७ असोज, काठमाडौं । एक डिफेन्डर जसमा स्ट्राइकरका गुण छन् र फरवार्ड जसरी अगाडि पुग्छन् भने उनी सर्जियो रामोस हुन् ।
फुटबलमा लिबेरो पोजिसनको परिकल्पनालाई उनले अगाडि बढाइरहेका छन् । त्यसमा पूर्ण स्वतन्त्र भएर उनी खेल्छन् ।
अहिले रियल मडि्रडको खेल हेर्दा जहाँ मोडरिकलाई देख्ने आश गरिएको हुन्छ, त्यहाँ पनि रामोस देखा परिरहेका हुन्छन् । डि-एरिया नजिकैबाट पोस्टमा प्रहार गरिरहेका हुन्छन्, काउन्टरमा बल बढाइरहेका हुन्छन्, कर्नरदेखि फ्रिकिकसम्म बलमा पुग्छन् ।
डिफेन्डर त्यसमा पनि सेन्टर ब्याकबाट खेल्ने रामोसले मैदानमा लिइरहेको स्वतन्त्रताले कहिलेकाहीँ टिमलाई ठूलो भार पर्न सक्छ । आफ्नो पोस्टमा आएको बलमा उनी आइपुगेका त हुन्छन् तर, फरवार्ड लाइन पुगेर फर्किएका उनमा पूरा जोश बाँकी रहँदैन ।
सेन्टर ब्याक डिफेन्सबाट धेेरै अघि पुग्ने र सेन्टर ब्याकमा नै ध्यान दिएर बसिरहने शैलीको मध्यस्थमा रहे त ठीकै हो । तर, जुलेन लोपेटेगीको प्रशिक्षणमा एउटा सेन्टर ब्याकका लागि यतिसम्मको स्वतन्त्रता अकल्पनीय हुन्छ ।
ला लिगामा स्पानियोलसँग आइतबार राति खेलेको रियल मड्रिड र केही दिनअघि च्याम्पियन्स लिगमा रोमासँगको रियल मडि्रडको खेल शैलीमा धेरै फरक देखिए पनि रामोसको स्वतन्त्रता उस्तै थियो । रोमासँगको खेल केही व्यवस्थित र नियन्त्रित देखिन्थ्यो भने स्पानियोलले केही राम्रा अवसर गुमाउँदा रियलले जित पाएको थियो ।
यसले रामोसलाई एउटा कीर्तिमानको नजिक भने पुर्याएको छ । ला लिगामा सबैभन्दा धेरै गोल गर्ने डिफेन्डरको सूचीमा रामोस दोस्रो नम्बरमा छन् । ५७ गोल गरेका रामोसभन्दा अघि ६७ गोल गरेका बार्सिलोनाका लिजेण्ड रोनाल्ड कोम्यान छन् ।
अब यसरी नै फरवार्ड लाइनसम्म पुग्ने र पेनाल्टी पाएका अवसरमा पनि आफै अघि सर्ने रामोस शैली निरन्तर रहेमा उनले त्यो कीर्तिमान आˆनो नाममा लेखाउने छन् । गएको हप्ता जिरोनासँगको खेलमा गोल गरेपछि रामोसले लगातार १५ ला लिगा सिजनमा गोल गरेर कीर्तिमान तोड्ने बाटो देखाएका थिए ।
१९९६ मा सेभियाबाट युथ करिअर सुरु गरेका रामोसले २००४ मा सेभियाबाटै ला लिगा डेब्यू गरेका थिए । त्यसपछि २००५ मा रियल मड्रिड आएका उनले लामो समय त पूर्ण सेन्टर ब्याककै रुपमा खेल देखाए । अहिले उनी लेफ्ट ब्याक र राइट ब्याक भन्दा बढी अट्याकमा पुगिरहेका हुन्छन् ।
डिफेन्डरबाट गोलको कीर्तिमान नजिक रहेका रामोसले पहेंलो र रातो कार्डमा भने कीर्तिमान बनाइसकेका छन् । गएको बुधबार रोमासँगको खेलका बेला पहेंलो कार्ड खाएका रामोसले च्याम्पियन्स लिगमा सबैभन्दा धेरै पहेंलो कार्ड खाने कीर्तिमान बनाए । उनले च्याम्पियन्स लिगमा ३६ पहेंलो कार्ड खाइसकेका छन् ।
यसको पछि रहेको कारण पनि रामोसको फरवार्ड मोह नै देखिन्छ । फ्रन्ट लाइनमा पुगेका उनी ब्याक आइपुग्दा बल जोगाउन जस्तोसुकै प्रयास गर्छन् र फल गर्न पुग्छन् ।
यसअघि च्याम्पियन्स लिगमा सबैभन्दा धेरै पहेंलो कार्ड पाउने कीर्तिमान म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पउल स्कल्सको नाममा थियो । उनले ३५ पहेंलो कार्ड पाएका थिए ।
च्याम्पियन्स लिगमा मात्रै होइन, ला लिगामा पनि सबैभन्दा धेरै पहेंलो कार्ड र रातो कार्ड पाउने कीर्तिमान पनि रामोसकै नाममा छ । ला लिगामा १५ रातो कार्ड खाएका रामोसले १ सय १८ पहेंलो कार्ड खाएका छन् ।
यसैले मड्रिड समर्थक हुन् या अरु रामोसको नाम आएपछि फुटबल अनुशासनबारे एकपटक सोच्न पुगिहाल्छन् ।
रियल मड्रिड आउँदाको समय डिफेन्डरका लागि कीर्तिमानी रकम २७ मिलियन युरो लिएका रामोसले आफूलाई प्रमाणित पनि गरेका छन् ।
तर, उनले आफ्नो खेल शैली फैलाउँदै लगिरहँदा आफ्नो भूमिका र अवसरलाई सन्तुलित रुपमा हेर्न सक्नुपर्छ ।
एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4