१९ मंसिर, काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबले शहिद स्मारक ए डिभिजन लिग फुटबलमा लगातार छैटौं जित निकालेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज (बुधबार)भएको खेलमा मनाङले जावलाखेल युथ क्लबलाई १-० गोलअन्तरले पराजित गरेको हो । निकै कमजोर मानिएको जावलाखेलमाथि मनाङले कठिन जित निकालेको हो ।
मनाङको जितमा अञ्जन विष्टले गोल गरे । पहिलो हाफमा गोलरहित बराबरी खेलेको मनाङले खेलको दोस्रो हाफमा गोल गर्न सफल भयो ।
मनाङले खेलको ६२औं मिनेटमा पेनाल्टी पाएको थियो । मनाङका अफिज ओलावालेलाई डिबक्सभित्र फल गरेपछि पेनाल्टी पाएको थियो । पेनाल्टीबाट अञ्जनले गोल गरे ।
जितसँगै मनाङले आफ्नो अपराजित यात्रालाई कायमै राख्दै ६ खेलबाट १८ अंक बनाएको छ । यता पराजित जावलाखेलले भने ६ खेलमध्ये एक खेलमा जित एक खेलमा बराबरी र चार खेलमा हार ब्यहोर्दै ४ अंक बनाएको छ ।
प्रतिक्रिया 4