+
+

शुटिङमा करिअर देख्दैनन् खेलाडी

पछिल्ला वर्षहरुमा नेपाल शुटिङ संघ आफैं अस्तित्वको संघर्षमा छ । पूर्वाधार, खेल सामग्री, व्यवस्थापन र खेलाडी उत्पादन प्रक्रिया सुस्त रहँदा खेलाडीमा पनि निराशा बढेको छ । शुटिङका कतिपय खेलाडी त पलायन भइसके ।

नमिता दाहाल नमिता दाहाल
२०७८ फागुन ९ गते १९:१५

९ फागुन, काठमाडौं । शुटिङ खेलको इतिहास गर्विलो छ । ओलम्पिक र एसियाली खेलकुदमा नेपालको सहभागितामात्र होइन, प्रतिस्पर्धात्मक उपस्थिति हुने गरेको थियो । दक्षिण एसियाली खेलकुदमा त भारतलाई हराएर स्वर्ण पदक जितेको इतिहाससमेत छ ।

पछिल्ला वर्षहरुमा नेपाल शुटिङ संघ आफैं अस्तित्वको संघर्षमा छ । पूर्वाधार, खेल सामग्री, व्यवस्थापन र खेलाडी उत्पादन प्रक्रिया सुस्त रहँदा खेलाडीमा पनि निराशा बढेको छ । शुटिङका कतिपय खेलाडी त पलायन भइसके ।

सन् १९९१ मा श्रीलंकामा सम्पन्न पाँचौं दक्षिण एसियाली खेलकुदमा नेपालकी अनिता श्रेष्ठ महर्जनले १० मिटर एयर राइफलतर्फ भारतीय र श्रीलंकाली प्रतिस्पर्धीलाई हराएर स्वर्ण जितेकी थिइन् । त्यसको दुई दशकपछि आफ्नै भूमिमा आयोजित १३औं दक्षिण एसियाली खेलकुदमा कुनै पनि नेपाली खेलाडीले पदक जित्न सकेनन् ।

१३औं सागमा पदकविहीन भएको सीमित खेलमध्ये शुटिङ पनि एक हो । सागमा नेपाली खेलाडीहरुको राइफल नपड्किने समस्याले शुटिङ संघ र राष्ट्रिय खेलकुद परिषद (राखेप) को गैरजिम्मेवारीपन उजागर गरेको थियो ।

ग्रीष्मकालीन ओलम्पिकमा नियमित सहभागिता जनाउने खेलमा शुटिङ पनि पर्छ । सन् १९८८ को सोल ओलम्पिकमा शुटिङबाट प्रतिनिधित्व गरेकी पार्वती थापा पहिलो महिला ओलम्पियनसमेत हुन् । त्यसयता ६ जनाले ओलम्पिक खेलिसकेका छन् ।

जापानको टोकियो शहरमा आयोजित पछिल्लो संस्करणमा कल्पना परियार १० मिटर एयर राइफलमा वाइल्ड कार्डमार्फत सहभागी भइन् । पुरानो मोडलको राइफलबाट प्रशिक्षण गरी त्रिभुवन आर्मीले दिएको हतियार लिएर टोकियो पुगेकी कल्पनाबाट राम्रो प्रदर्शनको आशा राख्नु जायज थिएन ।

आफ्नो ओलम्पिक यात्रा सुनाउँदै गर्दा कल्पनामा अझै पनि खिन्नता देखिन्छ । ‘सोचेअनुसारको तयारी पनि थिएन । ओलम्पिकजस्तो ठूलो इभेन्टमा जाँदा हतियार पुरानो मोडलको मात्र थियो,’ उनले दुःख सुनाइन् ।

नेपाली सेनामा भर्ना भएपछि तालिमका बेला फाइरिङमा उत्कृष्ट भएपछि सिधै खेलकुद विभागमा पठाइएकी कल्पनाले शुटिङ गर्न थालेको ८ वर्ष भयो । राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदै ओलम्पिकसम्म पुग्दा उनले पाएको प्रशिक्षणको शैली परिवर्तन भएको छैन । नेपाली प्रशिक्षकहरुको स्तरोन्नत्ति भएको छैन भने विदेशी प्रशिक्षक नियुक्ति गरिएको छैन ।

विदेशमा शुटिङका प्रतियोगिता नियमित आयोजना हुन्छन् । यो खेलमा छलाङ मारिसकेको भारतमा पनि महिनैपिच्छे प्रतियोगिता हुने गरेको कल्पनाले सुनेकी छन् । नेपालमा शुटिङको घरेलु प्रतियोगिता नगण्य हुन्छ । अन्तर्राष्ट्रियस्तरको शुटिङ रेञ्ज काठमाडौंमा मात्रै हुनु र महंगो खेलमा सर्वसाधारणको पहुँच नपुग्नुले शुटिङको लोकप्रियता खस्कँदै गएकोमा कल्पनालाई चिन्ता छ ।

‘प्रतिस्पर्धा नै छैन । अन्तर्राष्ट्रिय सहभागिता त छोडौं, नेपालमा पनि राष्ट्रिय तथा स्थानीय प्रतिस्पर्धा हुँदैन । नयाँ खेलाडी उत्पादनमा केही पहल भएको देख्दिनँ,’ कल्पनाले अनलाइनखबरसँग भनिन्, ‘विभागीय टिमबाहिर खेलाडी छैनन् । महंगो भएको हुनाले सर्वसाधारणको पहुँचभन्दा बाहिर छ । शुटिङ रेञ्ज, राइफल, गोलीको समस्या त्यस्तै छ । सीधा भन्ने हो भने नेपालमा शुटिङको करिअर नै छैन ।’

नियमित प्रतियोगिता छैन, प्रतियोगिता नभएपछि पुरस्कार रकमबाट आम्दानी हुने कुरा पनि भएन । सर्टिफिकेटले खर्च धान्न सकिँदैन । खेलाडी बन्न लगानी पनि धेरै चाहिने भएपछि शुटिङप्रतिको आकर्षण कमजोर हुँदै गएको कल्पना बताउँछिन् ।

‘म त्रिभुवन आर्मीका लागि खेलिरहेकी छु । ओलम्पियन खेलाडीका रुपमा भन्दा पनि ड्यूटीका रुपमा इन्जोय गरिरहेकी छु,’ कल्पनाले भनिन्, ‘विदेशी प्रशिक्षण, कम्प्युटर टार्टेगमा निरन्तर प्रशिक्षण तथा मापदण्ड पुगेका आधुनिक पेस्तोल तथा राइफल भएमा हामीले पनि अन्तर्राष्ट्रिय स्तरको पदक जित्न सक्थ्यौं ।’

नेपालमा शुटिङमा पर्याप्त खेलाडी नै छैनन् । यसको कारणहरु मध्ये एक भनेको नेपालमा खेलको केन्द्रीकरण काठमाडौंमा मात्रै हुनु पनि हो । प्रदेश र स्थानीय तहमा यो खेलप्रति आकर्षण छैन । खेलाडी पहिचानका लागि शुटिङ संघबाट खास पहल भएको पनि छैन । तीन विभागीय टोलीमा भएका खेलाडीबाट नै नेपालको शुटिङ टोली बन्ने गरेको छ ।

हालै एसियन शुटिङ कन्फेडेरेसनले स्तरीय राइफलसहितको खेल सामग्री उपलब्ध गराएपछि कल्पनाले पनि प्रदर्शनस्तर सुधार हुने आशा राखेकी छन् । उनले भनिन्, ‘हामीले अहिले जति खेलिरहेका छौं त्यो सबै विभाग र व्यक्तिगत प्रयासले नै हो । अहिले आएका खेल सामग्रीले सहयोग पुग्ने आशा छ ।’

करिब ६० लाख रुपैयाँ खर्चेर निर्माण गरिएको १० मिटर रेञ्जमा विद्यालयस्तरीय तथा नयाँ प्रतिभालाई मौका दिने योजना रहेको नेपाल शुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठले बताए । खेल सामग्री र नयाँ पूर्वाधारले नेपालमा सुटिङ खेलको विकास र खेलाडीको स्तरोन्नतिमा सहयोग पुग्ने उनको दावी छ । ‘एसियन गेमसम्मको लागि पर्याप्त हुने सामग्री हामीले जुटाएका छौं,’ अध्यक्ष श्रेष्ठले भने ।

अहिले निर्माण भएको रेञ्ज र आएका अत्याधुनिक प्रविधियुक्त सामग्रीले आगामी पुस्ताका खेलाडीलाई भने मद्दत पुग्नेमा ओलम्पियन कल्पना पनि आशावादी छिन् । उनी भन्छिन्, ‘अन्तर्राष्ट्रिय रेञ्ज भएको काठमाडौंमा मात्रै हो । विराटनगर र नेपालगञ्जमा भएका रेञ्जहरु कामचलाउ छन् । तर अब आउने खेलाडीले अहिलेको अन्तराष्ट्रिय रेञ्जमा अभ्यास गर्न पाउँछन् । सामग्री पनि थपिँदै छ, सजिलो हुन्छ होला ।’

‘पुरानो राइफल बोकेर जाँदा लाज हुन्थ्यो’

एसियाली खेलकुददेखि ओलम्पिकसम्म नियमित संग्लग्नता हुने शुटिङका खेलाडीहरु भने सधैं मापदण्डविहीन खेल सामग्रीका कारणले स्पर्धा सुरु हुनुअघि नै पराजित मानसिकतामा खेल्नुपरेका धेरै उदाहरण छन् ।

सामग्री गतिलो नहुनुको पीडा अन्तर्राष्ट्रियस्तरमा प्रदर्शन गर्न नसक्ने खेलाडीले भन्दा राम्रोसँग सायदै कसैले बुझ्छ । यसबारे ओलम्पियन कल्पनाको पनि तितो अनुभव छ । २०२० को गृष्मकालीन ओलम्पिकमा भाग लिन जाने बेला उनीसँग प्रशिक्षणको लागि गतिलो राइफल थिएन । आफ्नो हतियार कमजोर भएका कारण पनि उनलाई अन्य देशका खेलाडीको तुलना भने आफू कमजोर भएको महसुस भयो ।

संघका अध्यक्ष श्रेष्ठले सामान बलियो भएपछि मात्र खेलाडीबाट आश गर्न मिल्ने उनले बताए । ‘अन्तर्राष्ट्रिय प्रतियोगितामा हामीले लगेका सामानहरु इन्टरनेसनल स्पोर्टस सुटिङ फेडेरेसन (आईएसएसएफ)को मापदण्डअनुुसारको हुँदैनथ्यो, जसले गर्दा हामीलाई कयौं पटक लज्जाबोध हुनुपर्ने स्थिति थियो,’ संघका अध्यक्ष श्रेष्ठले अनलाइनखबरसँग भने, ‘अहिले हामीले मापदण्ड पूरा हुने खालका सामानहरु ल्याएका छौं ।’

शुटिङका प्रशिक्षक उपेन्द्र थापा नेपालमा यो खेलको विकास सुस्त रुपमा भएको स्वीकार्छन् । नवनिर्मित रेञ्जले सिनियर र जुनियर दुवै खेलाडीहरुलाई सजिलो हुने उनको भनाइ छ ।

अहिले बनेको रेञ्जले विद्यालयस्तर र स्थानीय स्तरबाट खेलाडी उत्पादन सहज हुने प्रशिक्षक थापा बताउँछन् । अहिले भएका खेलाडीलाई पनि अन्य बेला सामान्य रेञ्जमा नै प्रशिक्षण गराइन्छ । ‘राष्ट्रिय टोलीका खेलाडीको पनि अन्य बेला सामान्य रेञ्जमा नै प्रशिक्षण हुन्छ । प्रतियोगिता नजिक आएको बेला मात्र कम्प्युटर प्रविधिमा लगेर प्रशिक्षण गराइने हो’ प्रशिक्षक थापाले भने ।

यसअघि भएको दक्षिण एसियाली खेलकुद (साग) र ओलम्पिकमा पर्याप्त प्रशिक्षण समय नभएकाले प्रदर्शन राम्रो नभएकोबारे प्रशिक्षक थापा भन्छन्, ‘त्यसबेला कोभिडका कारण पनि राम्रो प्रदर्शन हुन सकेन । त्यसैमाथि यहाँ रेञ्ज पनि मर्मत भइरहेको र एक डेढ महिना मात्र प्रशिक्षण गर्न पाइएको थियो ।’

प्रशिक्षक थापाले नेपालका शुटिङ प्रशिक्षकहरुको स्तरोन्नतिको समय आइसकेको स्वीकारे । ‘हामीले राष्ट्रियस्तरमा कहिलेकाहीँ तालिमहरु पाइरहेका हुन्छौं तर अन्तर्राष्ट्रिय रुपमा छैन । अब चाहिं संघ पनि अग्रसर भइरहेको छ । अब साग, एसियाडअघि अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण दिने भन्ने कुरा भएको छ,’ थापाले भने ।

अध्यक्ष भन्छन् : बल्लतल्ल सामग्री पाइयो

संघका अध्यक्ष श्रेष्ठले करिब तीन महिनाको प्रयासपछि खेलाडीलाई आधुनिक खेल सामग्री उपलब्ध गराउन सफल भएको बताए । ‘खेल्न जाने बेला सामान हुँदैन । जता जाँदा पनि हामीसँग हतियार नै हुँदैन कसरी पदक जित्ने आश गर्ने ? त्यसैले आफैं तीन महिना सम्म सरकारी चौखट धाएर भए पनि यति सामान जुटाउन सफल भएँ,’ श्रेष्ठले भने । उनले नयाँ रेञ्जमा राष्ट्रिय प्रतियोगिता आयोजनाको तयारी भइरहेको समेत बताए ।

अहिले आएका तीन थान राइफल र तीन थान पेस्तोल सबै ल्याउँदा र भन्सार सहितको खर्च जोड्दा १ देखि २ करोड रुपैयाँ लागेको अध्यक्ष श्रेष्ठले बताए । पारा खेलाडीको लागि संघलाई कुमार दर्शन मेमोरियल फाउन्डेसनले तीन थान ह्वीलचियर प्रदान गरेको छ ।

शुटिङका ओलम्पियन

पार्वती थापा– सोल ओलम्पिक १९८८

भगवती खत्री– सिड्नी ओलम्पिक २०००

टीका श्रेष्ठ– एथेन्स ओलम्पिक २००४

फूलमाया क्याप्छाकी– बेइजिङ ओलम्पिक २००८

स्नेहा राणा– लण्डन ओलम्पिक २०१२

कल्पना परियार– टोकियो ओलम्पिक २०२०

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?