+
+
प्रधानमन्त्री कप क्रिकेट :

आर्मीलाई पराजित गर्दै एपीएफले तय गर्‍यो पुलिससँग उपाधि भिडन्त

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ४ गते १६:४०

४ माघ, काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई ४७ रनले पराजित गरेको छ । यस जितपछि एपीएफले नेपाल पुलिससंग फाइनल भिडन्त पनि पक्का गरेको छ ।

आसिफ शेख र लोकेश बमले आक्रमक ब्याटिङ गरेपछि एपीएफले पहिले ब्याटिङ गर्दै आर्मीलाई २३१ रनको लक्ष्य दिएको थियो । जवाफमा आर्मीले २० ओभरमा ९ विकेट गुमाएर १८३ रन बनायो ।

उच्च लक्ष्य पछ्याउने क्रममा आर्मी राम्रो सुरुवात गरेपनि बीचमा निरन्तर विकेट गुमाउँदा लक्ष्यसम्म पुग्न सकेन । हरिबहादुर चौहान र भिम शार्कीले पहिलो विकेटका लागि ५५ रनको साझेदारी गरेका थिए । तर एपीएफका कप्तान शरद भेषवाकरले भीम, हरि र त्यसपछि ब्याटिङ गरेका तुलबहादुर थापाको विकेट लगातार लिएपछि आर्मी पछि परेको थियो । भीमले १९ बलमा ३५ र हरिले १८ बलमा २२ रन बनाए । तुलबहादुर २ रन बनाएर आउट भए । त्यसपछि अविनाश बोहराले कुशल मल्ल र कप्तान विनोद भण्डारीको विकेट लिएपछि आर्मीले ७० रनमा ५ विकेट गुमायो ।

त्यसपछि राजेश पुलामी मगर र सुमित श्रेष्ठले छैटौं विकेटका लागि ५७ रनको साझेदारी गर्दै आर्मीको इनिङ्स अघि बढाएका थिए । तर भुवन कार्कीले १४औं ओभरमा राजेशलाई कट एण्ड बोल्ड गर्दै खेल एपीएफतर्फ फर्काए । राजेशले २१ बल खेल्दै १ चौका र ४ छक्का मद्दतमा सर्वाधिक ३८ रन बनाए । सुमितले १८ बलमा २४ रन जोडे । विक्रम सोबले ५ बलमा २ छक्का प्रहार गर्दै १४ रन जोडे ।

जितेन्द्र मुखिया १ रन बनाएर आउट भए । शाहब आलम र सुशन भारीले १०औं विकेटका लागि अविजित २९ रनको साझेदारी गरे । शाहबले १४ बलमा अविजित २१ रन बनाए । सुशनले १० बलमा अविजित १२ रन जोडे ।

एपीएफका कप्तान शरदले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । भुवन कार्की र अविनाश बोहराले समान २ विकेट लिए । दिपक बोहरा र किशोर महतोले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा २ विकेट मात्र गुमाएर २३० रन बनाएको थियो ।

आसिफ शेख र प्रदिप ऐरीले पहिलो विकेटका लागि १५० रनको साझेदारी गर्दै एपीएफलाई शानदार सुरुवात दिलाएका थिए । जारी प्रतियोगितामा यो सबैभन्दा ठूलो साझेदारी हो । यसअघि यही जोडीले पहिलो विकेटका लागि १२० रनको साझेदारी गरेका थिए ।

त्यसपछि लोकेश बमले विष्फोटक ब्याटिङ गर्दा एपीएफले अन्तिम ५ ओभरमा ८० रन जोडेको थियो ।

आसिफ शेखले त्यसअघि आक्रमक ब्याटिङ गर्दै सर्वाधिक ८४ रन बनाए । आसिफले ४३ बल खेल्ने क्रममा १० चौका र ५ छक्का प्रहार गरे । पहिलो विकेटका लागि आसिफ र प्रदिपले १५ ओभरमा १५० रनको साझेदारी गरेका थिए । ओपनर प्रदिपले ५३ बल खेल्दै ७ चौका र १ छक्का मद्दतमा अविजित ५७ रन जोडे ।

चौथो नम्बरमा ब्याटिङ गरेका लोकेशले छक्का र चौकाको वर्षा गर्दै १४ बलमै ५२ रन बनाएका थिए । उनले ७ छक्का र २ चौका प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए । लोकेश कूल १८ बल खेल्दै २ चौका र ९ छक्का मद्दतमा अविजित ६६ रन बनाए ।

१७औं ओभरको तेस्रो बलमा कप्तान शरद भेषावकर आउट भएपछि क्रिजमा पुगेका लोकेशले त्यस ओभरको तीन बलमा जितेन्द्र मुखियालाई लगातार छक्का प्रहार गरेका थिए । १८औं ओभरमा उनले हरि चौहानलाई १ चौका र १ छक्का प्रहार गरे । १९औं ओभरमा फेरि जितेन्द्रलाई नै लगातार तीन छक्का प्रहार गरे । त्यसपछि २०औं ओभरमा सुशन भारीलाई २ छक्का र एक चौका प्रहार गरे ।

तेस्रो विकेटका लागि लोकेशले प्रदिप ऐरीसंग २१ बलमै अविजित ६८ रनको साझेदारी गरे ।

आर्मीका लागि जितेन्द्र मुखिया र सुमित श्रेष्ठले समान १ विकेट लिए । तर दुवै खेलाडी महँगा बने । जितेन्द्रले ४ ओभरमा ५७ रन खर्चिँदा सुमितले १ ओभरमै १९ रन दिए । सुमितले नै आसिफ र प्रदिपको शतकिय साझेदारी भने तोडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?