+
+
आईसीसी क्रिकेट विश्वकप लिग टु :

अस्थिर प्रदर्शन, कमजोर फिनिसिङ

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ असार २ गते १७:२४

२ असार, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु खेल्न अमेरिका उड्नुअघि कप्तान सन्दीप लामिछानेले त्यहाँ खेल्ने सबै चार खेल जित्ने दाबी गरेका थिए ।  अमेरिका र ओमान सम्मिलित शृंखलामा सबै ४ खेल जित्ने दाबी गर्नु अस्वभाविक पनि थिएन । किनकी दुवै प्रतिद्वन्द्वी नेपालकै स्तरका थिए ।

पछिल्लो समय नेपालको ब्याटिङ एकरुपको हुन सकेको थिएन । त्यसैले सन्दीपले टिमलाई आत्मविश्वासी बनाउनका लागि पनि जितको दाबी गरेका थिए । तर नतिजा उनले दाबी गरेजस्तो आएन । शृंखलामा चार खेल खेलेको नेपालले एक खेल जित्यो, एक खेल टाई (बराबरी) भयो भने दुई खेलमा हार बेहोर्‍यो ।

नेपालले यसअघिका लिग टु को तीन शृंखलामा ५० प्रतिशत जित (२ खेलमा) निकालेको थियो र ४-४ अंक जोडेको थियो । तर अमेरिकामा नेपालले संभावित ८ अंकमा ३ अंक मात्र जोड्यो ।

सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकपको छनोटको प्रारम्भिक आधार रहेको लिग टुमा चार शृंखला खेल्दा नेपालले १६ खेलबाट १५ अंक मात्र जोडेको छ र पाँचौ स्थानमा छ । अमेरिका भ्रमणपछि नेपालले अंकतालिकामा एक स्थान सुधार गर्न सफल रह्यो ।

चारै खेल सकिएपछि कप्तान सन्दीपले नेपालले जित्न सक्ने अवस्थामा रहँदा रहँदै पनि खेल हार्नुपरेको प्रतिक्रिया दिए ।

अस्थिर प्रदर्शन

नेपालले अमेरिकामा चार खेल खेल्यो । अमेरिका र ओमान दुवै नेपालको लागि लिग परिचित प्रतिद्वन्दी नै हुन् । अझ लिग टु मा यसअघि यी तीन टिम सम्मिलित दुई शृंखला भइसकेका छन् । ओमानसँग त नेपालले पछिल्लो समय टी-२० मा पनि खेल्दै आएको छ ।

अमेरिका जानुअघि लिग टुमा यी दुई टिमसँग नेपालको प्रदर्शन मिश्रित थियो । ओमानसँग ४ खेलमा १ जित र ३ हार तथा अमेरिकासँग ३ जित र १ हार ।

तर अमेरिकामा खेलेका हरेक खेलमा नेपाल जित नजिक पुगेको थियो, तर खेल सकिंदा जित हात परेन । ओमानसँग एक खेल जित्दा एक खेलमा पराजित भयो । तर अमेरिकालाई उसैको मैदानमा हराउन सकेन । अमेरिकासँग पहिलो खेल बराबरी गरेको नेपालले दोस्रो खेलमा हार बेहोर्‍यो । समग्रमा नेपालले अमेरिकामा एक खेल मात्र जित्यो ।

नेपाल प्रदर्शन स्थितर नहुँदा नेपालले नतिजा चाहे जस्तो ल्याउन सकेन । कप्तान सन्दीपले भनेजस्तै जित्ने अवस्थामा रहेर पनि नेपालले खेल जित्न सकेन । नेपाली टिम युवा रहेको र आफू पनि नयाँ कप्तान भएकोले सबैले सिक्दै खेल्दै गरेको सन्दीपको भनाइ छ ।

एउटा खेलमा राम्रो प्रदर्शन गर्ने अनी त्यसलाई अर्को खेलमा निरन्तरता दिन नसक्नु नेपालको कमजोरी रह्यो ।

पहिलो खेलमा ओमानलाई २११ रनमा रोकेको नेपाल १३ रनले पराजित पराजित भयो । अन्त्यतिर नेपालले संयमित ब्याटिङ गर्न नसक्दा नेपालले पराजय स्वीकार्नुपर्‍यो ।

दोस्रो खेलमा नेपालले २७४ रनमा बनाउँदा अमेरिकालाई उति नै स्कोरमा रोकेर नेपालले खेल बराबरी गरेको थियो । पहिला ब्याटिङ गरेको यो खेलमा ४४औं ओभरमा ३ विकेट गुमाएर २४३ रनको स्थितिमा पुगेको नेपालले ३०० रन कटाउने लक्षण देखाएको थियो । तर त्यसपछि ब्याटिङ पतन भयो र नेपाल खेल सकिन ४ बल बाँकी छँदै अलआउट भयो ।

तेस्रो खेलमा ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले ओमानलाई ७ विकेटले हरायो ।

चौथो खेलमा फेरि नेपालको ब्याटिङ धर्मरायो र अमेरिका विरुद्ध ३९ रनले पराजित भयो । ब्याटिङको समस्याले नेपालले यो खेल गुमाएको थियो । ओमान विरुद्धको दोस्रो खेललाई छाड्ने हो भने बाँकी तीनवटै खेलमा नेपाल ब्याटिङ र बलिङमा स्थिर प्रदर्शन हुन सकेन ।

कमजोर फिनिसिङ

नेपालले हारेको दुवै खेलमा फिनसिङ राम्रो हुन सकेन । टप अर्डरले राम्रो गर्दा मिडल अर्डरलाई सहज भएको थियो भने टप अर्डर नचल्दा मिडल अर्डरले धानेको थियो । तर यस पटक नेपालको लोअर अर्डर अर्थात फिनिसिङ भने गतिलो हुन सकेन ।

विगतका दिनमा नेपालले ब्याटिङमा अन्तिमसम्म संघर्ष गर्दै रोमाञ्चक जित दिलाएको रमाइला क्षण छन् । यस पटक त्यस्तो हुन सकेन । एक खेलमा नेपालले सहज जित हात पार्‍यो । अर्को एक खेलमा अन्तिम ओभरको बलिङले नेपाललाई हारबाट जोगायो ।

बाँकी दुई खेलमा भने नेपालको फिनिसिङ राम्रो हुन सकेन । यस्तै बलिङमा पनि डेथ ओभर बलिङ गर्ने खेलाडीको कमी भयो ।

कुन खेलमा कहाँ चुक्यौँ ?

ओमानसँगको पहिलो खेलमा : नेपालले अन्तिम ओभरमा १३ रन खर्चिएको थियो । नेपाललाई जितका लागि अन्तिम ओभरमा १४ रन आवश्यक थियो । दुवै टिमले ४९ ओभर सकिँदा समान १९८ रन बनाएको थियो ।

ओमानले अन्तिम ओभरमा १३ रन जोड्दा नेपालले भने एक रन पनि जोड्न सकेन । नेपालका आरिफ शेख तीन बल डट खेलेर चौथो बलमा आउट भए र नेपाल दुई बल अघि नै अलआउट भयो ।

नेपालले उत्कृष्ट बलिङ गरे पनि कप्तान जिसन मक्सुदले अविजित १०४ रन बनाए । ओमानले ५० ओभरमा २११ रन बनायो । करण केसीले ५ विकेट लिए पनि त्यो छायाँमा पर्‍यो । आरिफ शेखले संयमित भएर ६६ रन बनाए पनि जिताउन सकेनन् र नेपाल २ बल अघि १९८ रनमा अलआउट भयो ।

अमेरिकासँगको पहिलो खेलमा : नेपालका तीन खेलाडीले अर्धशतक बनाए पनि कमजोर फिनिसिङ हुँदा एक समय ३०० रन बनाउने लक्षण देखिएकोमा नेपाल २ बल अगावै २७४ रनमा अलआउट भयो । नेपालले अन्तिम ५ ओभरमा १९ रन मात्र जोड्न सक्यो र ५ विकेट गुमाएको थियो । यस खेलमा पनि नेपालले पूरा ओभर ब्याटिङ गर्न सकेन ।

लक्ष्य पछ्याउने क्रममा अमेरिकाले पहिलो विकेट २६ रनमा गुमाएपनि दोस्रो विकेटका लागि स्टेभेन टेलर र मोनाक पटेलले दुई रनको साझेदारी गरेका थिए । तर पनि अमेरिका जित नजिक पुगेको थियो । मिडल ओभरमा नेपालको बलिङ राम्रो भएन । तर अन्तिम ओभरमा भने डेब्यु गरेका आदिल अन्सारीले शानदार बलिङ गर्दै ६ रन रक्षा गर्दा नेपालले खेल बराबरी गरेको थियो । यस खेलमा आदिलले ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरे ।

ओमानसँगको दोश्रो खेलमा : करण केसीले ५ विकेट लिएपछि ओमान १६३ रनमा अलआउट भयो । त्यसपछि आसिफ शेख र कुशल भुर्तेलले अर्धशतक प्रहार गर्दा पहिलो विकेटका लागि कीर्तिमानी ११४ रनको साझेदारी गरे । जुन खेल नेपालले ७ विकेटले जित्यो ।

अमेरिकासँगको अन्तिम खेलमा : अमेरिकाले अन्तिम ५ ओभरमा ४४ रन जोड्दै २४५ रन बनाएको थियो । नेपालको डेथ बलिङ राम्रो नहुँदा अमेरिकाले अन्तिम ३ ओभरमै ३१ रन जोडेको थियो । जसमा करण केसीको अन्तिम ओभरमा १५ रन जोडेको थियो ।

लक्ष्य पछ्याउदा नेपालको ओपनिङ चल्न सकेन । नेपालले ९३ रनमै ५ विकेट गुमाइसकेको थियो । त्यसपछि आरिफ शेख र सोमपाल कामीले छैटौं विकेटका लागि कीर्तिमानी १०६ रनको साझेदारी गर्दै  इनिङ्स अघि बढाएका थिए । तर नेपाल फिनिसिङमा फेरि चुक्यो । ४४ ओभरसम्म नेपाल १९५/५ को आरामदायी अवस्थामा थियो । आरिफ शेख ६० र सोमपाल ४५ रन बनाएर खेलिरहेका थिए ।

नेपाललाई अन्तिम ६ ओभर (३६) बलमा जितका लागि ५१ रन चाहिएको थियो र ५ विकेट हातमा थियो । तर नेपालले त्यसपछि २२ बल खेल्दा ११ रन जोड्दै बाँकी ५ विकेट गुमायो ।

४५औं ओभर टर्निङ प्वाइन्ट बन्यो । सौरभ नेत्रभाल्करले चौथो बलमा आरिफलाई आउट गरे भने अन्तिम बलम सोमपाल कामीलाई रनआउट गरे ।

त्यसपछि नेपालको इनिङ्स कसैले सम्हाल्न सकेन । ४७औं ओभरमा उनै नेत्रभाल्करले करण केसी (१) र कप्तान सन्दीप (शुन्य)लाई आउट गरे । ४८औं ओभरमा आदिल अन्सारीलाई अली खानले आउट गरेपछि नेपाल २०६ रनमै अलआउट भयो ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?