+

टेष्ट ‘सपना’ पछ्याइरहेका शक्ति

२०८० असार  ५ गते ९:२७ २०८० असार ५ गते ९:२७

शक्तिको सपना हो, नेपालले टेष्ट खेलेको हेर्ने । उनी भन्छन्, ‘नेपालले टेष्ट मान्यता पाएर टेष्ट खेलेको दिन मेरो लागि मैले खेलेको विश्वकपभन्दा पनि खास हुनेछ ।’

टेष्ट ‘सपना’ पछ्याइरहेका शक्ति

५ असार, काठमाडौं । शान्त स्वभाव र हँसिलो मुस्कान । झण्डै १९ वर्षको सिनियर करिअरमा नेपालीको मुहारमा यस्तै मुस्कान ल्याउन भूमिका खेलेका शक्ति गौचनले बाउण्ड्रीबाट बिदा भएको पनि पाँच वर्ष भयो ।

२०७५ साउनमा नेदरल्याण्ड्ससँग भएको ऐतिहासिक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेसँगै उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए । त्यही वर्ष मंसिरमा भएको एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेलेर घरेलु क्रिकेटबाट पनि बिदा भए ।

नेपाल क्रिकेटले दुई दशकमा मारेको फड्कोमा हिस्सा बनेका शक्तिको करिअर उँचो छ ।

२००१ देखि यू–१७ बाट क्रिकेट खेल्न सुरु गरेका उनी २००२ मा न्युजिल्यान्डमा भएको यू–१९ विश्वकपको हिस्सा थिए । सोही वर्ष सिंगापुरमा भएको एसीसी ट्रफी मार्फत राष्ट्रिय सिनियर टिममा डेब्यु गरेका शक्तिको विश्वकप खेल्ने सपना २०१४ मा पूरा भयो । उनी सम्मिलित नेपाली टोलीले २०१४ मा पहिलो पटक टी–२० विश्वकप खेलेको थियो ।

नेपालले २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउँदा नेपाली टोलीमै रहेका शक्ति चाहन्थे, ‘आफ्नै क्रिकेटको करिअरमा नेपाल टेष्ट राष्ट्र बनोस् ।’

तर यो सहज पनि थिएन, त्यसैले सम्भव भएन ।

‘नेपालले टेष्ट खेलेको हेर्न मन छ’

खेल जीवनबाट सन्यास लिए पनि शक्तिले टेष्ट सपना भुलेका छैनन् । बरु आफ्नै क्रिकेटको करिअरमा पूरा हुन नसकेको सपना जीवनकालमा पूरा गर्न लागिपरेका छन् ।

शक्तिले आफू क्रिकेट खेलिरहेकै बेला न्यू होराइजन स्कुल, बुटवलमा क्रिकेट प्रशिक्षण दिन थालेका थिए । झण्डै २० वर्षदेखि होराइजन स्कुलमा आवद्ध शक्ति राष्ट्रिय टिमबाट बचेको समयमा विद्यार्थीलाई क्रिकेट सिकाउने गरेका थिए ।

आम्दानीको स्रोत नहुँदा स्कुलले क्रिकेट प्रशिक्षकको रूपमा दिएको सुविधा नै आफू नेपालमै रहिरहनुको कारण भएको शक्ति स्मरण गर्छन् । ‘स्कुलले प्रशिक्षक नबनाएको भए मपनि विदेश वा अन्त कतै अरू काम गरिरहेको हुन्थें होला ।’ त्यो समयमा क्रिकेट गतिविधि पनि नियमित थिएन ।

खेल जीवनको उत्तरार्द्धमा उनले क्रिकेट एकेडेमीको खाका कोरे । टेष्ट खेल्ने सपना पूरा गर्न यू–१० देखि प्रशिक्षण गराउनुपर्छ भन्ने बुझेका शक्तिले रूपन्देहीको ओमसतिया गाउँपालिका–२ स्थित आफ्नै घर परिसरमा स्टार क्रिकेट एकेडेमी सञ्चालन गरेका छन् । घरको पहिलो तलामा खेलाडीका लागि होस्टल बनाएका छन् भने घर पछाडि नेटको सुविधासहित एकेडेमी चलाएका छन् ।

१० वर्षभन्दा माथिका ५० जना स्कुले विद्यार्थी आफ्नो समय निकालेर शक्तिसँग प्रशिक्षण लिन आउँछन् । ३ कट्ठा जग्गामा फैलिएको स्टार एकेडेमीमा २५ जना विद्यार्थीले निःशुल्क क्रिकेट सिक्छन् । आर्थिक अवस्था कमजोर भएका, तर क्षमतावान बालक पहिचान गर्न शक्तिलाई कुनै परीक्षा लिनुपर्दैन किनभने उनले जीवनमा कमाएको नै त्यही अनुभव हो । शान्त र हँसिलो मुस्कान सहित हरेक विकेटको उत्सवमा झुम्ने कला सिकिरहेका छन् ।

एकेडेमीमा प्रशिक्षणरत १७ वर्षीय अस्मान थारूको पारिवारिक अवस्था राम्रो छैन । शक्तिको हेरचाहमा हुर्किएका उनले अहिलेसम्म करिअर अगाडि बढाउन कुनै व्यवधान भोग्नु परेको छैन । आक्रामक ब्याटिङ मन पराउने ओमसतिया–३ का अस्मानले थपे, ‘सरले फी (मासिक शुल्क) लिनुहुन्न, ब्याट पनि आफैं दिनुहुन्छ । मलाई कहिल्यै अप्ठेरो परेन ।’ जिल्लास्तरको उमेर समूहबाट खेलिसकेका विकेटकिपर ब्याटर अस्मानको राष्ट्रिय टिमबाट खेल्ने सपना छ ।

अस्मान जस्तै राहुल भण्डारी पनि चार वर्षदेखि स्टार क्रिकेट एकेडेमीमा प्रशिक्षणरत छन् । ‘कुशल, सुशान दाइहरूलाई राष्ट्रिय टिममा देख्दा उहाँहरू जस्तै बन्ने प्रेरणा पाइन्छ’ न्यू होराइजनबाट हालै एसईई सकेका राहुल भन्छन् ।

खेलाडीलाई वर्षा र हिउँदको चिसोमा प्रशिक्षण नरोकियोस् भनेर एउटा इण्डोर हल बनाएका छन् । ‘इन्डोर हल नभएको भए कुशललाई पनि यो स्तरको प्रशिक्षण दिन पाउँदिनथें, अहिले नतिजा आउँदा खुसी लाग्छ’ उनले भने । चार महिनाअघि सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग टूमा तहल्का मच्चाएका कुशल अहिले एकदिवसीय विश्वकप छनोटका लागि जिम्बाव्वेमा छन् ।

स्पिनर सुशान भारी श्रेष्ठ पनि घरेलु क्रिकेटमा स्थापित भइसकेका छन् भने लुम्बिनी प्रदेशका उमेर समूह र सिनियर टिममा पनि उनकै चेलाहरू हावी हुन थालेका छन् ।

सबथोक छाडेर खेलाडी उत्पादनमा लागेका उनलाई साथ दिन आइपुगेका छन्, अष्ट्रेलियाको सिड्नी र नेपालमा टेक्नोलोजी कम्पनी सञ्चालन गरिरहेका विनोद कुँवर र उनकी पत्नी सुदीक्षा गौतम । निजी लगानीमा तिलोत्तमा–१७ मा बनाइने ‘एस्ट्रोटेक ओभल’ नामक क्रिकेट रंगशालाको शिलान्यास गरेका उनीहरूले १०० जना आवासीय खेलाडीलाई आवासीय सुविधासहित एकेडेमी सञ्चालन गर्ने जिम्मेवारी शक्ति गौचनलाई दिने घोषणा गरेका छन् । शक्ति भन्छन्, ‘त्यो मैदान मेरो सपना पूरा गर्न धेरै ठूलो माध्यम बन्नेछ ।’

उनको सपना हो, नेपालले टेष्ट खेलेको हेर्ने । शक्ति भन्छन्, ‘नेपालले टेष्ट मान्यता पाएर टेष्ट खेलेको दिन मेरो लागि मैले खेलेको विश्वकपभन्दा पनि खास हुनेछ ।’

क्रिकेट शक्ति गौचन
लेखक
नमिता दाहाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय