+
+

एन्फा निर्वाचनसँग जोडिएको अल्मुताइरीको भविष्य

कुशल तिमल्सिना कुशल तिमल्सिना
२०७९ असार २ गते १८:२९

२ असार, काठमाडौं । असार ६ गते हुने अखिल नेपाल फुटबल संघ (एन्फा)को केन्द्रीय कार्यसमिति निर्वाचनले आगामी चार वर्षका लागि नेपाली फुटबलको भविष्य निर्धारण हुँदैछ । यो निर्वाचनले राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको भविष्यको पनि निर्क्यौल हुनेछ ।

एएफसी एसियन कप छनोटको तेस्रो चरणमा नेपालको शतप्रतिशत पराजय पूर्वानुमान नै थियो । किनभने प्रतियोगिताअघि नै प्रशिक्षकले नेपाल एसियन कपमा छनोट हुन नसक्ने अभिव्यक्ति दिएका थिए । प्रशिक्षक र खेलाडीबीचको विवादका बीच अनुभवी १० खेलाडीलाई बाहिर राखेर कुवेत भ्रमणमा निस्किएको नेपालले जोर्डन, कुवेत र इण्डोनेसियालाई नतिजा सुम्पियो ।

छनोट प्रतियोगिता सम्पन्न भएपछि कुवेती प्रशिक्षक अल्मुताइरीबाहेक नेपाल टोली स्वदेश फर्किएको छ । अल्मुताइरीले विरामी विदा लिएका छन् । ‘उहाँले जानुअघि नै विरामी विदा लिनुभएको हो । पूरा परीक्षण गरेपछि मात्रै उपचारमा लाग्ने समयका आधारमा थप विदा निर्धारण हुन्छ,’ एन्फा महासचिव इन्द्रमान तुलाधरले भनेका छन् ।

कुवेत जानुअघि नै स्वास्थ्यमा समस्या देखाएका अल्मुताइरी कुवेत र नेपालको खेलका क्रममा मैदानमा नै बेहोस भएका थिए । प्रशिक्षक अल्मुताइरीले आफूलाई मुटुको समस्या रहेको बताउँदै आएका छन् । सोही विमारीका कारण उनले सानो उमेरमै खेलाडी जीवनबाट सन्यास लिनुपरेको थियो ।

कुवेतविरुद्धको खेलमा अल्मुताइरी मैदानमा नै बेहाेस भएपछि उपचार गरिँदै ।

नेपाली राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालेयता कुनै न कुनै विवादमा परिरहेका प्रो लाइसेन्स प्रशिक्षक अल्मुताइरी कुवेतबाट नेपाल नफर्किनुलाई अर्को अर्थमा पनि लिन सकिन्छ । नेपालमा आफ्नो निरन्तरताका लागि सायद उनले पनि एन्फा निर्वाचन नै पर्खिरहेका छन् ।

यसका दुई कारण छन् ।

पहिलोः एएफसी एसियन कप छनोटको बन्द प्रशिक्षण क्याम्पबाट सिनियर खेलाडी बाहिरिएको घटनामा एन्फाबाट गठिन छानविन समितिले प्रशिक्षक अल्मुताइरीको गल्ती औंल्याउँदै एसियन कपपछि कतार एफएसँगको सहमतिमा प्रशिक्षकको विकल्प खोज्नुपर्ने निष्कर्ष निकालेको छ ।

एन्फाले निर्वाचन प्रक्रियामा गइसकेको कारण प्रमुख प्रशिक्षकबारेको निर्णय नयाँ कार्यसमिति आएपछि मात्र हुने बताइरहेको छ ।

दोस्रोः एन्फा अध्यक्षका उम्मेदवार पंकज विक्रम नेम्वाङसँग अल्मुताइरीको सुरुवातदेखि नै सुमधुर सम्बन्ध छैन । प्रशिक्षकको जिम्मेवारी सम्हालेको तीन महिनामै वरिष्ठ उपाअध्यक्ष नेम्वाङको टर्चर सहन नसकेर आफूले राजिनामा दिन लागेको सार्वजनिक अभिव्यक्ति उनले दिएका थिए । यो घटनाले नेम्वाङ–अल्मुताइरी सम्बन्ध पानी बाराबारको स्थितिमा छ ।

एन्फा निर्वाचनमा पंकज र वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा चुनावी प्रतिस्पर्धामा छन् । असार ६ गते हुने निर्वाचनबाट यदि पंकज निर्वाचित भएको अवस्थामा छानबिन समितिको प्रतिवेदन कार्यान्वयनलाई पहिलो प्राथमिकता दिन सक्नेछन् । अर्थात्, कतार एफएसँगको सहमतिमा उनको विकल्प खोजिनेछ ।

पंकज विक्रम नेम्बाङ र कर्मा छिरिङ शेर्पा ।

शेर्पा पुनः निर्वाचित भएको अवस्थामा पनि उनको विकल्प खोजिने सम्भावना छ । टिमबाहिर राखिएका १० खेलाडी छिट्टै फर्किँदैछन् । उनीहरुले विवादित प्रशिक्षक मातहत खेल्नु मनोवैज्ञानिक रुपमै पनि असर पर्न सक्छ । राष्ट्रिय टिमको एकतालाई बलियो बनाउन जो नेतृत्वमा आए पनि प्रशिक्षक परिवर्तन नै सहज विकल्प हुनसक्छ ।

एन्फाका पूर्व अध्यक्ष नरेन्द्र श्रेष्ठले पछिल्लो विकसित घटनाक्रमले अल्मुताइरीको वहिर्गमन नै उपयुक्त विकल्प हुनसक्ने बताउँछन् । ‘विवादमा रहेका खेलाडीहरु अब टिममा फर्किँदैछन् । उनीहरुलाई अब्दुल्लाहले नै प्रशिक्षण गराउँदा टिमको वातावरण पहिलेजस्तो सुमधुर नहुन सक्छ । यसले राष्ट्रिय टिमको प्रदर्शन मै असर पार्न सक्छ,’ श्रेष्ठले अनलाइनखबरसँग भने, ‘छानबिन समितिको प्रतिवेदन पनि अल्मुताइरीको पक्षमा छैन । एन्फा चुनावमा जो निर्वाचित भए पनि प्रतिवेदन कार्यान्वयन हुँदा अल्मुताइरी नै अप्ठेरोमा पर्न सक्छन् ।’

अल्मुताइरी कतार फुटबल संघको सहयोगमा नेपाल आएका हुन् । उनको सम्पूर्ण सुविधा कतारले नै व्यहोर्छ । सन् २०२१ को मार्चमा एक वर्षका लागि नेपालको प्रशिक्षण सम्हालेका अल्मुताइरीको सम्झौता एन्फा र कतार एफएको सहमतिमा पहिलो कार्यकाल पूरा नहुँदै तीन वर्ष थपिएको थियो । साफ च्याम्पियनसिपको ऐतिहासिक फाइनल यात्रापछि कतारले उनको निरन्तरताका लागि सहमति दिएको थियो ।

फिफा विश्वकप आयोजनाको तयारीमा रहेको कतार पछिल्ला केहि वर्षमा नेपाली फुटबलको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सहयोगीका रुपमा देखिएको छ । नेपालको शहीद स्मारक ए डिभिजन लिगमा कतार एयरवेजले पछिल्लो तीन वर्षदेखि मुख्य प्रायोजन गरिरहेको छ । प्रशिक्षकदेखि र चोटग्रस्त खेलाडीको उपाचारमा पनि सहयोग गरिरहेको छ । एसियाली फुटबलमा आफ्नो प्रभाव कायम गर्ने कतारी रणनीतिकै एक हिस्साका रुपमा उसको सहयोगलाई बुझ्न सकिन्छ ।

नेपाली टोलीको जिम्मेवारी सम्हालेपछि नेपालले प्रतियोगिता र मैत्रीपूर्ण गरी २० खेल खेलेको छ । आधिकारिक प्रतियोगितातर्फ विश्वकप छनोटमा ३, एसियन कप छनोटमा ३ र साफ च्याम्पियनसिपमा ५ खेल खेलेको छ । साफ च्याम्पियनसिपको फाइनलमा पुग्नु नेपालको अहिलेसम्मकै ठूलो नतिजा हो ।

इराकसँग मैत्रीपूर्ण खेलमार्फत आफ्नो कार्यकाल सुरुवात गरेका अल्मुताइरीले यसबीचमा ९ वटा मैत्रीपूर्ण खेल खेलाएका छन् । ‘राष्ट्रिय टिमको विकास र एक्स्पोजरका लागि अल्मुताइरीले एन्फाको सहयोग लिएर वा आफ्नै पहलमा भए पनि धेरै प्रयास गरेका छन् । यो उनको सकारात्मक क्षमता थियो,’ फुटबल विश्लेषक सञ्जीव मिश्र भन्छन् ।

अल्मुताइरी राष्ट्रिय टिममा सबैभन्दा धेरै खेलाडी डेब्यू गराउने प्रशिक्षक पनि बनेका छन् । १३ महिनाको बीचमा उनले १५ जना खेलाडीलाई डेब्यू गराएका छन् । यो संख्या बालगोपालले आफ्नो कार्यकालमा डेब्यू गराएका खेलाडीको भन्दा दुई बढी हो ।

अल्मुताइरीले डेब्यू गराएका खेलाडी : गौतम श्रेष्ठ, मनिष डाँगी, कमल थापा, सुरज ज्यू ठकुरी, आयुश घलान, नितिन थापा, विशाल श्रेष्ठ, राजन गुरुङ, सुदीप गुरुङ, आकाश बुडामगर, प्रशान्त अवस्थी, विकास तामाङ, दीप कार्की, शिव गुरुङ र निरकुमार राई ।

विवादका पर्याय अल्मुताइरी : टाइमलाइन

२०७७ चैत २२ गते प्रशिक्षकका रुपमा नियुक्त

२०७८ साउन ८ सार्वजनिक स्थलमा धुमपान गरेको भन्दै प्रश्न गर्दा पत्रकारमाथि दुब्र्यवहारको आरोप

२०७८ साउन १० फेसबुकमार्फत एन्फाका वरिष्ठ अध्यक्ष पंकज विक्रम नेम्वाङका कारण पदबाट राजिनामा दिने घोषणा (तर दिएनन्) । तीन सातादेखि नेम्वाङले आफूविरुद्ध विभिन्न नाटक गरिरहेको उनको आरोप थियो ।

२०७८ साउन १५ एन्फा कार्यकारिणी बैठकद्वार खेलकुद मन्त्रालयलाई छानबिन गर्न बोलाउने निर्णय

२०७८ भदौ ९ मन्त्रालयले बनाएको छानबिन समितिबाट आपसी समन्वयमा विवाद समाधान गर्न आग्रहसहितको निष्कर्ष

२०७८ असोज ३० साफ च्याम्पियनसिप अन्तर्गत भारतविरुद्धको खेल नै नेपालका लागि आफ्नो अन्तिम खेल हुने अप्रत्यासित घोषणा

२०७८ कात्तिक : एन्फा र कतार एफएको समन्वयमा पुनः नेपाल आउन राजी । पहिलो एक वर्ष नसकिँदै सन् २०२४ सम्म प्रशिक्षक बन्न तयार

२०७९ वैशाखः एएफसी एसियन कप छनोटको तयारी सुरु भएकै दिन आफ्नो टिम एसियन कपमा छनोट नहुने ठोकुवा

२०७९ वैशाख १२ : राष्ट्रिय टोलीका सिनियर १० खेलाडीलाई क्याम्प छाडेर जान दवाव । दुई दिनपछि पत्रकार सम्मेलन गरी खेलाडीले प्रशिक्षककै कारण क्याम्प छाड्न बाध्य भएको बताएका थिए ।

२०७९ वैशाख १६ : खेलाडीले गल्ती गरेको भए पनि कुनै कारबाही नगर्न एन्फालाई आग्रह । एसियन कपका लागि टिममा समावेश नगर्ने निर्णय

२०७९ वैशाख २५ : विवाद समाधानका लागि तीन सदस्यीय समिति गठन

२०७९ जेठ ६ : प्रमुख प्रशिक्षकको विकल्प खोज्नुपर्ने छानबिन समितिको निष्कर्ष

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
कुशल तिमल्सिना

तिमल्सिना अनलाइनखबरका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?