+

अरहान्त र भावनालाई स्क्वास उपाधि

२०७३ साउन  २२ गते १७:३९ २०७३ साउन २२ गते १७:३९
अरहान्त र भावनालाई स्क्वास उपाधि

२२ साउन, काठमाडौं । अरहान्तकेशर सिंह र भावना सुनवारले धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको उपाधि जितेका छन् ।

सातदोबाटोमा शनिबार भएको पुरुष सिंगल्स फाइनलमा अरहान्तले अमृत थापा मगरलाई ८-११, ११-५, ११-७, ११-१३ र १२-१० को सेटमा पराजित गर्दै स्क्वासमा नयाँ स्टारका रुपमा आफूलाई प्रस्तुत गर्न सफल रहे । गत महिना सातदोबाटोमै भएको खुला स्क्वास प्रतियोगितामा पनि अरहान्तले अमृतलाई नै हराउदै पहिलो उपाधि जितेका थिए ।

अमृतका बुवा हीराबहादुर थापा र प्रवीणवीरसिंह कंशाकार संयुक्त रुपमा तेश्रो भए । पहिलो हुनेले १५ हजार, दोश्रोले ८ हजार र तेश्रोले ३-३ हजार नगद पुरस्कार हात पारे ।

महिला सिंगल्सको फाइनलमा भावनाले विपना ब्लोनलाई ११-५, ११-७ र ११-१ को सोझो सेटमा हराइन् । सपना ब्लोन र कृष्णा थापा मगर तेश्रो भए । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ९ हजार, ५ हजार र २-२ हजार नगद पुरस्कार जिते ।

जुनियर ब्वाइज यु-१७ सिंगल्सको उपाधि अमिर ब्लोनले जिते । उनले फाइनलमा दीपक थापाको चुनौती ११-६, ११-७ र १४-१२ ले समाप्त पारे । विक्रम मगर र विजय मगरले तेश्रो स्थानमा चित्त बुझाए । पहिलोलाई ५ हजार, दोश्रोलाई ३ हजार र तेश्रोलाई १५ सय-१५ सयले पुरस्कृत गरियो ।

गेल्जे तामाङ जुनियर ब्वाइज यु-१३ सिंगल्स च्याम्पियन बने । गेल्जेले उपाधि भिडन्तमा सुवास गिरीलाई ११-८, ११-४ र १२-१० को सीधा सेटमा पाखा लगाए । रन्जित थापा र गोपाल थापा तेश्रो बने । पहिलोले ३ हजार, दोश्रोले २ हजार र तेश्रोले १-१ हजार नगद पुरस्कार पाए ।

भेट्रान्स ५० वर्षमाथि पुरुष सिंगल्समा च्याम्पियन बन्ने क्रममा लालबहादुर गुरुङले फाइनलमा प्रेम सिंहलाई १०-१२, ११-५, ११-६ र ११-८ ले निराश पारे । मनोजबहादुर श्रेष्ठ र महेन्द्र महर्जन तेश्रो स्थानमा रहे ।

पुरुष सिंगल्स प्लेटतर्फ अनिल शाक्यले फाइनलमा लोकेन्द्र भण्डारीमाथि ८-११, ५-११, ११-९, ११-८ र १७-१५ को संघर्षपूर्ण जित निकाल्दै शीर्ष स्थान हात पारे । विजयी मगर र विक्रम मगर तेश्रो बने ।

अगष्ट १ बाट सुरू भएको प्मारतियोगितामा विभिन्न ६ स्पर्धामा ७८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । कुल नगद पुरस्कार राशी ६३ हजार रुपैयाँ रहेको थियो जुन नेपाली स्क्वासकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता भएको स्क्वास संघले जनाएको छ ।

 

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय