१२ चैत, काठमाडौं । त्रिदेशीय फुटबल प्रतियोगितामा नेपाल र किर्गिस्तानको ओलम्पिक टिम (यू-२३ ) बीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।
बिहीबार दशरथ रंगशालामा भएकाे खेलमा नेपालले पाएकाे अवसर सदुपयाेग गर्न नसक्दा खेल बराबरीमा रोकिएको हो ।
यो नतिजापछि बंगलादेश भने नेपालसँग लिग चरणकाे खेल खेल्नुअघि नै फाइनलमा पुगेकाे छ । बंगलादेशले ३ अंक जोडेको छ भने नेपाल र किर्गिस्तानको समान १ अंक छ ।
अब लिग चरणमा नेपाल र बंगलादेशबीचको खेल बाँकी छ । बंगलादेशले पहिलाे खेलमा किर्गिस्तानलाई १-० ले पराजित गरेकाे थियाे । नेपाल र बंगलादेशबीचको खेल शनिबार हुनेछ ।
६ वर्षपछि नेपाली राष्ट्रिय फुटबल टिमले दशरथ रंगशालामा फुटबल खेल्दा करिब ७ हजारकाे संख्यामा दर्शक खेल हेर्न उपस्थित थिए । घरेलु दर्शककाे अगाडि घरेलु मैदानमा खेलिरहेकाे नेपालले पहिलाे हाफमा गाेलका केही अवसर पाए पनि गोल गर्न सकेन ।
खेलकाे १० औं मिनेटमा त्रिदेव गुरुङकाे कर्नरमा अनन्त तामाङले हेड गरेको बल पाेष्ट नजिकैबाट बाहिरियाे ।
१४ औं मिनेटमा अन्जन विष्टले पेनाल्टी एरियाभित्रबाट प्रहार गरेकाे बल किर्गिस्तानकाे गाेलकिपर बिट भइसकेकाे अवस्थामा पाेष्टमा लागेर फर्कियाे ।
२९ औं मिनेटमा सन्जाेग राईकाे पासमा अभिषेक रिजालकाे प्रहार पनि पाेष्ट बाहिर गयाे । ३३ औं मिनेटमा अन्जन विष्टले पेनाल्टी एरियाकाे लाइनबाट प्रहार गरेकाे बल पाेष्ट नजिकैबाट बाहिरियाे । पहिलो हाफमा किर्गिस्तानले पनि गोलको अवसर सिर्जना गर्न सकेन ।
दाेस्राे हाफकाे सुरुवातदेखि नै खेलकाे गति केही बढेकाे थियाे ।
५३ औं मिनेटमा किर्गिस्तानका बाेरुबाएभ गुलझिगिटले प्रहार गरेकाे फ्रिकिक पाेष्टकाे केही माथिबाट बाहिरियाे । लगत्तै गुलझिगिटले प्रहार गरेकाे फ्रिकिक नेपालका गाेलकिपर किरण चेम्जाेङले बचाए ।
६२ औं मिनेटमा रन्जित धिमालकाे पासमा राेहित चन्दकाे हेडरले पाेष्टकाे दिशा लिन सकेन । यस्तै ६३ औं मिनेटमा रन्जितकै फ्रिकिकमा अञ्जन विष्टकाे हेडर पाेष्ट नजिकबाट बाहिरियाे ।
६७ औं मिनेटमा किर्गिस्तानका कप्तान तासिएभ कामाेलिदिन दाेहाराे पहेँलाे कार्ड पाउँदै मैदान बाहिरिएपछि किर्गिस्तान १० खेलाडीमा समेटिएकाे थियाे ।
किर्गिस्तान एक खेलाडी कम हुँदा नेपालले खेलमा दबाब बनाए पनि गाेलका लागि संघर्ष गरिरह्याे । नेपालले किर्गिस्तानकाे पाेष्टमा बल पुर्याए पनि फिनिसिङमा सफल हुन सकेन ।
किर्गिस्तानका गाेलकिपर प्रिएदकिन अर्तेमले केही राम्रा बचाउ गरे । त्रिदेव गुरुङ, सन्जाेग राई र निशान खड्काले पहिलाे पटक सिनियर टिमबाट खेले तर किर्गिस्तानको ओलम्पिक टिम भएकाले यसलाई आधिकारिक रुपमा अन्तर्राष्ट्रिय खेलमा डेब्यु मानिने छैन ।
मिडफिल्डरद्वय त्रिदेव र सन्जाेगले पहिलाे राैजाईमै खेलेका थिए । निशानले भने ८६ औं मिनेटमा रन्जित धिमालकाे स्थानमा मैदान प्रवेश गर्दै नेपालका लागि पहिलाे खेल खेले ।
दाेस्राे हाफमा प्रशिक्षक बालगाेपाल महर्जनले फरवार्ड लाइन परिवर्तन गरे पनि गाेल भएन ।
प्रतिक्रिया 4