१६ जेठ, काठमाडौं । विश्वकप जित्नु सहज काम होइन । विश्वास नलागेसचिन तेन्दुलकरलाई सोध्नुस् । विश्व क्रिकेटका उत्कृष्ट खेलाडी तेन्दुलकरले छैठौं र अन्तिम पटकको प्रयासमा मात्रै विश्वकप जित्न सके ।
तेन्दुलकरले अन्तिमतिर विश्वकप उपाधि जितेर नयाँ खुशी पाए पनि यस्ता केही क्रिकेट खेलाडी छन् जो सधैंभरि उत्कृष्टको चर्चामा रहेर पनि विश्वकप जित्नबाट चुकेका छन् । उनीहरुले थुप्रै कीर्तिमान र आश्चर्यचकित खेल प्रदर्शन गरे पनि विश्वकपको उपाधि दिलाउन भने असफल भए ।
राम्रा र चर्चामा रहने तर विश्वकप नजितेका खेलाडीमध्येबाट हामीले आठ खेलाडीलाई नियालेका छौं ।
ग्राहम गुच
ग्राहम गुच इंग्ल्यान्डका त्यस्ता विश्वचर्चित क्रिकेटर हुन जसले तीन विश्वकप क्रिकेट खेले । उनले खेलेका तीनै विश्वकपको फाइनलमा इंग्ल्यान्ड पुग्यो । तर इंग्ल्यान्डलाई उपाधि दिलाउनबाट उनी चुके ।
सन् १९७६ सालमा वेष्ट इन्डिजविरुद्ध डेब्यु गरेर अन्तर्राष्ट्रिय क्रिकेट सुरु गरेका उनले १९९५ सम्म क्रिकेट खेले । जसमा १९७९, १९८७ र १९९२ को विश्वकप खेले । सन् १९७९ सालमा भएको विश्वकपको फाइनलमा घरेलु इंग्ल्यान्ड पुगेको थियो । तर वेष्ट इन्डिजसँग पराजित हुदै इंग्ल्यान्ड उपाधि जित्नबाट चुक्यो । ग्राहम गोचको यो पहिलो विश्वकप थियो ।
१९८७ सालमा भारत र पाकिस्तानमा संयुक्तरुपमा विश्वकप आयोजना हुदा इंग्ल्यान्ड दोस्रो पटक फाइनलमा पुगेको थियो । तर अष्ट्रेलियासँग ७ रनले पराजित हुँदै विश्वकप जित्नबाट चुक्यो । यो बेला पनि ग्राहम मुख्य खेलाडी नै थिए । सेमिफाइनलका बेला भारतलाई हराउँदा उनले हानेको शतकको चर्चा अहिलेसम्म क्रिकेट जगतमा भइरहन्छ ।
त्यसपछि सन् १९९२ सालमा न्युजिल्यान्ड र अष्ट्रेलियामा भएको विश्वकपमा इंग्ल्यान्डको कप्तान थिए ग्राहम । आफ्नै कप्तानीमा विश्वकप पुर्याएका उनले फेरि एकपटक उपाधि दिलाउन भने सकेनन् ।
इएन बोथम
ग्राहम गोचसँगै वेष्ट इन्डिजविरुद्ध नै एकदिवसीय क्रिकेटमा डेब्यु गरेका इंग्ल्याण्डका अलराउण्डर इएन बोथम पनि विश्वकप जित्न नसकेका अभागी खेलाडी हुन् ।
सन् १९७९ र १९९२ मा इंग्ल्यान्ड फाइनलसम्म पुग्दा उनको योगदान राम्रो थियो । तर विश्वकपको उपाधि जिताउन भने असफल भए । सन् १९८३ को विश्वकपमा भने उनले आफ्नो टिमलाई सेमिफाइनलसम्मको यात्रा तय गराएका थिए ।
वाकर युनिस
वाकर युनिस विश्वचर्चित एक अभागी क्रिकेट खेलाडी भन्दा खासै फरक नपर्ला । सन् १९९२ यो साल पाकिस्तानी क्रिकेटको लागि स्वर्णिम काल हो । इंग्ल्यान्डलाई फाइनलमा २२ रनले पराजित गर्दै उपाधि जितेको त्यो पल अहिले पनि पाकिस्तानको लागि एक विशेष दिन हो ।
तर तिब्र गतिका बलर वाकर युनिस यो विश्वकपमा घाइते थिए । चोटकै कारण उनले यो विश्वकप गुमाएका थिए ।
१९९६ को विश्वकपमा भने उनले आफ्नो स्थान बनाए । तर पाकिस्तान क्वार्टरफाइनलबाटै बाहिरिएको थियो । वाकरले भने १३ विकेट लिदै सर्वाधिक विकेट लिने खेलाडीको दोस्रो स्थानमा चिक्त बुझाए ।
सन् १९९९ को विश्वकपमा पाकिस्तान फाइनलसम्म पुग्दा टिममा वाकर युनिस पनि थिए । पाकिस्तानलाई दोस्रो पटक विश्वकपको उपाधि दिलाउने उनलाई राम्रो अवसर थियो । तर पाकिस्तान अष्ट्रेलियासँग फाइनलमा ८ विकेटले पराजित भएसँगै उनको सपना त्यही तुहियो । आफ्नै कप्तानीमा पाकिस्तानले सन् २००३ को विश्वकप खेलको थियो । तर राम्रो नतिजा आउन सकेन ।
वाकर युनिस त्यस्ता क्रिकेटर हुन् जसले पाकिस्तानका लागि एकदिवसीय क्रिकेटमा २५८ इनिङ्सबाट ४१६ विकेट लिएका छन् ।
सौरभ गांगुली
भारतीय चर्चित क्रिकेट खेलाडी सौरभ गांगुलीले सन् १९९९, २००३ र २००७ को गरी तीन वटा विश्वकप क्रिकेट खेलेका थिए ।
१९९९ को विश्वकपमा भारत सुपर सिक्सबाटै बाहिरिए पनि सौरभ गांगुलीको प्रदर्शन निकै तारिफयोग्य थियो । २००३ को विश्वकपको फाइनलसम्मको यात्रा गर्दा सौरभ नै कप्तान थिए । आफ्नै कप्तानीमा भारतलाई फाइनलसम्म पुर्याए पनि उपाधि दिलाउन भने सकेनन् । त्यसबेला भारत अष्ट्रेलियासँग १२५ रनले पराजित भएको थियो ।
तर उनको प्रदर्शन भने कसैले भुल्न सक्दैनन् । त्यसबेला उनले तीन शतक बनाएका थिए ।
ब्रायन लारा
वेष्ट इन्डिजका विश्व चर्चित खेलाडी ब्रायन लाराले चार विश्वकप खेल्दा अन्तिम विश्वकप २००७ मा कप्तानीको भूमिकामा रहे । उनले खेलेको मध्ये सन् १९९६ को विश्वकपमा वेष्ट इन्डिज सेमिफाइनलसम्म पुगेको थियो । उनले आफ्नै कप्तानीमा २००७ मा वेष्ट इन्डिज सुपर आठबाटै बाहिरिएको थियो ।
लारा त्यस्ता खेलाडी हुन् जसले एकदिवसीय क्रिकेटमा सबैभन्दा पहिले १० हजार रन पूरा गरेका थिए । विश्व क्रिकेट जगतमा महान खेलाडीको रुपमा परिचित उनले आफ्नो देशका लागि विश्वकप जिताउन भने सकेनन् ।
कुमार सांगाकारा
विश्व कीर्तिमानधारी कुमार सांगाकारा त्यस्ता श्रीलंकन क्रिकेटर हुन् जसले आफ्नो क्रिकेट करिअरमा कहिल्यै पछि फर्किनु परेन ।
सन् २००३ देखि २०१५ सम्मको गरी चार विश्वकपमा छाइरहे श्रीलंकाका विकेटकिपर ब्याट्सम्यान कुमार सांगाकारा । आफ्नो डेब्यु विश्वकपमै श्रीलंका सेमिफाइनलसम्म पुग्यो । यहासँसम्मको यात्रा गर्दा सांगाकाराको प्रदर्शन निकै तारिफयोग्य थियो ।
विशेषगरी सांगाकाराले २०१५ को विश्वकपमा यस्तो रेकर्ड आफ्नो नाममा लेखाएका छन् । सायदै यो रेकर्ड तोड्न अन्य ब्याट्सम्यानलाई मुश्किल छ । उनले एउटै विश्वकपमा चार शतक बनाउँदै रेकर्ड राखे ।
२००७ र २०११ को विश्वकपमा आफ्नो टिमलाई फाइनलसम्म पुर्याउन सांगकाराको योगदान ठूलो छ । तर विश्वचर्चित खेलाडी उनले आफ्नो देशलाई विश्वकपको उपाधि दिलाउन भने असफल रहे ।
उनले एकदिवसीय क्रिकेटमा मात्रै ३८० इनिङ्सबाट १४ हजार २३४ रन बनाएका थिए ।
उनले यो रन बनाउने क्रममा २५ शतक र ९३ अर्धशतक बनाएका थिए ।
एबी डिभिलियर्स
दक्षिण अफ्रिकाका पूर्वकप्तान एबी डिभिलियर्स अर्थात ‘३६० डिग्री म्यान’ त्यस्ता ब्याट्सम्यान हुन् उनीविरुद्ध दुनियाँका राम्रा बलर पनि डराउँछन् ।
विश्व कीर्तिमानी उनले आफ्नो टिमलाई २००७ र २०१४ गरी दुई पटक सेमिफाइनल र एक २०११ मा विश्वकपको क्वाटरफाइनलसम्मको यात्रा पार गराएका थिए । उनले आफ्नै कप्तानीमा दक्षिण अफ्रिकालाई २०१५ को विश्वकपको सेमिफाइनलमा पु¥याए । तर सेमिफाइनलमा न्युजिल्यान्डसँग पराजित हुन पुग्यो ।
तीन वटा विश्वकप खेलेका उनले दक्षिण अफ्रिकालाई उपाधि दिलाउन भने सकेनन् ।
विश्वकपमा सर्वाधिक एभरेज एबी डिभिलियर्सकै नाममा छ । उनको एभरेज ६३.५२ रहेको छ । त्यस्तै, उनी विश्वकपको एकै खेलमा सबै भन्दा छिटो १५० रन बनाउने खेलाडी पनि हुन् । उनले २०१५ को विश्वकपमा वेष्ट इन्डिजविरुद्ध ६४ बलमै १५० रन पूरा गरेका थिए ।
शाहिद अफ्रिदी
पाकिस्तानका अलराउण्डर शाहिद अफ्रिदीले सन् १९९९ देखि २०१५ सम्म पाँच वटा विश्वकप खेले ।
विश्वचर्चित खेलाडी अफ्रिदीले यो अवधिमा कप्तानीको भूमिका पनि निभाएका छन् । उनको डेब्यु विश्वकपमै पाकिस्तान फाइनलसम्म पुग्यो । तर उपाधि भने जित्न सकेन । विश्वकपमा निकै राम्रो प्रदर्शन गरेका अफ्रिदी डेब्यु खेलमै पाकिस्तानलाई उपाधि दिलाउन असफल भए ।
सन् २०११ को विश्वकपमा सेमिफाइनलसम्म पुर्याएका अफ्रिदी ब्याटिङमा भन्दा बलिङमा चम्किए । समूह चरणमा केन्याविरुद्ध पाँच विकेट लिएका उनले श्रीलंकाविरुद्ध चार विकेट लिए भने समूह चरणकै अर्को खेलमा क्यानाडाविरुद्ध पाँच विकेट लिए । त्यस्तै, क्वार्टरफाइनलमा वेष्ट इन्डिजविरुद्ध उनले चार विकेट लिए ।
सन् २०१५ को विश्वकप क्रिकेट खेलेर आफ्नो एकदिवसीय क्रिकेट करिअर सकेका उनले आफ्नो देशलाई विश्वकप दिलाउन भने सकेनन् ।
प्रतिक्रिया 4