बताउँदै भने, ‘एउटा खेलाडीको मुख्य उद्देश्य ओलम्पिक खेल्नु रहेको हुन्छ । यो एउटा सुनौलो अवसर हो । सक्दो प्रयास गर्नेछु ।’

टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे । भीम र अफिसियल श्रेष्ठ मे १५ मा सिंगापुर जानेछन् । प्रशिक्षक विजेनमान श्रेष्ठ आइतबार जाँदैछन् ।

सो अवसरमा सदस्य–सचिव घिसिङले पेरिस पारा ओलम्पिक छनोट हुने दोस्रो खेलाडी बन्न खेलाडीलाई शुभकामना दिए ।

‘पेरिस पारा ओलम्पिकमा तेक्वान्दो खेलाडी पलेशा गोवद्र्धन छनोट भई इतिहास रचिसक्नु भएको छ । पलेशा पारा ओलम्पिकमा छनोट चरण पार गरी खेल्ने पहिलो नेपाली खेलाडी हुनुहुन्छ,’ सदस्य सचिव घिसिङले भने ‘अब पालो तपाईं (भीमबहादुर) को हो । राष्ट्रलाई सम्झेर उत्कृष्ट प्रदर्शन गर्नुहोस् । शुभकामना ।’

पारा ओलम्पिक
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय