Comments Add Comment

अब खेलमा फर्किँदा साह्रै गाह्रो हुन्छ

१६ दिनमा २० वटा नाटक हेरेँ

लकडाउन भएको पनि एक महिना हुन लागिसक्यो । हामी खेलाडीहरुको दैनिकी पनि लकडाउनले फेरिएको छ ।

अहिले खेलकुद क्षेत्रमात्र होइन सबै क्षेत्रमा कोभिड १९ ले असर गरिरहेको छ । पहिला बिहान–बेलुका ट्रेनिङ गरिन्थ्यो, लकडाउनले गर्दा बाहिर ट्रेनिङ गर्न जाने सम्भावना छैन । त्यसैले समय पहिला भन्दा फरक छ । अझै अब के के हुने हो भन्ने आशंका छ ।

खेलाडीहरु नियमित प्रशिक्षण गरिरहनुपर्छ । प्रशिक्षण र अभ्यास नियमित भएन भने खेल क्षमता खस्किदै जान्छ । तर अहिले त्यो भन्दा महत्वपूर्ण विषय आफ्नो र समुदायको स्वास्थ्यलाई कसरी सुरक्षित गर्ने र रोगबाट कसरी बच्ने भन्नेबारेमा सोच्नुपर्छ । खेल्न र अभ्यास गर्न नपाएकामा केही नरमाइलो त छ नै त्यो भन्दा महत्वपूर्ण त स्वास्थ्य नै हो ।

खेलाडीहरुको मुख्य लक्ष्य भनेको राम्रो खेल प्रदर्शन गर्ने र नतिजा राम्रो ल्याउने हो । तर अहिले खेल भन्दा पनि रोगबाट सुरक्षित रहने कुरा प्रमुख हो । पहिले नियमित अभ्यास र प्रशिक्षण गर्न पाइएन भनेर मानसिक रुपमा डिस्टर्ब हुँदा झन् डिप्रेसन होला झन्, इनर्जी नहोला ।

लकडाउनले बिचलित भएको छैन

अहिले विश्वभर नै अवस्था यस्तै छ । कहिले सकिएला लकडाउन, अवस्था कहिले शान्त होला भन्ने मनमा छटपटी भइरहन्छ । हामी दौडिरहने खेलाडी, कहिलेकाहीँ दौडन मन पनि लाग्छ । तर यतिबेला सम्भव छैन ।

यो कोभिड १९ पनि ढिलो चाँडो अन्त्य होला । त्यसपछि हामी नर्मल जीवनमा फर्किनुपर्छ । ट्रेनिङ गर्नुपर्छ, प्रदर्शन गर्नुपर्छ । त्यतिखेर चाहिँ साह्रै गाह्रो हुन सक्छ । फेरि शून्यबाटै सुरु गर्नुपर्छ ।

अवस्था सामान्य भएपछि पहिला जस्तै नियमित हुन केही समय लाग्छ । अहिले पनि खेलस्तर नखस्कोस् भनेर अरुलाई असर नहुने तरिकाले डिस्ट्यान्स प्रोटोकल अपनायर ट्रेनिङ गर्ने गरेको छु ।

घरको काम गर्छु

म बुढानीलकण्ठमा बस्छु । मेरो नजिक धेरै घर छैन । काठमाडौं भए पनि गाउँजस्तो छ । घरनजिकै करेसाबारीमा हिँड्ने र त्यहीँ एक्सरसाइज गर्छु ।

पहिला मेडिटेसन गर्ने समय हुँदैनथ्यो, पढ्ने समय हुँदैनथ्यो । पछिल्लो समय धेरै व्यस्त भएर घरको काम गर्न पाएको थिइनँ । अहिले घरको काममा सघाइरहेको छु । बारीको काममा पनि सहयोग गरिरहेको छु । फूलहरु सारेको छु, धनियाँ र साग रोपेको छु ।

यो बेला यही काम गर्नुपर्छ भन्ने छैन । कसैलाई केही मन लाग्ला, कसैलाई केही । आफूलाई जे ठीक लाग्छ, जे गर्दा राम्रो हुन्छ त्यही गर्छु तर अरुलाई हानी नहोस् भनेर सोच्छु । घरको कोठा सफा गर्छु, सामानहरु मिलाउँछु । दिमागलाई एउटै कुरामा मात्र केन्द्रित हुन दिन्न, यसरी मेन्टल्ली फ्रेस हुन्छु ।

घरमा फाल्न राखेको प्लास्टिकबाट विभिन्न सजावटका सामान बनाइरहेको छु ।

त्यसले हामीलाई ब्यस्त पनि बनाउँछ, कस्मेटिक भ्यालु पनि भयो, अनि यस्तो कामले दिमाग फ्रेस बनाउँछ । तनावमुक्त भइन्छ । त्यस्तै फुटेका भाडा जम्मा गरेर विरुवा पनि रोप्ने गरेको छु ।

फुर्सदमा घरमा आमा र दाइलाई पनि एक्सरसाइज गर्न सिकाएको छु । मलाई त एक्सरसाइज गर्नुपर्ने बाध्यता नै भयो । तर मैले कसरी अभ्यास गर्छु घरमा थाहा थिएन । त्यसैले उहाँहरुलाई पनि सामान्य खालका एक्सरसाइजहरु सिकाएको छु ।

मेरो फुर्सदको बेला र उहाँहरुको पनि रुची भएको बेला सँगै एक्सरसाइज गर्छौं ।

१६ दिनमा २० नाटक हेरेँ

घरको कामबाहेक पढ्ने, फिल्म हेर्ने, भर्चुअल नाटक फेस्टिभल पनि हेर्ने गरेको छु । खेलकुदसँग सम्बन्धित लेखरचनाहरु पढ्छु । घरमा पढ्न मन लागेको किताब नहुन सक्छ, इन्टरनेटमा ईबुकहरु खोजेर पढ्छु । अडियो बुकहरु पनि खोजेर सुन्ने गरेको छु । प्रायः पढ्न अल्छी लाग्दा अडियो बुक सुन्छु ।

यो लकडाउनको समयमा सर्ट मुभीहरु धेरै हेरेँ । अहिले भर्चुअल थियटर फेस्टिभल, साहित्यिक फेस्टिभल फेसबुकमा लाइभ भइरहेको छ । यस्ता कार्यक्रमहरु हेर्छु ।

आफूलाई कुन कुन विधा मन पर्छ त्यही त्यही फलो गरेर हेर्ने गरेको छु । मैले लकडाउनको अवधिमा थियटर फेस्टिभलमा १६ दिनमा २० वटा नाटक हेरेँ । त्यति नाटक हेर्न मलाई पैसा पनि चाहिन्थ्यो, समय पनि चाहिन्थ्यो । सामान्य अवस्थामा २० वटा नाटक हेर्न मलाई ५–६ वर्ष नै लाग्थ्यो होला ।

इन्टरनेट हेरेर र गुरुहरुसँग कुरा गरेर खेलसम्बन्धी नै नयाँ कुरा सिकिरहेको छु । गुरुहरुले पनि सिकाउहुन्छ एक्सरसाइज गर भन्नुहुन्छ ।

विदेशी खेलाडीको फेसबुक पेज हेरेर पनि धेरै कुरा सिक्न सकिन्छ । पहिला यस्ता कुरा धेरै हेरेको थिइनँ । अहिले हेर्न पाएको छु ।

अहिले मौसम पनि रमाइलो छ । फूल फुल्ने, नयाँ पालुवा पलाउने, चराहरु कराउने बेला हो । म प्रकृतिमा रमाउँछु, माइन्ड फ्रेस गराउनको लागि यो पनि राम्रो माध्यम हो । त्यसको फोटो, भिडियो, साउन्डहरु लिन्छु राम्रो लाग्छ ।

पुरस्कारको सदुपयोग

१३ औं सागमा मैले १० हजार मिटरमा स्वर्ण जितेवापत ९ लाख रुपैयाँ पुरस्कार पाएको छु । अब यसलाई राम्रो काममा सदुपयोग गर्नेछु । तर केमा खर्च गर्ने भन्ने योजना बनाइसकेको छैन ।

तर म पढिरहेको छु, पढाइको लागि पनि खर्च चाहिन्छ । अनि बाबालाई अलि पैसाको खाँचो छ, उहाँलाई दिन्छु । मलाई बाबाले खोजेर दिनुहुन्छ भने मैले किन सहयोग नगर्ने ?

पुरस्कारवापत पाएको रकम धेरै नै हो । तर यसबाट मात्र खेलाडीको जीवन चल्छ भन्ने छैन । त्यही भएर दीर्घकालीन रुपमा हुने योजना आयो भने खेलाडीको भविष्य राम्रो हुन्छ ।

र अन्त्यमा

अहिले कोभिड १९ ले गर्दा सारा विश्व प्रभावित छ । नेपालमा पनि यसको असर छ । अहिले सुरक्षित हुने बेला हो । यस्तै आफू नजिकका मानिसहरुलाई पनि सहयोग गर्नुपर्छ । पैसाको सहयोग मात्र ठूलो कुरा होइन ।

आफ्नो नजिक कसैले दुख पाएको छ भने सहयोग गर्छु । त्यो बाहिर देखाउनुपर्छ नै भन्ने छैन । नजिक कोही बिरामी छ, हस्पिटल जान सकेको छैन भने उहाँहरुलाईसहयोग गर्न सक्छु । अरुले पनि यसरी सहयोग गर्दा राम्रो हुन्छ ।

कोरोना कोषमा रकम जम्मा गर्दा प्रोसेस लामो हुन सक्छ । त्यसैले हरेक मानिसले समुदायले आफ्नो क्षेत्रमा कसलाई गाह्रो परेको छ पत्ता लगायर सहयोग गर्‍यो भने राम्रो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment