१२ जेठ, काठमाडौं । इटालियन क्लब रोमाले पहिलो पटक आयोजना भएको यूईएफए कन्फ्रेन्स लिगको उपाधि जितेको छ । यूईएफएले यसै सिजनदेखि तेस्रो श्रेणीको क्लब फुटबल सुरु गरेको थियो ।
बुधबार राति भएको कन्फ्रेन्स लिग फाइनलमा रोमाले डच क्लब फेयेनुर्डलाई १-० ले हराएर च्याम्पियन बनेको हो ।
अल्वानियाको तिरानास्थित एरेना कोम्बेटारेमा भएको फाइनलमा रोमालाई जित दिलाउन ३२औं मिनेटमा निकोला जानिलाले गोल गरे ।
रोमाबाट कन्फ्रेन्स लिगको उपाधि जितेपछि प्रशिक्षक जोस माउरिन्हो युइएफएको मुख्य प्रतियोगिता जित्ने पहिलो प्रशिक्षक बने । उनले यसअघि पोर्टो र इन्टर मिलानबाट च्याम्पियन्स लिग तथा म्यानचेष्टर युनाइटेडबाट युरोपा लिग जितिसकेका छन् । यस्तै पोर्टोबाट त्यसअघि नै यूईएफए कप समेत जितेका थिए ।
प्रतियोगिताको सुरुवातदेखि नै कन्फ्रेन्स लिग जित्ने विश्वासका साथ खेलेको माउरिन्होले बताए । धेरैले यो क्षणको प्रतीक्षा गरिरहेको र आफूहरुले इतिहास बनाएको उनले बताए ।
रोमाले १४ वर्षपछि पहिलो पटक ठूलो उपाधि जितेको हो । रोमाले पछिल्लो पटक सन् २००८ मा कोपा इटालियाको उपाधि जितेको थियो ।
यस सिजन लिगमा छैटौं भएर रोमा अर्को सिजनको युरोपा लिगमा छनोट भएको छ ।
प्रतिक्रिया 4