Comments Add Comment

नमीठो बहिर्गमनको संघारमा महेन्द्रसिंह धोनी

काठमाडौं । भारतका सर्वकालिन लोकप्रिय क्रिकेटरहरूको सूचीमा पर्छन्, महेन्द्र सिंह धोनी । लामो समय भारतीय टिमको कप्तानी गरेका उनी ब्याट्सम्यान, विकेटकिपर र कप्तान तीनवटै भूमिकामा सफल रहे । तर, अहिले उनको क्रिकेट करिअरमा अप्रिय मोड आएको छ ।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले बिहीबार २७ खेलाडीको करार सूची सार्वजनिक गर्‍याे। चारवटा श्रेणीमा छुट्याएर गरिएको करारमा धोनीलाई उपेक्षा गरिएको छ । यसको अर्थ उनको अन्तर्राष्ट्रिय क्रिकेट करिअर समाप्तिको संघारमा पुगेको भनेर बुझ्न सकिन्छ ।

धोनीले टेस्ट क्रिकेटबाट सन्न्यास लिए पनि एक दिवसीय र टी–२० बाट खेल्न अझै पनि तयार छन् । तर, केही समययता उनलाई सीमित ओभरको खेलमा पनि स्थान दिइएको छैन । अहिले आएर बीसीसीआईले केन्द्रीय करार नै नगरेपछि क्रिकेटबाट उनको अपमानजनक बहिर्गमन हुनसक्ने देखिएको छ ।

सन् २०१९ को नोभेम्बरमा धोनीले उनको भविष्यलाई लिएर पत्रकारले सोधेको प्रश्नमा भनेका थिए, ‘जनवरीसम्म प्रतीक्षा गर्नुस् ।’

त्यसको २४ घन्टाभित्रै बीसीसीआईका नयाँ अध्यक्ष तथा पूर्वकप्तान सौरभ गांगुलीले एक अन्तरवार्तामा भने, ‘धोनीको भविष्यलाई लिएर सबै कुरा प्रष्ट छ । टिम व्यवस्थापन, बोर्ड र धोनी तीनै पक्षबीचमा कुनै असमझदारी छैन ।’

त्यतिबेला धोनी र गांगुली दुवैका अभिव्यक्ति गोलमटोल थिए । यद्यपि, धोनी जनवरीमा खेलमा फर्किन सक्ने अनुमान गरिएको थियो । तर, त्यस्तो भएन । उनी टिमबाट बाहिरै रहे । अहिले आएर बीसीसीआईको सेन्ट्रल कन्ट्राक्टमा नपरेपछि धोनीले त्यतिबेला दिएको अभिव्यक्तिको आशय प्रष्ट भएको छ ।

धेरैलाई कौतुहल थियो कि धोनीले सन् २०२० को टी–२० विश्वकप खेल्छन् कि खेल्दैनन् भन्ने । केन्द्रीय करारमा नपरेपछि उनले अन्तर्राष्ट्रिय म्याचहरू खेल्न पाउने सम्भावना यसै पनि न्यून बनेको छ । यदि फाट्टफुट्ट म्याचमा मौका पाए भने पनि विश्वकप खेल्न सक्ने सम्भावना भने झिनो छ ।

त्यसो त भारतीय राष्ट्रिय टिमबाट खेल्नका लागि बीसीसीआईसँग वार्षिक करार गर्नैपर्छ भन्ने छैन । करार नभएका खेलाडी पनि टिममा पर्न सक्छन् । त्यसैले धोनीका लागि यो वर्ष अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने ढोका नै बन्द भएकोचाहिँ होइन । तर, अब कम्तीमा दुई महिना उनी टिमबाहिरै हुनेछन् । अहिले भारतले अष्ट्रेलियासित घरेलु सिरिज खेलिरहेको छ भने यसपछि न्युजिल्यान्ड भ्रमणमा जाँदैछ । दुवैका लागि घोषित टिममा धोनी छैनन् ।

व्यवहारिक रूपमा हेर्दा केन्द्रीय करार ती खेलाडीले पाउँछन् जो टिमका नियमित सदस्य हुन् । उनीहरूको अनुभव र फर्मका आधारमा ए प्लस, ए, बी र सी श्रेणीमा वर्गीकरण गरेर बीसीसीआईले करार गर्छ । ए प्लसलाई सर्वाधिक वार्षिक सात करोड भारु प्राप्त हुन्छ । यस्तै, ए लाई ५ करोड, बी लाई २ करोड, सी लाई १ करोड पारिश्रमिक उपलब्ध हुन्छ । यसअघि धोनी ‘ए’ श्रेणीमा थिए र पाँच करोड पाउँथे । अहिले उनलाई वर्गीकरणबाटै मिल्काइएको छ ।

धोनीले पछिल्लोपटक सन् २०१९ को एक दिवसीय विश्वकप खेलेका थिए । उक्त विश्वकपको सेमिफाइनलयता उनले अन्तर्राष्ट्रिय क्रिकेट म्याच खेलेका छैनन् । टिममा लामो समय अनुपस्थित भएपछि केन्द्रीय करारमा नपर्नु स्वभाविकै पनि हो । अहिले भारतीय टिममा विकेटकिपर–ब्याट्सम्यानको रूपमा रिसभ पन्तले स्थान बनाएका छन् ।

कोहली र शास्त्रीसित दुष्मनी

भारतीय क्रिकेट टिमका प्रमुख प्रशिक्षक रवि शास्त्रीले एक हप्ता अगाडि मात्रै धोनीले आफ्नो ओडीआई करिअरमा पूर्णविराम लगाउने भविष्यवाणी गरेका थिए । यस विषयमा धोनीले आफूसँग छलफल गरेको उनको दाबी थियो ।

‘अब धोनीले एक दिवसीय खेल्ने सम्भावना देखेको छैन,’ शास्त्रीले भनेका छन्, ‘उनी अब टी–२० का लागि मात्रै सुहाउँदा ब्याट्सम्यान हुन् ।’

शास्त्रीले धोनीको उमेरलाई इंगित गर्न खोजेका थिए । तर, ३७ वर्षमा हिँडिरहेका धोनीको स्टामिना अहिले पनि राम्रो छ । विकेटको बीचमा उनी खरायोझैं कुद्छन् ।

यथार्थमा यो रवि शास्त्रीको चाहना हो कि धोनीले चाँडोभन्दा चाँडो सन्न्यास लिऊन् । धोनीसँग उनको सम्बन्ध पहिल्यैदेखि खराब छ । धोनीलाई माइनस गरेर विगतदेखि उनले विराट कोहलीलाई काखी च्याप्दै आएका छन् ।

यता भारतीय टिमका हालका कप्तान विराट कोहलीसित पनि धोनीको सम्बन्ध राम्रो छैन । उनीहरूबीच टकरावका खबरहरू बारम्बार मिडियामा आउने गरेका छन् । यद्यपि, फिल्डमा भने धोनीले विराटलाई सघाइरहेको पनि देखिन्थ्यो ।

धोनी हुँदा र नहुँदा

धोनी हुँदा र नहुँदा भारतीय टिममा ठूलै फरक पर्छ । उनको शान्त स्वभाव, ठीक समयमा ठीक निर्णय गर्ने क्षमता र विकेटपछाडिको चलाखी भारतीय टिमले मिस गर्नेछ ।

विकेटपछाडि धोनी निकै तीक्ष्ण छन् । चलाखीपूर्ण तरिकाले ब्याट्सम्यानलाई स्टम्पिङ वा रन आउट गराउन उनी माहिर छन् । विकेटकिपरका रूपमा उनले गल्ती गरेका उदाहरणहरू निकै कम छन् । समकालीन विकेटकिपरमा उनी विश्वमै उत्कृष्ट मानिन्थे । रिसभ पन्त वा केएल राहुलमा धोनीको स्तरको किपिङ भारतले पाउनेछैन ।

धोनीको उत्तिकै सवल पक्ष हो, ब्याटिङ । उनी परिस्थिति अनुसार ब्याटिङ गर्छन् र जस्तोसुकै अवस्थाबाट टिमको उद्दार गर्ने क्षमता राख्छन् । सीमित ओभरको क्रिकेटमा त उनी विश्वकै उत्कृष्ट ब्याट्सम्यानको सूचीमा पर्छन् । टेस्टमा भने उनको आँकडा औसत मात्र छ ।

कप्तान हुँदा धोनी ‘कुल क्याप्टेन’ भनेर चिनिन्थे । उनी हम्मेसी आवेशमा आउँदैनन् । भित्र जे भए पनि बाहिर उत्तेजना देखाउँदैनन् । यही ‘कुल’ स्वभावले गर्दा धोनीका प्रशंसक विश्वभर छन् ।

अहिलेका कप्तान कोहलीको स्वभाव ठीक उल्टो छ । उनी सानोतिनो कुरामा पनि उत्तेजना प्रदर्शन गरिहाल्छन् । घमन्डी पनि छन् । ब्याटिङमा जति उत्कृष्ट भए पनि स्वभावकै कारण कोहलीलाई नरुचाउनेहरु धेरै छन् ।

धोनीका सफलता

धोनीले भारतको राष्ट्रिय टिमबाट ९० टेस्ट, ३५० एक दिवसीय र ९८ टी–२० खेलेका छन् । एकदिवसीयमा १० शतकर ७३ अद्र्धसतकसहित उनको औसत ५० भन्दा माथि छ । यस्तै, टेस्टमा ३८ र टी–२० मा ३७ को औसतमा उनले ब्याटिङ गरेका छन् ।

कप्तानको रूपमा धोनीले भारतलाई ठूला सफलताहरु दिलाएका छन् । उनको कार्यकालमा भारत १८ महिनासम्म टेस्ट क्रिकेटको नम्बर १र्‍याङ्किङमा रह्यो । सन् २००७ मा आयोजित पहिलो टी–२० विश्वकपको फाइनलमा पाकिस्तानलाई हराएर भारतले उपाधि जित्दा उनी कप्तान थिए । धोनीले सन् २०११ मा एक दिवसीय विश्वकपको उपाधि पनि भारतलाई दिलाए ।

आईपीएलमा पनि धोनीको सफलता रेकर्ड उत्तिकै राम्रो छ । चेन्नई सुपरकिंग्सको कप्तानी गर्दै आएका उनले आफ्नो टिमलाई तीन पटक उपाधि दिलाइसकेका छन् । उनले आगामी आईपीएलमा पनि चेन्नईको नेतृत्व गर्नेछन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment