१६ मंसिर, काठमाडौं । विभागीय टिम नेपाल आर्मी क्लबका मुख्य प्रशिक्षक नवीन न्यौपानेले लिग लिडर मनाङ मर्स्याङ्दी क्लबलाई टक्कर दिन पनि टिमको लागि तीन अंक महत्वपूर्ण रहेको बताएका छन् ।
हिमालयन शेर्पा क्लबलाई २-१ गोलअन्तरले पराजित गरेपछि पोष्ट म्याच कन्फ्रेन्समा प्रशिक्षक न्यौपानेले मनाङलाई दबाब दिन पनि हिमालयन शेर्पालाई पराजित गर्नै पर्ने स्थिति भएको र यसमा आफ्नो टिम सफल भएको बताएका छन् ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा आर्मीले हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै लिग लिडर मनाङसँगको अंक दुरी दुई मा झारेको छ । उपाधि होडमा रहेको मनाङको पाँच खेलबाट १५ अंक हुदा आर्मीको पनि पाँच खेलबाट १३ अंक भएको छ ।
प्रशिक्षक न्यौपानेले भने ‘लिगको सिनारियोमा तीन अंक निकै महत्वपूर्ण छ । किनभने मनाङको १५ अंक छ । हामीले अग्रता बनाएपछि तीन अंकको लागि भएपनि डिफेन्सिप खेलेको हो ।’
तर, आफ्नो टिम खेलको अन्तिम समयमा दबाबमा आएको कारण गोल खान पुगेको बताए । उनले भने, ‘हामीले पहिलो हाफमा योजना अनुसार नै खेल्यौ । दोस्रो हाफमा हामी आक्रमक नै खेल्ने रणनीतिमा थियौं । तर, शेर्पा पनि आक्रमक खेल्ने हुदा डिफेन्सिपको रणनीति बनायौं तर अन्तिममा दबाबमा आएको कारण गोल खान पुग्यौं ।’
यता, हिमालयन शेर्पाका प्रशिक्षक सुवास लिम्बु बलियो टिम आर्मीसँग आफ्नो खेलाडीले राम्रो खेलेको बताए । उनले भने, ‘पहिलो हाफमा हामीले योजना अनुसार खेल्न सकेनौं । आर्मी राम्रो टिम हो । पाएको अवसर गुमाउँदा हार्न पुग्यौं ।’
प्रतिक्रिया 4