१२ भदौ, काठमाडौं । अन्तिम बलमा कप्तान महेन्द्र सिंह धोनी आउट भएपछि भारत रोमाञ्चक खेलमा वेष्टइण्डिजसँग १ रनले पराजित भएको छ ।
वेष्टइण्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २४५ रन बनायो । जवाफमा मैदान उत्रिएको भारतले ४ विकेट गुमाएर २४४ रन मात्र बनाउन सक्यो ।
भारतलाई अन्तिम ओभरमा ८ रन चाहिएको थियो । पहिलो बलमा ब्राभोले धोनीलाई एक रन दिए । दोस्रो बलमा केएल राहुलले पनि एक् रन लिए । तेस्रो र चौथो बलमा पनि भारतले एक रन लियो भने पाँचौ बलमा धोनीले २ रन जोडे । अब अन्तिम बलमा पनि जितका लागि २ रन चाहिएको थियो ।
अन्तिम बलमा ब्राभोले धोनीको विकेट लिएपछि वेष्टइण्डिजले भारतमाथि १ रनको रोमाञ्चक जित हात पारेको छ ।
भारतका लागि राहुलले अविजित ११० रन बनाए । रोहित शर्माले ६२ रन जोडे भने एमएस धोनी ४३ रनमा आउट भए ।
यसअघि वेष्टइण्डिजले राम्रो सुरुवात गरेको थियो । जोनसोन कार्लोस र इभान लुइसले पहिलो विकेटका लागि १२६ रनको साझेदारी गरे । कार्लोस ७९ रनमा आउट भए । लुइसले शतक पुरा गरे । उनी १०० रनमा जडेजाको बलमा आउट भए ।
आन्द्र रसेल र किरन पोलार्डले समान २२ रन बनाए भने कार्लोस ब्रोथवाइट १४ रनमा रन आउट भए ।