+
+

भारतको दबदबा तोडिएको साफ महिला च्याम्पियनसिप

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ असोज ३ गते १६:०६

३ असोज काठमाडौँ । डिफेण्डिङ च्याम्पियनसहित ५ पटकको विजेता भारत उपाधि रक्षा गर्ने लक्ष्यसहित छैटौं संस्करणको साफ महिला च्याम्पियनसिप खेल्न नेपाल आएको थियो । तर भारत फाइनलमै पुग्न सकेन ।

अहिलेसम्म भएका सबै ५ वटा संस्करणके उपाधि जितेको भारतको दबदबा छैटौं संस्करणमा तोडियो ।

पाँच पटक साफ च्याम्पियनसिप उपाधि र तीन पटक दक्षिण एसियाली खेलकुद (साग)को फुटबलमा स्वर्ण जितेको भारतले यो पटक अहिलेसम्मकै कमजोर प्रदर्शन गर्‍यो ।

भारतलाई हराएको नेपाल र बंगलादेश नै यस पटक फाइनलमा प्रवेश गरेका छन् । दशरथ रंगशालमा हुने नेपाल र बंगलादेशबीचको फाइनल जसले जिते पनि इतिहास बनाउनेछन् र साफ महिला च्याम्पियनसिपले पनि नयाँ विजेता पाउनेछ ।

फिफा निलम्बन र तयारी

भारतीय फुटबल महासंघलाई अघिल्लो महिना (अगष्ट १६) मात्र तेस्रो पक्षको हस्तक्षेप भन्दै निलम्बन गरेको थियो । जसले गर्दा साफ महिला च्याम्पियनसिपमा भारतको सहभागिता नै अन्योलमा थियो ।

दुई सातापछि नै फिफाले निलम्बन हटायो । निलम्बन हटाएको दुई दिनपछि मात्र अगष्ट २८ मा प्रशिक्षक सुरेन क्षेत्रीले २६ जना प्रारम्भिक खेलाडीको सूची सार्वजनिक गरेका थिए । भारतीय टिमका लागि पुणेमा अगष्ट २९ देखि सेप्टेम्बर २ सम्म तयारी क्याप राखिएको थियो ।

भारत जम्मा पाँच दिनको तयारी गरेर च्याम्पियनसिप खेल्न नेपाल आएको थियो ।

हुनत भारतले साफकै तयारीका लागि गत स्वीडेनमा स्वीडेन र अमेरिकाको यू-२३ टिमसँग खेलेको थियो । भारतले ब्राजिलको राष्ट्रिय टिम विरुद्ध पनि खेलेको थियो ।

च्याम्पियनसिप आउन एक महिना भन्दा कम समय बाँकी रहँदा फिफा निलम्बनको मानसिक असर टिममा परेको थियो । प्रतियोगिता सुरु हुनुअघिको प्रि म्याच कन्फ्रेन्समा भारतीय प्रशिक्षक सुरेन कुमार क्षेत्रीले प्रतियोगिता खेल्न पाउनु मुख्य कुरा रहेको बताएका थिए । ‘हामी जस्तो अवस्थामा भए पनि यहाँ खेल्न आएका छौँ त्यो महत्वपूर्ण कुरा हो । तयारी राम्रो भएको छ ।’

कप्तान अशलता देवीले निलम्बनको पीडालाई भुलेर अघि बढ्न चाहने बताएकी थिइन् । ‘हामीसँग थोरै समय थियो । तर हामी खेलमा केन्द्रित छौँ । हामी लामो समयदेखि यसका लागि पर्खिरहेका छौँ र यो महत्वपूर्ण टुर्नामेन्ट हो’, अशलतादेवीले भनेकी थिइन् ।

एकै संस्करणमा दुई हार

प्रतियोगिताअघि प्रिम्याच कन्फ्रेन्समा भारतीय प्रशिक्षक सुरेन क्षेत्रीले प्रतियोगिता जित्न सजिलो हुने तर त्यसलाई निरन्तरता दिन गाह्रो हुने बताएका थिए । क्षेत्रीले पहिलो पटक भारतको सिनियर महिला टिम हेरेका हुन् । ‘च्याम्पियन जित्न सधैं सजिलो हुन्छ तर जितको यात्रालाई निरन्तरा दिन चुनौती छ र हामीले त्यसलाई पार लगाउनु आवश्यक छ’, क्षेत्रीले भनेका थिए ।

क्षेत्रीले भनेजस्तै भारतलाई यस पटक चुनौती थियो नै । केही मुख्य खेलाडी नहुनु र फिफा निलम्बनपछिको छोटो तयारीले उपाधि रक्षा गर्नु चुनौती थियो ।

समूह चरणमा बंगलादेशसँग अप्रत्यासित रुपमा भारत ३-० ले पराजित भयो । समूह विजेताको लागि निर्णायक मानिएको उक्त खेलमा बंगलादेशले भारतमाथि सुरुवातदेखि नै दबाब बनाउँदै छिटो गोल गर्‍यो । त्यसैलाई कायम राख्दै बंगलादेशले भारत विरुद्ध ऐतिहासिक जित हात पार्‍यो । साफ च्याम्पियनसिपमा भारतलाई हराउने नै बंगलादेश पहिलो टिम बन्यो । यसअघि सन् २०१६ मा भारतलाई बंगलादेशले नै बराबरीमा रोकेको थियो ।

नेपाल र भारतबीचको खेल ।

समूह चरणमा पाकिस्तान र माल्दिभ्सलाई सहजै हराए पनि बंगलादेशसँग अन्तिम खेलमा पराजित भएपछि भारत समूह एको उपविजेता बन्यो । जसले गर्दा सेमिफाइनलमा समूह बीको विजेता तथा घरेलु टिम नेपाल विरुद्ध भारतको भेट भयो ।

नेपालले पनि साफ महिला फुटबलमा अहिलेसम्म भारतलाई हराउन सकेको थिएन ।

तर घरेलु मैदान र समर्थकको अगाढि रश्मिकुमारी घिसिङको एक मात्र गोल मद्दतमा नेपालले भारतलाई १-० ले पराजित गर्‍यो ।

यो जित नेपालको लागि ऐतिहासिक बन्दा भारतका लागि घर फर्काउने हार बन्यो ।

टोली राम्रो थिएन

नेपाल विरुद्धको हारपछि भारतीय प्रशिक्षक क्षेत्रीले आफ्नो टिमले राम्रो खेले पनि हार बेहोर्नुपरेको प्रतिक्रिया दिए । ‘धेरै राम्रो खेल्यौँ तर हार्‍यौँ । हामी यस हारलाई स्वीकार गर्छौ । सफलता मेहेनतले आउने हो । तपाईहरु सबैलाई थाहा छ हाम्रो तयारी कस्तो थियो भनेर ।’

नेपालसँग पराजित भएको भोलिपल्ट भारतीय टिमकी गोलकिपर तथा मुख्य खेलाडी अदिती चौहानले फेसबुकमा स्ट्याटस लेख्दै अझै हार स्वीकार्न नसकेको र आफूले आफ्नो करियरमै महसुस गरेको सबैभन्दा कमजोर समय रहेको बताएकी थिइन् । ‘तर यो झटकाले हामीलाई अझ बलियो बन्न संकेत दिएको छ । यसले पक्कै पनि हामीलाई खेलाडी र टोलीको रूपमा र व्यक्तिगत रूपमा आफूलाई पुन: मूल्याङ्कन गर्न बाध्य पार्नेछ । कठोर वास्तविकता यो हो कि हामी यस पटक राम्रो थिएनौं र उत्कृष्ट टोलीले जित्यो ।’

उनले च्याम्पियन जितले नभई लडेपछि कसरी फेरि फर्कने भन्नेमा भर पर्ने बताएकी छन् ।

भारतको दुई हारले अब दक्षिण एशियामा भारतलाई चुनौती दिने अरु टिम पनि थपिएको प्रमाणित भएको छ ।

साफ महिला फुटबलमा अब कुनै पनि टिम अपराजित रहेको छैन । बंगलादेशसँग हारपछि साफ महिला च्याम्पियनसिपमा भारतको २५ खेलको अपराजित यात्रा समेत टुङ्गिएको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?