+

‘ट्रेनिङमा जसले राम्रो गर्छ, उसैलाई खेलाउने हो’

२०७८ मंसिर  ६ गते २१:०९ २०७८ मंसिर ६ गते २१:०९
‘ट्रेनिङमा जसले राम्रो गर्छ, उसैलाई खेलाउने हो’

काठमाडौं । पछिल्लो समय राष्ट्रिय टिममा चर्चा पाउन सफल खेलाडी हुन् मनिष डाँगी । अनी ८ वर्षअघि राष्ट्रिय टिमबाट गोल गर्दै चर्चा आएका खेलाडी हुन् विमल घर्ती मगर । तर मछिन्द्र फुटबल क्लबले सोमबार सहिद स्मारक ए डिभिजन लिगमा सिजनको पहिलो खेल खेल्दा दुई खेलाडी पहिलो रोजाइमा पर्न सकेनन् ।

एनआरटीविरुद् मछिन्द्रले २-१ को जित निकालेको खेलमा दुबै वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए ।

मछिन्द्रको जितमा दुवै गोल भने सुनिल बलले गरे । मनिष ६०औं र विमल ८०औं मिनेटमा मैदान प्रवेश गरेका थिए । मनिषले यही खेलबाट ए डिभिजन लिगमा डेब्यू गरे । विमल भने घुँडाको शल्यक्रियापछि पहिलो पटक मैदानमा फर्किएका हुन् ।

मनिष, विमल र सुनिल बाहेक मछिन्द्रमा राष्ट्रिय टिमका सुजल श्रेष्ठ, विशाल राई, विशाल श्रेष्ठ, राष्ट्रिय टिमबाट खेलिसकेका अभिषेक रिजाल, रन्जित धिमाल, देवेन्द्र तामाङ र छिरिङ गुरुङ पनि खेले । एनआरटी विरुद्ध मछिन्द्रका कूल १४ खेलाडीले खेल्दा तीन विदेशी र ८०औं मिनेटमा मैदान प्रवेश गरेका उत्सव राई बाहेक सबैसँग राष्ट्रिय टिमको अनुभव थियो ।

बेन्चमा रेजिन सुब्बा, बुद्ध चेम्जोङ जस्ता खेलाडी थिए ।

साविक विजेता मछिन्द्रले यस पटक उपाधि रक्षा गर्न भनेर नै मनिष, सुनिल बल र छिरिङ गुरुङ जस्ता खेलाडीलाई भित्र्याएको छ । यस्तै चोटबाट ठिक हुँदै गरेका विमललाई पनि क्लबले निरन्तरता दिएको छ ।

धेरै नाम चलेका र स्टार खेलाडी हुँदा प्रशिक्षक पनि दबावमा छन् । प्रशिक्षक प्रवेश कटुवालले भने ट्रेनिङमा राम्रो गर्ने खेलाडीलाई नै खेलाएको प्रतिक्रिया दिए ।

धेरै नाम चलेका खेलाडी हुँदा गाह्रो होला नि भन्ने प्रश्नमा प्रवेशले भने, ‘ट्रेनिङमा जसले बेस्ट दिन्छ, उसलाइ पहिलो रोजाईँमा खेलाउने हो ।’

मिडफिल्डर विशाल राई केही थाकेको जस्तो देखिएकाले उनलाई परिवर्तन गरिएको उनले बताए । ‘खेल जित्न खेलाउनुपर्ने हुन्छ । खेलाडी थाक्यो भने ६०-७० मिनेटमा परिवर्तन गर्नुपर्ने हुन्छ,’ प्रशिक्षक कटुवाल भन्छन् ।

पहिलो खेलमा एनआरटीलाई हराउँदै उपाधि रक्षा अभियान थाल्दा प्रशिक्षक कटुवाल सन्तुष्ट देखिए । ‘फस्ट म्याच गाह्रो हुन्छ, एनआरटीसँग दुई जना राम्रो अफ्रिकन फरवार्ड थियो, उनले भने, ३ अंक जोड्न सकेकोमा खुशी छु । केही गोल गर्ने अवसर गुमाए ।’

उनले केही अवस्थामा रेफ्रीले पनि गल्ती गरेको भन्दै गुनासो राखे । उनका अनुसार एनआरटीका पाएको त्यो फ्रि किकमा फल भएको थिएन, जसमा एरिक विष्टले गोल गरेका थिए ।

हारबाट लिग सुरु गरेपनि एनआरटीका प्रशिक्षक राजुकाजी शाक्य सन्तुष्ट देखिए । ‘पहिलो खेल हो, सन्तुष्ट नै छु,’ शाक्यले भने, ‘सानो गल्तीले गर्दा दोस्रो गोल खानु पुग्यौँ ।’

एरिकको फ्रिकिक गोलबारे सोधिएको प्रश्नमा उनले यसका लागि ट्रेनिङ गरेको र त्यसमा सफल भएको बताए ।

मनिष डाँगी विमल घर्ती मगर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय