+

ग्लोबल टी–२० मा त्यो दुई ओभर

२०७६ साउन  ३१ गते २१:०८ २०७६ साउन ३१ गते २१:०८
ग्लोबल टी–२० मा त्यो दुई ओभर

३१ साउन, काठमाडौं । आफ्नै टीमका व्याट्सम्यानलाई विपक्षी बलरले आउट गर्दा कुनै खेलाडी रमाउलान् ? तर सोमपाल कामी रमाए । यस्तो भएको थियो, ग्लोबल टी–२० क्यानाडा क्रिकेट लिगमा ।

नेपालका बलर सोमपालले पहिलोचोटी यो लिगमा अवसर पाएका थिए । अर्का युवा स्टार सन्दीप लामिछानेचाहिँ दोस्रोचोटी ।

सोमपालले विनिपेग हक्सबाट खेलेका थिए, जुन प्रतियोगिताको विजेता नै बन्यो । यद्यपि, उनले एउटा खेलमा मात्रै बलिङ गर्ने अवसर पाए । दुई ओभर बलिङ गर्दा महंगो बनेका सोमपाल त्यसपछि बेन्चमा खुम्चिनुपर्‍यो ।

माथि उल्लेख गरिएको क्षण चाहिँ प्ले अफको इलिमिनेटर खेलको थियो । सोमपालको विनिपेग र सन्दीप लामिछानेको टीम टोरोन्टो नेसन्स आमनेसामने भएका थिए । सन्दीप प्लेइङ इलाभेनमा परे तर, सोमपाल परेनन् । उनी बेन्चमै बसेर आफ्नो टीमलाई समर्थन गरिरहेका थिए ।

जब सन्दीप बलिङ गर्न आए सोमपालको समर्थन एकाएक बदलियो । अघिल्ला ओभरसम्म आफ्नै टीमको पक्षमा हुटिङ गरिरहेका सोमपाल एकाएक ‘स्यान्डी’ भन्दै चिच्याए ।

‘सन्दीपले बलिङ गरिरहँदा उसले विकेट लिए हुन्थ्यो भन्ने चाहिरहेको थिएँ । जब उसले उमर अक्मललाई आउट बनायो, म चाहिँ यस….भन्दै चिच्याएछु । मसँगै बसिरहेका प्रशिक्षक र अन्य खेलाडी मतिरै हेरिरहनु भएको रहेछ । मलाई निकै अप्ठ्यारो लाग्यो,’ उनी सुनाउँछन् ।

‘उमरको विकेटलगत्तै सन्दीपले चौका खायो । म बेहोसीपनमा भनिरहेको हुन्थेँ– स्यान्डी यो भएन । यसरी बलिङ गर । अनि सबै आश्चर्यमा पर्दै मतिर हेर्नुहुन्थ्यो । त्यसपछि त म टीमसँग बस्न सकिनँ । यहाँ बसेँ भने त मलाई पिट्छन् भनेर उठेर अर्को स्थानमा गएँ । त्यहीँ बसेको भए ब्राभो, जेपीले पिट्थे होला …(हाँस्दै) । एकदमै अनौठो क्षण थियो त्यो ।’

सन्दीपबारे सोमपाल भन्छन्, ‘स्यान्डी मेरो भाइजस्तै हो । राष्ट्रिय टीमबाट खेल्दा उसलाई हौस्याउन म अभ्यस्त भइसकेको थिएँ । त्यसैले ग्लोबल टी–२० मा पनि आफूलाई रोक्न सकिनँ ।’

‘विश्वकप खेल्ने सपना तुहिँदा…’

सोमपाल र सन्दीप लामिछाने आईसीसी टी–२० विश्वकपअन्तर्गत एसिया क्षेत्र छनोटको फाइनल राउण्ड खेलेर सिंगापुरबाट क्यानाडा प्रस्थान गरेका थिए । विश्वकपको ढोका खोल्ने लक्ष्य बनाएर सिंगापुर प्रस्थान गरेको नेपाली क्रिकेटको यात्रा त्यहीँ सकिँदा क्रिकेटप्रेमी निराश बनेका थिए ।

सोमपाल भन्छन्, ‘क्यानाडा पुगेपछि पनि मेरो दिमागमा विश्वकप छनोट नै घुमिरहेको थियो । हाम्रो सपना थियो विश्वकप खेल्ने । त्यो असफल भएपछि म पूरै खालीजस्तो भएको थिएँ ।’

उनकाअनुसार क्यानाडा जाने मनै थिएन । ‘प्रतियोगिता खेल्नुअघि मेरो एउटा लक्ष्य हुन्छ । यस्तो गर्छु भन्ने योजना हुन्छ । तर विश्वकप खेल्ने सपना अधुरै भएपछि म योजनाविहीव भएँ । ग्लोबल टी–२० क्यानाडा लिगमा मैले सोचेजस्तो खेल्न सकिनँ,’ सोमपालले भने ।

२०/२२ घण्टाको यात्रापछि क्यानाडा पुगेका उनलाई त्यहाँ विभिन्न देशका खेलाडीको प्रश्नले झनै चिन्तित बनायो ।

यूएई, क्यानाडा, नेदरल्यान्ड्स लगायत देशका खेलाडीले नेपालले किन हार्‍यो भनेर सोधिरहँदा उनको दिमाग फनफनी घुम्यो ।
सोमपाल भन्छन्, ‘म विर्सन खोजिरहेको थिएँ । लिगमा फोकस गर्न खोजिरहेको थिएँ । तर त्यहाँ सबैले उही कुरा सोधिरहेका थिए । रोहन मुस्तफा नेपाल छनोट नभएकोमा निकै दुःखी थिए । अन्य खेलाडीले पनि सोधेँ । मलाई १०–१५ दिनसम्म त्यही विश्वकप छनोटको कुराले सताइरह्यो ।’

को कस्ता थिए ?

त्यसो त क्यानाडामा पुग्ने वित्तिकै उनी सबैजनासँग घुलमिल भइहाले । सबैले उनीसँग हात मिलाउँदै परिचय दिँदा सोमपाल गदगद भए । ‘कप्तान जेपी डुमिनी आफैं म भएको स्थानमा आउनुभयो । सबैले मलाई पहिल्यै चिनेका रहेछन् । एकदम खुशी लाग्यो । मलाई कसैले चासो दिन्छ होला भन्ने लागेको थिएन । तर सबैले राम्रो प्रतिक्रिया दिए,’ उनले सुनाए ।

पहिलोपटक ठूलो अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग खेलेका सोमपालले आफ्नो टीममेटहरुका बारेमा पनि सुनाए । ‘क्रिस लिन एकदमै प्रोफेसनल तरिकाले बोल्थे । पाकिस्तानका मोहम्मद इर्फान फन्नी टाइपका थिए । ब्रेकफास्ट खाँदा हामी एउटै टेबलमा सधैं सँगै हुन्थ्यौं । वेष्ट इन्डिजका खेलाडी सबै मिलनसार थिए’ सोमपालले आफ्नो अनुभव सुनाए ।

त्यो दुई ओभर !

सोमपाल क्लबमा ढिलो गरी उपस्थित भएका थिए । ढिलो हुनुको कारण विश्वकप छनोट थियो । उनी क्यनडा पुग्दा क्लबले चार खेल खेलिसकेको थियो । चार खेल्दासम्म सबै खेलाडी प्लेइङ इलाभेनमा सेट भइसकेका थिए । अन्तिमतिर निकै महत्वपूर्ण खेल थियो । त्यो बेला खेलाडी परिवर्तन नगर्नु स्वभाविक थियो । सोमपाललाई प्लेइङ इलाभेनमा स्थान बनाउनै मुस्किल भयो ।

‘कसैले पनि सोचेका थिएनन् होला यो टीमले फाइनल पुग्दै उपाधि जित्छ । तर एकपछि अर्को खेल राम्रो हुँदै गयो । सबै खेलाडीले राम्रो खेले । यसले गर्दा पनि मैले धेरै मौका पाइनँ,’ उनी थप्छन् ।

सोमपालले ग्लोबल टी–२० क्यानाडा लिगमा एडमोन्टन रोयल्सविरुद्धको खेलमा मौका पाए । उनले बलिङ र ब्याटिङ दुबैमा अवसर पाएका थिए । तर उनको डेब्यू खेल विर्सनलायक बन्यो । सोमपालले दुई ओभरमा ३३ रन खाए र कुनै विकेट लिन सकेनन् ।

मैदानमा आफूले योजनाअनुसार खेल्न नपाएको सोमपाल बताउँछन् । भन्छन्, ‘मैले सुरुको दुई ओभर र अन्तिम दुई ओभरमा बलिङ गर्ने भन्ने तय भएको थियो । तर एकाएक मिडिल ओभरमा बलिङ गर्नुपर्ने भयो । ब्याट्सम्यानहरु आक्रमणको मुडमा थिए । त्यसैले मैले लय पकड्न सकिनँ । प्रशिक्षकले मलाई नयाँ बल नदिएकोमा सरी भन्नुभयो ।’

तर यसलाई देखाएर आफ्नो कमजोरी ढाकछोप गर्न उनी चाहँदैनन् ।

सोमपाल भन्छन्, ‘एउटा बलर जस्तो परिस्थितिमा पनि बलिङ गर्न तयार हुनुपर्छ । त्यसमा म चुकेकै हो । मलाई महशुस हुन्छ कि मैलै आफ्नो सय प्रतिशत देखाउन पाइनँ ।’

त्यसो त २०१४ मा यूएईविरुद्ध नेपालको राष्ट्रिय टीमबाट डेब्यु गर्दा पनि उनको प्रदर्शन खराब नै थियो ।

त्यसबेला उनले ७ ओभरमै ७५ रन खाएका थिए । ‘मेरो पहिलो खेल नराम्रो हुँदा अन्य खेलाडीले गाली गर्नुभएन । किनकी मेरो क्षमता उहाँहरुलाई थाहा थियो,’ सोमपाल भन्छन् । आफूले क्लबको अभ्यासमा राम्रो गरेको र सबैको साथ र सहयोग पाएको उनी बताउँछन् । ‘मैले यति तीव्र गतिमा बल फाल्छु भनेर उनीहरुले सोचेका थिएनन् । मैले योर्कर बलहरु फालेको थिएँ । तर म्याचमा उनीहरुले मलाई प्रयोग चाहिँ गर्न जानेनन्,’ सोमपालले भने ।

ब्याटिङतर्फ पनि उनको राम्रो हुन सकेन । पाँच बल सामना गरेका उनले एक रन मात्रै जोड्न सके । भन्छन्, ‘त्यो पाँच बल मेरो लागि महत्वपूर्ण थियो । अन्तिम दुई ओभरमा ब्याटिङ गर्न गएको थिएँ । मलाई पेस बल मन पर्छ । त्यो स्तरको बल आएन । मेरो उचाइ कम छ । उनीहरुले सर्ट बल फालिरहेका थिए तर मैले ब्याटमा कनेक्ट गर्न सकिनँ ।’

शाहिद अफ्रिदीको त्यो क्याच

टीममा पर्दा राम्रो प्रदर्शन गर्न नसके पनि सोमपालले प्लेअफको दोस्रो क्वालिफायरमा फिल्डरका रुपमा मैदान छिर्ने अवसर पाए । त्यसमा उनी शाहिद अफ्रिदीको क्याच लिन सफल भए ।

परिवर्तित खेलाडीको रुपमा केही छिनका लागि मैदानमा छिरेका सोमपालले अफ्रिदीले उडाएको बलललाई बाउन्ड्री लाइनमा समातेका थिए । त्यो विकेट निकै महत्वपूर्ण थियो टीमको लागि ।

सोमपालले भने, ‘सबैले भनिरहेका थियो कि त्यो क्याच निकै राम्रो र कठिन थियो । तर मलाई सामान्य लाग्यो । फिल्डिङ गर्न बसेको खेलाडीले बल आएपछि समात्नै पर्‍यो । त्यसमा केहि ठूलो कुरा होइन ।’

‘मलाई यसअर्थमा खुशी लाग्यो कि कम्तीमा एउटा क्याच गरेँ । किनभने मेरो हातबाट एउटा रनआउट हुनुपर्ने बचेको थियो,’ उनी अगाडि थप्छन्, ‘अरु टीमको प्रशिक्षक आएर पनि भनिरहेका थिए एकदमै राम्रो फिल्डिर रहेछ । अनि उहाँहरुले फिल्डिङ इन्जोइ गर्छौ ? भन्नु भयो । मैले भनेँ म मैदानमा छिर्ने वित्तिकै जेमा पनि इन्जोइ गर्छु ।’

बेन्चबाट हेर्दा

एक खेलबाहेक अरुमा सोमपाल बेन्चमै रहे । बेन्चमै बसे पनि उनको टीम च्याम्पियन बन्यो । बेन्चमा उनी प्रशिक्षकसँगै बस्थे ।

आफ्नो तर्कहरु राख्थे भने उनको कुराप्रति प्रशिक्षक पनि खुशी थिए । उनी भन्छन्, ‘म प्रशिक्षकलाई भन्ने गर्थे यो गरे कस्तो हुन्छ ? यो फिल्डरलाई यता राखेर यो बलरलाई यसरी बलिङ गर्न लाउँदा कस्तो हुन्छ भनेर भन्ने गर्थे । मेरो कुरामा प्रशिक्षक एकदमै सहमत हुनुहुन्थ्यो ।’

बेन्चमै हुँदा पनि प्लेइङ इलाभेनमै छु जस्तो महशुस भएको सोमपाल बताउँछन् । उनी विकेट झर्ने वित्तिकै पानी बोकेर मैदानमा पुग्थे ।

फाइनल खेलमा पनि उनी बेन्चमै थिए । खेल सुपर ओभरमा पुगेर विनिपेगले जित्यो । यो जितसँगै सोमपाल अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग जित्ने टोलीका सदस्य बने । उनले जितको खुसी मनाए । उनी भन्छ्न्, ‘एकदमै रमाइलो पल थियो त्यो, म भुल्नै सक्दिन । म तयार थिएँ मैदानभित्र दौडिन । उपाधि जित्यौं । खुशी मनायौं । तर ट्रफी फेरि यति गरुंगो थियो कि त्यो ट्रफी बोकेर मैले फोटो पनि खिचाउन सकिनँ । उठाउन नै सकिनँ ।’

राष्ट्रिय जर्सी र क्लब जर्सी

राष्ट्रबाट प्रतिनिधित्व गर्दै खेल्नु र क्लबबाट खेल्नुमा निकै फरक हुन्छ । त्यो फरकको अनुभव सोमपालले पनि राम्रोसँग बटुले ।
‘राष्ट्रिय जर्सी लगाएपछि चाहिँ दबाबसँगै उत्तरदायित्व हुन्छ । तर क्लबको जर्सीमा त्यो नहुदो रहेछ । क्लबको जर्सी लगाउँदा जाउ र खेल भन्ने हँुदो रहेछ । त्यो महशुस चाहिँ एकदमै राम्रो थियो’ उनले सुनाए ।

ड्रेसिङ रुमको माहोल छुट्टै हुन्छ । सोमपालको लागि त्यस्तै थियो पनि । सबै अनुभवी खेलाडी थिए ।

सोमपालका लागि ड्रेसिङ रुम पनि त्यस्तै अविस्मरणीय बन्यो । उनी आफ्नो अनुभव यसरी सुनाउँछन्, ‘सबैलाई आफ्नो भूमिका थाहा थियो । त्यसले गर्दा ड्रेसिङ रुममा एकदम रमाइलो हुन्थ्यो । म्युजिक, मसाजदेखि अन्य साथीहरुसँग हासिमजाक गरिन्थ्यो । मैले पनि ब्राभो, इर्फानसँग रमाइलो गर्थे । क्यानाडाका खेलाडीहरु पनि निकै रमाइला थिए ।’

ग्लोबल टी–२० क्यानाडा लिगले सोमपाललाई अन्य लिग खेल्ने ढोका खोलेको हो ? यो प्रश्नमा सोमपाल भन्छन्, ‘यो प्रतियोगिता खेल्दा म खुशी छु । अब अर्को फ्रेन्चाइज टीमले मलाई किन्छ कि किन्दैन त्यो मेरो हातमा छैन ।’ आशा गरौं उनले भविष्यमा अन्य लिगहरु पनि खेलुन् ।

तस्वीर र भिडियो :  शंकर गिरी

सोमपाल कामी
लेखक
सरोज तामाङ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय