२४ भदौ, काठमाडौं । कप्तान रोहितकुमार पौडेलको कप्तानी पारीसँगै एसीसी यू-१९ एसिया कप क्रिकेटमा नेपालले यूएईलाई २८६ रनको लक्ष्य दिएको छ ।
यूएईले केहीबेरमा जवाफ ब्याटिङ गर्नेछ ।
यसअघि मारियन्स क्रिकेट ग्राउण्ड, श्रीलंकामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले मात्र ८ रन जोड्दा सुरुवाती दुई विकेट गुमाएको थियो । तर त्यसपछि सम्हालिएर खेलेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २८५ रन बनायो ।
नेपालका लागि कप्तान रोहितकुमार पौडेलले कप्तानी पारी खेले । उनले तेस्रो विकेटका लागि आशिफ शेखसँग ७१ र चौथो विकेटका लागि सन्दीप जोरासँग ८५ रनको साझेदारी गरे ।
रोहितकुमार ६७ रनमा आउट भए । आशिफले ४५ र सन्दीपले ४८ रन बनाए । भीम सार्की मात्र एक रनमा आउट भए । कुशल मल्ल २२ रनमा आउट भए, जतिबेला नेपालको स्कोर २०६/७ थियो ।
आठौं विकेटका लागि रासिद खान र कमल सिंह ऐरीले ७० रनको उत्कृष्ट साझेदारी गरे । राशिद ४४ रनमा आउट भए । आक्रामक पारी खेलेका कलमसिंहले २५ बलमा ४१ रन बनाए । सागर ढकाल २ रनमा नटआउट रहे ।
प्रतिक्रिया 4