शुक्रबार अदालतमा उपस्थित गराइँदा अर्यालले मास्कले मुख छोपेका थिए। तर भेटिएको फाइलले उनको रहस्य खोलिदिएको छ- श्रमिकबाट गैरकानुनी रूपमा सङ्कलन गरिएको रकम मलेसिया पठाउन मन्त्रीको नाममा गरिएको निर्णयमा तत्कालीन श्रमसचिव एकनारायण अर्याल आफैँले हस्ताक्षर गरेका थिए।
१३ मंसिर, काठमाडौं । मलेसिया जाने श्रमिकबाट गैरकानुनी रूपमा उठाइएको रकम विदेश पठाउने निर्णयका जुन फाइल ‘भेटिएन’ भनेर अनुसन्धान नै बरालिन थालेको थियो, त्यो फाइल र त्यसका महत्त्वपूर्ण पत्रमा हस्ताक्षर गर्ने व्यक्ति दुवै भेटिएपछि अनुसन्धानले नयाँ गति लिएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले २ मङ्सिरमा पूर्वमन्त्रीहरू रामेश्वर राय यादव र शेरबहादुर कुँवर तथा सरकारी अधिकारीहरू विनोद केसी, राजीव पोखरेल र निर्मला गुरुङलाई पक्राउ गरेको थियो। तर श्रमिक ठगीको केन्द्रमा रहेका पूर्वसचिव एकनारायण अर्याललाई भने प्रहरीले भेटेन। पूर्वमुख्यसचिवसमेत रहेका अर्यालको राज्य संयन्त्रमा पहुँच नहुने कुरै भएन, सायद उनले समयमै सूचना पाएका थिए।
उनी अघिल्लो दिन नै अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध एयरको जहाज चढेर कोलकाता पुगिसकेका थिए।
तर उतैबाट पक्राउ गरी उनलाई बिहीबार नेपाल ल्याइएको छ भने श्रम मन्त्रालयले पनि ‘हराएको’ फाइल भेटिएको भन्दै सीआईबीलाई हस्तान्तरण गरेको छ। मन्त्रालयबाटै गायब भएको फाइल खोज्न श्रम तथा रोजगारमन्त्री रामजी यादवले २ मङ्सिरमै उपसचिव उपेन्द्र पौडेलको नेतृत्वमा कार्यदल गठन गरेका थिए। मन्त्रालयका विभिन्न शाखामा रहेका अभिलेख र कागजात खोजबिन गरेपछि कार्यदलले सक्कल फाइल फेला पारी मन्त्री र सचिवलाई बुझाएको हो।
शुक्रबार अदालतमा उपस्थित गराइँदा अर्यालले मास्कले मुख छोपेका थिए। तर भेटिएको फाइलले उनको रहस्य खोलिदिएको छ- श्रमिकबाट गैरकानुनी रूपमा सङ्कलन गरिएको रकम मलेसिया पठाउन मन्त्रीको नाममा गरिएका कतिपय निर्णय तत्कालीन श्रमसचिव एकनारायण अर्याल आफैँले गरेका थिए। ठगी र सङ्गठित अपराधको कसुरमा उनलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ।
सीआईबीका अनुसार फेला परेका कागजातले अर्याललाई मलेसिया जाने साढे सात लाखभन्दा बढी श्रमिक ठगिएको प्रकरणको केन्द्रमा रहेको देखाउँछ। उनले मेडिकल व्यवसायी कैलाश खड्कासँग मिलेर श्रमिकबाट करिब साढे २ अर्ब रुपैयाँअवैध असुली चलाएको र त्यसका लागि आफूले रोजेका सहसचिव र उपसचिवलाई मन्त्रालयमा ल्याएको आरोप छ। बदलामा अर्यालले खड्काबाट नगद, गाडी तथा विदेश भ्रमणको प्याकेजसमेत पाएको बयान उनकै सहकर्मीहरूले दिएको सीआईबीका अधिकारीहरूको दाबी छ।
फाइल किन ‘हरायो’ ?
सीआईबीले असोज २९ मा कैलाश खड्कासहित चारजनालाई पक्राउ गरेपछि अनुसन्धान मन्त्रालयतिर मोडिएको थियो। पूर्वश्रममन्त्रीहरू यादव र कुँवरको पालामा मन्त्रीस्तरीय निर्णयबाट रकम मलेसिया गएको भन्दै सीआईबीले ती निर्णयका कागजात श्रम मन्त्रालयसँग मागेको थियो। तर मन्त्रालयले फाइल नै नभेटिएको जवाफ दियो।
खासमा फाइल मात्र होइन, अर्याल पनि गायब भए। ‘हामीले केही कागजात मन्त्रालयसँग माग गरेका थियौँ। त्यसलगत्तै अर्याल फरार भएको देखिन्छ,’ सीआईबीका एक अनुसन्धान अधिकृत भन्छन्।
फाइल हराउनुमा कसको हात थियो भन्ने अनुसन्धान जारी छ। तर छानबिन सुरु भएपछि अर्यालकै पालामा श्रम मन्त्रालयमा आएकी उपसचिव निर्मला गुरुङले फाइल दबाउन भूमिका खेलेको सीआईबीको दाबी छ। उपसचिव गुरुङ र सहसचिव राजीव पोखरेल दुवै अहिले हिरासतमा छन्।
मन्त्रालयबाट फाइल हराएको पनि यो पहिलोपटक होइन। यसअघि मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणमा कैलाश खड्काको समूहले नै शोषण गरेको भन्ने उजुरीपछि एउटा अनुगमन भएको थियो। उपसचिव पौडेलकै नेतृत्वको कार्यदलले ३६ मेडिकल संस्थाको निरीक्षण गरी तयार पारेको प्रतिवेदन र सम्बन्धित फाइल पनि मन्त्रालयबाट गायब भएको थियो।
सो प्रतिवेदनले ठगी, सङ्गठित अपराध, विदेशी मुद्रा अपचलन र सम्पत्ति शुद्धीकरणमा थप अनुसन्धान गर्न सिफारिस गरेको थियो। बारम्बार पत्राचार गर्दा पनि त्यसको सक्कल प्रति पाउन नसकेको सीआईबीले जनाएको थियो।
अहिले भेटिएको फाइलभित्र के छ ?
मन्त्रालयमा भेटिएको फाइलले श्रमिकबाट गैरकानुनी रूपमा सङ्कलन गरिएको रकम विदेश पठाउने स्वीकृति कसरी दिइयो भन्ने चरणबद्ध रूपमा देखाउँछ।
पहिलो चरण, २०७९ भदौ १६
कानुन अधिकृत अमृता देवकोटाले ‘टिप्पणी र आदेश’ शीर्षकमा यस्तो टिप्पणी उठाइन्-
‘उपरोक्त सम्बन्धमा मलेसिया रोजगारीको लागि जाने कामदारहरूको बायोमेडिकल परीक्षण गरेबापत मलेसिया सरकारले तोकेको बमोजिमको बायोमेडिकल सिस्टम चार्ज मलेसियन सरकारबाट अनुमतिप्राप्त कम्पनी बेस्टिनेटलाई बायोमेडिकल सिस्टम चार्ज नेपाल सरकारको नियमअनुसार लाग्ने करकट्टी गरी उक्त रकम बेस्टिनेटलाई भुक्तानी गर्न सटही सुविधाको लागि विदेशी मुद्रा अपचलन, कर र सम्पत्ति शुद्धीकरणको विषय उठान भएको अवस्थामा सम्बन्धित संस्था म्याक्रोटेक स्वयं जिम्मेवार हुने भन्ने सर्तसहित नेपाल राष्ट्र बैंकलाई सिफारिस गरी उपयुक्त हुने देखि निर्णयार्थ पेस गर्दछु।’
यो टिप्पणीमै एउटा ठूलो स्वीकारोक्ति छ। यो कारोबारमा विदेशी मुद्रा अपचलन, कर र सम्पत्ति शुद्धीकरणको प्रश्न उठ्न सक्छ भन्ने मन्त्रालय आफैँलाई थाहा थियो। तर त्यस विषयमा थप अनुसन्धान नगरी गैरकानुनी भएमा म्याक्रोटेक आफैँ जिम्मेवार हुने सर्त राखेर राष्ट्र बैंकलाई सिफारिस गर्न टिप्पणी उठाइयो।
दोस्रो चरण, भदौ १९
सहसचिव राजीव पोखरेलले फाइल सचिवसमक्ष पेस गरे-
‘श्रीमान् सचिवज्यू, उपरोक्तबमोजिम वैदेशिक रोजगारीमा मलेसिया जाने श्रमिकहरूको बायोमेडिकल सिस्टम चार्जको रकम नेपाल सरकारको प्रचलित नियमअनुसार लाग्ने करकट्टा गरी भुक्तानी गर्न सटही सुविधाका निम्ति नेपाल राष्ट्र बैंक सिफारिस गर्ने निर्णयार्थ पेस गरेको छु।’
तेस्रो चरण, सोही दिन। सचिव अर्यालले हस्ताक्षर धस्काएर निर्णय गरे। त्यसकै आधारमा राष्ट्र बैंकलाई पत्राचार गर्दा भने ‘मन्त्रीस्तरीय’ निर्णय भनेर लेखियो, जबकि उपलब्ध फाइल तत्कालीन मन्त्री कुँवरसम्म पुगेको अभिलेख छैन।
चौथो चरण, भदौ २३। सचिवले निर्णय गरिसकेको चार दिनपछि मात्र कानुन उपसचिव निर्मला गुरुङले फाइलमा हस्ताक्षर गरिन्। मन्त्रालयका निर्णय कानुन महाशाखाको रायपछि मात्र निर्णयार्थ प्रस्तुत हुन्छन्। तर यस प्रकरणमा भने कानुन शाखाको रायका आधारमा निर्णय भएको होइन, निर्णयका आधारमा राय मिलाइएको हो।
त्यति मात्र होइन, सचिव अर्यालले थिति मिचेर गरेको त्यही निर्णयलाई कानुन नै मानेर त्यसपछि पनि पटक–पटक पैसा मलेसिया पठाइएको भेटिएको छ। ‘१९ भदौ २०७९ को निर्णयका आधारमा भन्दै अर्यालको पालामा पटक–पटक रकम गएको देखिन्छ। तर पत्रमा भने मन्त्रीस्तरीय निर्णय भनेर लेख्ने गरेको भेटिएको छ, यो सबै प्रकरणको केन्द्रमा अर्याल देखिन्छन्,’ अनुसन्धान अधिकृत भन्छन्।
फाइलले अर्को गम्भीर कुरा पनि खोलेको छ। श्रमिकको सङ्ख्या तोकेर गरिएको निर्णय एकपटकका लागि मात्र हुन्थ्यो। अर्कोपटक श्रमिकको सङ्ख्या स्वतः फरक हुने भएकाले सोही निर्णय फेरि प्रयोग गर्नै मिल्दैनथ्यो। तर ‘पहिलाकै निर्णयअनुसार’ भन्दै एउटै निर्णयबाट पटक–पटक रकम बाहिर पठाइएको थियो। समग्रमा पाँच वर्षसम्म ७ लाख ५० हजार ९८८ श्रमिकबाट दुई अर्ब ३७ करोड रुपैयाँ उठाएर एक अर्ब ६९ करोड रुपैयाँ मलेसिया पठाइएको थियो।
फाइल भेटिएपछि कुँवरलाई राहतको सम्भावना
फाइल फेला परेपछि सबैभन्दा ठूलो राहत पूर्वमन्त्री कुँवरलाई हुने सम्भावना छ। उनको पालामा गएको रकमको निर्णय उनले नभई सिधै सचिवले गरेको देखिएपछि सीआईबीले उनलाई बयान लिएर छाड्ने तयारी गरेको अनुसन्धान अधिकृतहरूले जानकारी दिए।
अर्याल २०७८ मङ्सिर १५ देखि २०८० जेठ २९ सम्म सचिवको भूमिकामा थिए। यस अवधिमा मन्त्रीको भूमिकामा कृष्णकुमार (किसन) श्रेष्ठ, शेरबहादुर कुँवर, डोलप्रसाद अर्याल र शरतसिंह भण्डारी आएका थिए। किसन श्रेष्ठबाहेक बाँकी तीनैजनाको पालामा रकम मलेसिया गएको थियो।

तर उनीहरूभन्दा अघि मन्त्री भएका रामेश्वर राय यादवको अवस्था भने फरक छ। यादवले रकम मलेसिया पठाउने निर्णय आफैँ गरेको दाबी सीआईबीको छ। उनको पालामा चारपटक रकम विदेश गएको थियो- २०७६ फागुन १५ मा ६ लाख ९३ हजार पाउन्ड, चैत १० मा २ लाख ४८ हजार पाउन्ड, २०७७ जेठ १९ मा २ लाख ४६ हजार पाउन्ड र साउन १२ मा २ लाख १४ हजार अमेरिकी डलर।
त्यो बेला श्रमसचिव थिए विनोद केसी। उनले कानुन शाखाको रायसहित सदर गरेपछि फाइल मन्त्री यादवसमक्ष पुगेको थियो। यादवले निर्णय गरेपछि नै पहिलोपटक रकम मलेसिया पठाइएको थियो।
फाइलपछाडिको टोली
यादवपछि मन्त्री बनेका गौरीशङ्कर चौधरी र विमलप्रसाद श्रीवास्तवको पालामा भने रकम विदेश गएको देखिँदैन। यो कालखण्डमा जगेडामा थिए एकनारायण अर्याल। उनलाई श्रमसचिवमा सरुवा गरिएपछि रकम ट्रान्सफरका फाइल अघि बढ्न थालेका थिए।
श्रमसचिव भएपछि अर्यालले सहसचिवमा राजीव पोखरेल र कानुन उपसचिवमा निर्मला गुरुङलाई ल्याए। फाइलमा देखिएका यी दुवै नाम अर्यालकै टोलीका हुन्। त्यसपछि फेरि रकम मलेसिया पठाउने धन्दा सुरु भएको सीआईबीको निष्कर्ष छ।
सीआईबीका अनुसार अर्यालले एकपटक मात्र निर्णय गरे, त्यसपछिको जिम्मा पोखरेललाई दिए। ‘पहिलाकै निर्णयअनुसार भनेर तपाईंले गर्नुस्, त्यसबापत १० प्रतिशत तपाईं राख्नुस् भनेपछि राजीवले निर्णय गरेको बयानमा आएको छ,’ ती अधिकृत भन्छन्।
२०८० जेठ २९ मा अर्याल श्रमसचिवबाट बाहिरिएको तीन महिनाभित्रै पोखरेल र गुरुङ पनि मन्त्रालयबाट बिदा भए। उनीहरू दुवैले सचिव अर्यालकै निर्देशनमा काम गरेको बयान सीआईबीमा दिएका छन्।
पोखरेल र खड्का सँगै हाइकिङ जाने गरेका थिए भने गुरुङसँग सामाजिक सञ्जालमा निरन्तर कुराकानी हुन्थ्यो। मलेसियाको मेडिकलसम्बन्धी समाचार देख्नेबित्तिकै उपसचिव गुरुङले व्यवसायी खड्कालाई पठाउने गरेको भेटिएको सीआईबीका अधिकारीहरू बताउँछन्।
फाइलबाहिरका आरोप : घर, गाडी र विदेश भ्रमण
अर्याल र खड्काको सम्बन्ध पुरानो हो। अर्याल २०७१ मङ्सिर १ देखि २०७२ मङ्सिर २७ सम्म काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) थिए। ‘काठमाडौँको सीडीओ भएकै बेला खड्का र अर्यालबीच चिनजान भएको र त्यहाँदेखि नै खड्कालाई सहयोग गर्दै आएको देखिन्छ,’ मन्त्रालयका अधिकारीहरू भन्छन्।
२०७५ मा गोकर्ण विष्ट श्रममन्त्री हुँदा श्रमिक ठग्ने मेडिकल संस्थामा छापा मार्न र सञ्चालकलाई पक्राउ गर्न निर्देशन दिइएको थियो। त्यतिबेला पनि अर्यालकै सहयोगमा खड्का उम्किएको सीआईबीको दाबी छ।
रकम विदेश पठाउने अनुमति दिलाएबापत खड्काले अर्याललाई नगदका साथै गाडी र घरसम्म उपहार दिएको सुराग भेटिएकाले यसबारे छुट्टै अनुसन्धान सुरु हुने अधिकारीहरूको भनाइ छ।
‘करिब तीन–चार वर्षअघिसम्म अर्याल कोटेश्वरस्थित आफ्नै घरमा बस्दै आएका थिए। बूढानीलकण्ठमा खड्काले घर किनिदिएपछि उनले कोटेश्वरको घर बेचेको पाइएको छ,’ ती अधिकृतले भने, ‘सम्पत्ति पनि अस्वाभाविक देखिएकाले अब सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अनुसन्धान अघि बढाउँछौँ।’
अर्याल मलेसिया घुम्न जाँदाको हवाई टिकटको रकम खड्काको कम्पनी म्याक्रोटेकको खाताबाट तिरिएको भेटिएको दाबी छ। अर्थात्, मलेसिया जाने श्रमिकलाई ठगेर सङ्कलन गरिएको रकमबाट सचिव अर्यालको मलेसिया भ्रमणको टिकट काटिएको थियो।
‘आफूअनुकूल निर्णय गरेबापत कैलाश खड्काले विदेश घुमाउन लगेको र त्यसको टिकटसमेत उनकै म्याक्रोटेक कम्पनीको खाताबाट तिरेको प्रमाण भेटिएको हो,’ ती अधिकृतले भने।
पक्राउपछि सीआईबीले काठमाडौँको हेपाली हाइटस्थित अर्यालको घरमा खानतलासी गरी केही कागजात नियन्त्रणमा लिएको ब्युरोका प्रवक्ता एसएसपी अनुपमशमशेर जबराले पुष्टि गरेका छन्।
मुख्यसचिव भएपछि पनि श्रममा चासो
श्रमसचिवबाट हटेपछि पनि अर्यालले श्रम मन्त्रालयमा आफ्नो पहुँच कायम राखेको र मुख्यसचिव भएपछि पनि मलेसिया रोजगारीबारे सरोकार नछाडेको स्रोतहरूको दाबी छ। उनकै जोडबलमा कृष्णहरि पुष्करलाई श्रमसचिव बनाइएको स्रोतहरू बताउँछन्।
पुष्करकै पालामा २०८१ चैत ८ मा मेडिकल शुल्क साढे ६ हजारबाट साढे ९ हजार पुर्याउने निर्णय भयो, जुन २०८२ मङ्सिर १० देखि लागू गरियो। पुष्करले यो काम पनि मुख्यसचिव अर्यालकै सल्लाहमा गरेको जानकार स्रोत बताउँछ। ‘त्यतिबेला तीन हजार बढाउने र त्यसका लागि केही अनावश्यक परीक्षण पनि थपिएको थियो,’ स्रोतले भन्यो।

त्यसअघि श्रमिकले गर्नै नपर्ने अल्ट्रासाउन्ड तथा सुगरको बी१, एच१ परीक्षण खड्काको योजना तथा अर्याल र पुष्करको सक्रियतामा थपिएको थियो। त्यसका लागि चाहिने उपकरण एउटै कम्पनीबाट किन्न लगाइएको मेडिकल सञ्चालकहरूले बयान दिएका छन्। करिब ७ लाख रुपैयाँ पर्ने उपकरणको २० लाखसम्म लिइएको र त्यो रकम अर्यालसम्म पुगेको गुनासो उनीहरूले गरेका छन्।
जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारमा २०८२ मङ्सिर २६ मा श्रममन्त्री बनेका राजेन्द्रसिंह भण्डारीले पुस ४ मा शुल्क पुनः ६ हजार ५ सयमा झारे। तर त्यसका लागि पनि सचिव पुष्कर सहजै तयार भएका थिएनन्।
‘स्वास्थ्य शुल्क घटाउने निर्णय गरेर फाइल मगाएको थिएँ तर सचिव मान्दै मान्दैनन्। तुरुन्तै फाइल ल्याउने भए ल्याऊ, होइन भने म मिडिया, जेनजी सबैलाई बोलाएर यो विषयमा प्रस्ट भनिदिन्छु भनेपछि सचिव फाइल ल्याउन तयार भए,’ भण्डारीले माघ २३ मा अनलाइनखबरसँग भनेका थिए।
यसबारे मन्त्रालयले आन्तरिक छानबिन गरेको र आवश्यकताअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने तयारी भएको स्रोतले बताएको छ। अनुसन्धानमा पुष्कर पनि तानिन सक्ने स्रोतको भनाइ छ।
फाइलको जरा : सम्झौता, म्याक्रोटेक र राष्ट्र बैंक
यो सबैको सुरुवात २०७५ कात्तिक १२ मा नेपाल र मलेसियाबीच भएको श्रम सम्झौताबाट हुन्छ। सो सम्झौताले नेपाली कामदार शून्य लागतमा मलेसिया जाने व्यवस्था गरेको थियो। सम्झौतामा श्रमिकको बायोमेडिकलसहितको स्वास्थ्य परीक्षणको शुल्कको जिम्मेवारी रोजगारदाता कम्पनीको हुने स्पष्ट लेखिएको छ।
स्वास्थ्य परीक्षण नेपालमै गर्ने र त्यसको शुल्क रोजगारदाता कम्पनीले कामदार मलेसिया पुगेपछि पहिलो महिनाको तलबसँगै फिर्ता दिने सहमति भएको थियो। यसरी उताबाट पैसा नेपाल आउनुपर्नेमा श्रमिकबाट उठाएर उता पठाउने उल्टो निर्णय सिंहदरबारबाटै भइरहेको थियो।
मलेसियाका तर्फबाट परीक्षण प्रणालीको काम बेस्टिनेट कम्पनीले पायो। नेपालमा कुन संस्थाले मेडिकल गर्ने भन्ने निर्णय नेपाली पक्षले गर्नुपर्ने थियो। ठीक त्यही बेला खड्काले सिन्डिकेट खडा गरेपछि ३६ मेडिकल संस्थाले यो काम गरे। मेडिकल संस्थाका प्रतिनिधिहरूले सीआईबीमा दिएको बयानअनुसार खड्काले सुरुमा प्रतिमेडिकल १० लाख रुपैयाँ उठाएका थिए र पछि बायोमेट्रिक उपकरण दिने भन्दै डेढ करोडसम्म असुलेका थिए।
खड्का र बेस्टिनेटबीचको सम्बन्ध झनै पुरानो हो। नेपाल स्वास्थ्य व्यवसायी महासङ्घको नेतृत्वमा रहेका खड्का र बेस्टिनेटका प्रमुख कार्यकारीबीच २०७० असार ६ मै बायोमेट्रिक प्रणाली सञ्चालनसम्बन्धी सहमति भएको थियो। खड्काले २०७५ फागुन ६ मा म्याक्रोटेक कम्पनी दर्ता गराए।
लगत्तै बेस्टिनेट र म्याक्रोटेकबीच सम्झौता भयो, तर नेपाल सरकार यसबारे बेखबर थियो। बेस्टिनेटले म्याक्रोटेकलाई प्रतिकामदार १०० रिङ्गिट उठाउन भनेर पत्र पठायो र त्यसैका आधारमा कामदारबाट मेडिकल शुल्कमाथि थप बायोमेडिकल शुल्क असुल्न थालियो। उठेको ९० प्रतिशत बेस्टिनेटलाई र १० प्रतिशत म्याक्रोटेकलाई जाने व्यवस्था थियो।

२०७६ साउनदेखि यो रकम उठाउन थालियो। रकम मलेसिया पठाउन खड्काले २०७६ पुसमा सोझै राष्ट्र बैंकमा निवेदन दिए। निवेदनमा नेपाल र मलेसियाबीचको श्रम सम्झौताको बुँदा २० को उपबुँदा ३ र संयुक्त कार्यदलको अनुसूची ५ (४) उद्धृत गरिएको थियो। तर श्रम सम्झौताको समग्र वा उल्लिखित बुँदामा त्यस्तो कुनै व्यवस्था छैन।
श्रम सम्झौताको बुँदा २० को उपबुँदा ३ मा निर्णयको सङ्कलनको सन्दर्भ छ। संयुक्त कार्यदलको अनुसूची ५ (४) मा सुरक्षा जाँचको सन्दर्भ छ। कुनैमा पनि यो रकम उठाउने वा विदेश पठाउने कुरा छैन।
‘जम्मा सात हरफको त्यो कागजातसमेत राष्ट्र बैंकका कर्मचारीले अध्ययन नगरी सोझै मन्त्रालयमा सिफारिस गरेको देखियो,’ अनुसन्धान अधिकृत भन्छन्, ‘राष्ट्र बैंकका कर्मचारीले पनि कुनै प्रलोभनमा परेर फाइल अघि बढाएको आशङ्का छ।’
अहिलेसम्म श्रमिकबाट उठाइएको १ अर्ब ६९ करोड रुपैयाँ मलेसिया पुगिसकेको छ। यो पास भएर मलेसिया गएका कामदारको मात्र हिसाब हो। तीन–चारपटक परीक्षणपछि पास भएका र फेल भएर जान नपाएकाको विवरण नभएकाले ठगीको रकम अझै बढ्न सक्ने सीआईबी प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदी बताउँछन्। बेस्टिनेटले केही मेडिकलसँग रकम लिएर सोझै सम्झौता गरेको पनि भेटिएको उनको भनाइ छ।
फाइल माग्दा फरार, कोलकातामा पक्राउ
यो प्रकरणमा पक्राउ पर्ने अर्याल एघारौँ व्यक्ति हुन्। काठमाडौँबाट फरार भएका उनी कोलकातामा होटलमा बसेनन्। उनी २०७२ पछि करिब चार वर्ष त्यहाँस्थित नेपाली महावाणिज्य दूतावासमा महावाणिज्यदूत थिए। सम्भवतः त्यतिबेलै चिनजान भएका एक उच्चपदस्थ भारतीय नागरिकको घरमा उनी बसेका थिए।
ठेगान पत्ता लागेको करिब चार दिनपछि उनी पक्राउ परे। ‘भारतमा कानुनी आधारभन्दा पनि अनौपचारिक सम्बन्धका आधारमा व्यक्ति लेनदेन हुने हो। सीसी क्यामेरा नभएको ठाउँमा समात्नुपर्ने भएकाले लामो समय लाग्यो,’ एक अधिकारी भन्छन्। भारतीय पक्षले उनलाई स्थलमार्गबाट मोरङको सीमानाकामा हस्तान्तरण गर्यो र विराटनगरबाट विमानमार्फत बिहीबार काठमाडौँ ल्याइएको हो।
तर सीआईबीले आधिकारिक रूपमा भने अर्याललाई विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको जनाएको छ। भारतमा समातिएका अभियुक्तलाई कागजमा सीमाबाट पक्राउ गरेको देखाउने चलन छ।

नेपाल र भारतबीच सन् १९५३ मै सुपुर्दगी सन्धि भए पनि त्यसको व्यावहारिक प्रयोग निकै कम छ। सुपुर्दगी ऐन, २०७० अनुसार सन्धि भएको मुलुकलाई पनि अभियुक्त हस्तान्तरण गर्दा अदालती प्रक्रिया अनिवार्य हुन्छ, जुन लामो र झन्झटिलो छ।
७० वर्षभन्दा पुरानो सन्धि परिमार्जन गर्ने प्रयास पनि सन् २००५ देखि अड्किएको छ। त्यसैले दुई देशका सुरक्षा निकायले गम्भीर अभियुक्तलाई आपसी सम्झौतामा अनौपचारिक रूपमा हस्तान्तरण गर्दै आएका छन्।
२०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी प्रदर्शनमा हिंसा भड्काएर फरार भएका दुर्गा प्रसाईंको मामिला यस्तै थियो। उनी भारतको आसाममा पक्राउ परेका थिए र उनको सचिवालयले आसाम प्रहरीसमक्ष आत्मसमर्पण गरेको दाबी गरेको थियो।
तर नेपाल प्रहरीले भारतमा पक्राउ परेको समाचार खण्डन गर्दै विज्ञप्ति निकाल्यो र अधिकारीहरूले उनलाई पूर्वी सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको बताए। प्रसाईंलाई पनि काँकडभिट्टा नाका हुँदै झापा ल्याएर विमानमार्फत काठमाडौँ पुर्याइएको थियो।
चाहन्थे अख्तियार प्रमुख बन्न, पुगे हिरासत
स्याङ्जाको पुतलीबजारमा जन्मे–हुर्केका अर्याललाई समकक्षीहरू निकै चतुर व्यक्तिका रूपमा चिनाउँछन्। ‘जस्तो परिस्थिति आउँछ, त्यसैमा आफूलाई ढाल्न सक्ने खुबी भएका व्यक्ति हुन्,’ उनीहरू भन्छन्। उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बन्ने कसरतमा थिए र त्यसका लागि मुख्यसचिव भएकै बखत लबिइङ पनि गरिरहेका थिए।
नेपाल सरकारको सेवाबाट अवकाशप्राप्त अधिकारीले कम्तीमा २ वर्ष कुलिङ–अफ पिरियडमा बस्नुपर्ने गरी कानुन बन्न थालेपछि उनले सचिवहरूको नेतृत्व गरेर दलका नेताहरूलाई भेट्दै हिँडेका थिए। यद्यपि त्यही बेला जेनजी विद्रोह भएपछि त्यो कानुन र अर्यालको महत्त्वाकाङ्क्षा अलपत्र परेका थिए।
कक्षा १० मा पढ्दा बुबासँगै जिल्ला प्रशासन कार्यालय पुग्दा सीडीओको रवाफ देखेर एक दिन आफू पनि सीडीओ बन्ने लक्ष्य राखेको उनले बताएका थिए। पोखराको पृथ्वीनारायण क्याम्पसमा कानुन पढेका उनी २०४६ माघ ४ मा सामान्य प्रशासन सेवामा नायब सुब्बा भए।

२०५१ फागुन ४ मा शाखा अधिकृत, २०५८ माघ ६ मा उपसचिव र २०६७ फागुन १९ मा सहसचिव भए। तनहुँ, मकवानपुर र काठमाडौँका सीडीओ, गृह मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख र कोलकातामा महावाणिज्यदूत भए।
२०७६ फागुन १८ मा सचिव बनेपछि उनी काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भए र त्यसपछि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा जगेडामा बसे। त्यसपछि श्रम मन्त्रालयमा खटिए।
पछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयमा सचिव भए। एमाले सत्तामा हुँदा आकर्षक अवसर पाएका उनी प्रधानमन्त्री केपी शर्मा ओलीका निकट मानिन्थे।
२०८१ असार ९ मा तत्कालीन मुख्यसचिव डा. बैकुण्ठ अर्यालविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेपछि नयाँ मुख्यसचिवका लागि दौडधुप सुरु भयो। माओवादी नेतृत्वको सरकार हुँदा सचिव रामकृष्ण सुवेदीको सम्भावना बढी थियो। तर असार अन्तिममा ओली प्रधानमन्त्री बनेपछि समीकरण फेरियो।
कामु मुख्यसचिव लीलादेवी गड्तौलालाई साउन १० मा मुख्यसचिव बनाइयो र भदौ १३ मा उनी अवकाश भएलगत्तै वरीयतामा चौथो नम्बरमा रहेका गृहसचिव अर्याललाई प्रधानमन्त्री ओलीले मुख्यसचिव बनाए। ५८ वर्षको उमेरहदका कारण उनी २०८२ मङ्सिर ९ मा अवकाश भएका थिए।
अवकाश भएको ठीक एक वर्षमा उनी हिरासत पुगेका छन्।
पूर्वमुख्यसचिवसमेत रहेका अर्यालको राज्य संयन्त्रमा पहुँच नहुने कुरै भएन, सायद उनले समयमै सूचना पाएका थिए। उनी अघिल्लो दिन नै अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध एयरको जहाज चढेर कोलकाता पुगिसकेका थिए।
टिप्पणी उठाउँदा नै अनियमितताको स्वीकारोक्ति छ। यो कारोबारमा विदेशी मुद्रा अपचलन, कर र सम्पत्ति शुद्धीकरणको प्रश्न उठ्न सक्छ भन्ने मन्त्रालय आफैँलाई थाहा थियो। तर त्यस विषयमा थप अनुसन्धान नगरी गैरकानुनी भएमा म्याक्रोटेक आफैँ जिम्मेवार हुने सर्त राखेर राष्ट्र बैंकलाई सिफारिस गर्न टिप्पणी उठाइयो।
सचिव अर्यालले निर्णय गरिसकेको चार दिनपछि मात्र कानुन उपसचिव निर्मला गुरुङले फाइलमा हस्ताक्षर गरिन्। मन्त्रालयका निर्णय कानुन महाशाखाको रायपछि मात्र निर्णयार्थ प्रस्तुत हुन्छन्। तर यस प्रकरणमा भने कानुन शाखाको रायका आधारमा निर्णय भएको होइन, निर्णयका आधारमा राय मिलाइएको हो।
Login
+कृपया ध्यान दिनुहोस्:
- अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
- आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
- यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
- रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।
प्रतिक्रिया 4