८ माघ, काठमाडौं । त्रिभुवन आर्मी भलिबल क्लबले एनभीए अवार्ड २०७३ जित्न सफल भएको छ । महिलातर्फ नेपाल एपीएफ क्लबको टोली उत्कृष्ट चुनियो ।
नेपाल भलिबल संघले पहिलो पटक वितरण गरेको अवार्डमा वर्ष २०७३ मा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, टिम, तथा प्रशिक्षकलाई सम्मान गरेको हो । महिला र पुरुषतर्फका उत्कृष्ट टिमले ५०/५० हजार पुरस्कार पाएका छन् ।
काठमाडौंमा सोमबार आयोजित अवार्ड वितरण कार्यक्रममा भलिबल खेलाडीका रुपमा पुरुषतर्फ त्रिभुवन आर्मीका मानबहादुर श्रेष्ठ र महिलातर्फ न्यू डायमण्ड एकेडेमीकी प्रतिभा माली वर्षको उत्कृष्ट खेलाडी घोषित भए । उनीहरुले जनही २५ हजार रुपैयाँ पुरस्कार पाए ।
त्यस्तै नेपाल पुलिस क्लबका विशाल विश्वकर्मा र पुलिसकै कामना विष्ट क्रमशः पुरुष र महिलातर्फ उदयीमान खेलाडीको पुरस्कार पाए । उनीहरुले जनही १५ हजार रुपैयाँ पाए । प्रशिक्षकमा सशस्त्र प्रहरीको एपीएफ क्लबका ज्ञानेन्द्र विष्ट महिलातर्फ र त्रिभुवन आर्मीका तत्कालिन प्रशिक्षक जगदिश भट्ट पुरुषतर्फ उत्कृष्ट चुनिए ।
त्यस्तै एशियाली भलिबल महासंघको आयोजनामा माल्दिभ्समा भएको प्रतियोगितामा ऐतिहासिक पदक जित्ने पुरुष राष्ट्रिय भलिबल टिमका प्रत्येक सदस्यलाई संघले जनही २० हजार नगदले पुरस्कृत गरेको छ । कार्यक्रममा भलिबलको खेलको विकासमा सहयोग गर्ने विभिन्न ४० व्यक्ति तथा संस्थालाई नेपाल भलिबल संघले सम्मान गरेको थियो ।
पत्रकारिताको माध्यमबाट भलिबलको स्तरोन्नति तथा राष्ट्रिय खेल घोषणा गराउन सहयोग गरेको भन्दै नेपाल खेलकुद पत्रकार मञ्चलाई पनि संघले सम्मान गरेको छ ।
प्रतिक्रिया 4