+

यसकारण बनायौं ‘चालीस मुनिका चालीस–२०८३’ को सूची

भनिन्छ, अनुभवभन्दा सपनामा बढी विश्वास गर्नेहरू युवा हुन्। शायद त्यसैले पनि हरेक ठूला परिवर्तनको अग्रपंक्तिमा युवा नै देखिन्छन्।

भिक्टर ह्युगोको एउटा चर्चित भनाइ छ- ‘४० वर्ष युवावस्थाको बुढेसकाल हो, ५० वर्ष बुढ्यौलीको यौवन।’

तर अनलाइनखबरको ‘४० मुनिका ४०’ उमेरको अंकगणित मात्र होइन। यो नेपाली युवाका सपना, संघर्ष, सिर्जना र सम्भावनाको अभिलेख हो। सपना देख्ने साहस गर्ने, कठिनाइसँग जुध्ने र आफ्नो काम मार्फत समाजमा अर्थपूर्ण प्रभाव छाडिरहेका युवाहरूलाई खोज्ने हाम्रो प्रयास हो।

हाम्रो वरिपरि यस्ता धेरै युवा छन्, जो चुपचाप आफ्नो क्षेत्रमा परिवर्तनको काम गरिरहेका छन्। कतिपय स्थापित सार्वजनिक वृत्तमा देखिन्छन्, कतिपय अझै मूलधारको नजरभन्दा बाहिर छन्।

उनीहरूको यात्रा फरक छ- राजनीति, साहित्य, उद्यम, खेलकुद, विज्ञान–प्रविधि, कला, शिक्षा, स्वास्थ्य, सामाजिक सेवा आदि-आदि, तर एउटै साझा विशेषता छ- आफ्नो समय र परिवेशसँग प्रश्न गर्दै केही नयाँ बनाउने हुटहुटी।

उनीहरूले हासिल गरेको सफलता न सहजै प्राप्त भएको हो, न संयोगले मात्र जुरेको। त्यसका पछाडि असफलता, अनिश्चितता, आर्थिक-सामाजिक सीमाहरू छन् र पटक-पटकका असफलता पन्छाउँदै काम सुचारु गर्नुपरेका कथाहरू पनि।

त्यसैले हामी उनीहरूको सफलताको चमक मात्र होइन, त्यो सफलतासम्म पुग्दाको बाटो पनि देखाउन चाहन्छौं।

युवाको सामाजिक, राजनीतिक र आर्थिक भूमिका बलियो बनाउनुपर्ने चुनौती उत्तिकै ठूलो छ। अवसरको अभाव, बेरोजगारी, असमान पहुँच, कमजोर पूर्वाधार र भविष्यप्रतिको अनिश्चितता बीच नेपाली युवाले पार गर्नुपर्ने थुप्रै अवरोध छन्।

तर यही चित्रको अर्को पाटो पनि छ।

अलि गहिरिएर खोज्दा देशभित्र र बाहिर हजारौं नेपाली युवा आफ्नो क्षेत्रमा असाधारण काम गरिरहेका भेटिन्छन्। कोही उद्यम मार्फत रोजगारी सिर्जना गरिरहेका छन्। कोही अनुसन्धान र प्रविधिमा नयाँ ढोका खोलिरहेका छन्। कोही गाउँमै बसेर स्थानीय समस्याको समाधान खोजिरहेका छन्। कोही खेलकुदमा देशको प्रतिनिधित्व गरिरहेका छन्। कोही कला, साहित्य र संस्कृति मार्फत नयाँ दृष्टिकोण निर्माण गरिरहेका छन्।

कोही स्टार्टअप मार्फत पुरानो अभ्यास बदलिरहेका छन्, कोही आवाज कम सुनिएका समुदायका प्रश्नलाई सार्वजनिक बहसमा ल्याइरहेका छन्। कोही सीमित स्रोतबाट शुरु गरेर अन्तर्राष्ट्रिय सञ्जालसम्म पुगेका छन्, कोही वर्षौंदेखि चुपचाप एउटा संस्थालाई, एउटा समुदायलाई वा एउटा क्षेत्रमा परिवर्तन ल्याइरहेका छन्।

‘४० मुनिका ४०’ मा हामीले यस्तै विविध यात्राको प्रतिनिधित्व खोजेका हौं।

हामीले उपलब्धि मात्र हेरेका छैनौं। उपलब्धिसम्म पुग्दाको निरन्तरता, त्यसले समाजमा पारेको प्रभाव, नयाँ सम्भावना खोल्ने क्षमता र अरूका लागि निर्माण गरेको बाटोलाई पनि महत्त्व दिएका छौं।

त्यसैले यो सूची ‘सबैभन्दा सफल ४० युवा’ को दाबी होइन। न त यसले नेपालका सम्भावनाशील युवालाई ४० नाममा सीमित गर्न सक्छ।

बरु यी ४० अनुहार बदलिंदो नेपाली युवा पुस्ताका प्रतिनिधि कथा हुन्।

कसैले व्यवसायमा नयाँ अभ्यास स्थापित गरिरहेका छन्। कसैले स्थापित सोचलाई चुनौती दिएका छन्। कसैले कुनै क्षेत्रमा नेतृत्वको नयाँ स्वरूप प्रस्तुत गरेका छन्। कसैले धेरैको नजर नपुगेको ठाउँमा चुपचाप परिणाम निकालिरहेका छन्।

यिनै सपना, संघर्ष, निरन्तरता र प्रभावलाई विधागत रूपमा अभिलेखीकरण गर्ने प्रयास हो– अनलाइनखबर ४० मुनिका ४०।

यस्ता अभ्यास विश्वका विभिन्न सञ्चारमाध्यम र संस्थाहरूले पनि गर्दै आएका छन्। हामीले त्यसैको राम्रो अभ्यासबाट सिक्दै नेपाली समाज, भूगोल, विविधता र हाम्रो आफ्नै सम्पादकीय दृष्टिकोण अनुसार यसलाई अगाडि बढाएका छौं।

हामी यसलाई हरेक वर्ष निरन्तरता दिइरहेका छौं। सूची थप विविध, समावेशी र विश्वसनीय बनाउँदै लैजान पाठकका सुझाव, आलोचना र प्रतिक्रियाले हामीलाई अझ सजग बनाउनेछन्।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा हाम्रो आग्रह यत्ति हो-

आउनुहोस्, परिवर्तनका लागि काम गरिरहेका युवाहरूलाई चिनौं। उनीहरूको यात्राबाट सिकौं। उनीहरूलाई स्याबासी दिऔं। र, आफूभित्र रहेको प्रश्न गर्ने, सपना देख्ने र केही बदल्ने युवा चेतनालाई पनि फेरि जगाऔं।

स्टोरिज

ट्रेन्डिङ

सम्बन्धित