+
+

मनाङ शीर्ष स्थानमा फर्कियो, एएफसी कप छनोट खेल्ने सम्भावना कायमै

पोखरा रंगशालामा भएको खेलमा शनिबार मनाङ मर्स्याङ्दीले ब्रिगेड ब्वाइज क्लबलाई १-० ले पराजित गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १७ गते १७:०३

१७ पुस, काठमाडौं । कप्तान अञ्जन विष्टको निर्णायक गोलमा मनाङ मर्स्याङ्दीले शहीद स्मारक ए डिभिजन लिगमा शनिबार ब्रिगेड ब्वाइज क्लबलाई १-० ले पराजित गरेको छ ।

अघिल्लो खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लबसंग पराजित भएको मनाङले शनिबार घरेलु मैदान पोखरा रंगशालामा जित हात पार्दै शीर्ष स्थानमा उक्लेको छ ।

मनाङको जितमा अञ्जनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए । त्यसअघि ब्रिगेडले खेलमा अग्रता लिने सुनौलो अवसर गुमाएको थियो । १६औं मिनेटमा मनाङका आदित्य चौधरीले शिशिर लेखीलाई फाउल गरेपछि ब्रिगेडले पेनाल्टी पाएको थियो । तर शिशिरले प्रहार गरेको पेनाल्टी फ्रेममा पर्न सकेन र आकाशियो ।

जारी सिजन पेनाल्टी मिस भएको यो दोस्रो पटक हो । यसअघि च्यासलका विकास मेरागल्याले थ्रीस्टार विरुद्ध पेनाल्टीमा गोल गर्न चुकेका थिए ।

जितपछि मनाङ ७ खेलबाट १६ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । एक खेल कम खेलेको मछिन्द्र १४ अंकसहित दोस्रो स्थानमा छ । यस जितले मनाङको एएफसी कप छनोट खेल्ने सम्भावना कायम रहेको छ । सातौं चरणको समाप्तिपछि शीर्ष स्थानमा रहने एएफसी क्लब लाइसेन्स प्राप्त क्लबले एएफसी कप छनोट खेल्ने प्रावधान छ ।

त्यसैले अब मछिन्द्रले आइतबार नेपाल पुलिससंग खेल्ने खेलमा मनाङको नजर रहनेछ । उक्त खेलमा मछिन्द्रलाई जित्नैपर्ने बाध्यता छ । यदि मछिन्द्र पुलिससंग बराबरीमा रोकिए वा पराजित भए मनाङले एएफसी कप छनोट खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?