२२ वैशाख, काठमाडौं । आगामी जुन-जुलाईमा हुने युरोकप २०२० फुटबलमा सहभागी हरेक टिमले २६ खेलाडी राख्न पाउने भएका छन् । युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएको एक्जुकेटिभ कमिटीले २३ बाट बढाएर २६ खेलाडी राख्न पाउने निर्णय गरेको हो ।
युइएफको राष्ट्रिय टिम कमिटीले अप्रिलमा लिएको यस निर्णयलाई युइएफए एक्जुकेटिभ कमिटीले स्वीकृत गरेको हो । महामारीले गर्दा खेलाडी र क्लबको लोड कम गर्न यस्तो निर्णय गरिएको हो ।
सम्भावित कोभिड१९ पोजेटिभ र त्यसपश्चात क्वारेन्टिन राख्न उपलब्ध खेलाडीहरूको अभावको सामना गरिरहेका टोलीहरूको जोखिम न्यूनीकरण गर्न सबै सहभागी टोलीहरूको लागि खेलाडी बढाउने निर्णय गरिएको युइएफएले जनाएको छ।
यसअघि नै हरेक टिमले खेलमा ५ जना खेलाडी सब्स्टिट्युट गर्न पाउने निर्णय भइसकेको छ ।
यद्यपी हरेक म्याचमा बढीमा एक टिमको २३ खेलाडी मात्र राख्न पाइनेछ । प्लेइङ ११ बाहेक १२ जना सब्स्टिट्युट खेलाडी बेन्चमा बस्न पाउनेछन् ।
कोरोना भाइरस महामारीले गर्दा एक वर्ष पछि सरेको युरोकप आगामी जुन ११ देखि जुलाई ११ सम्म युरोपको विभिन्न देशको शहरमा हुनेछ ।
जसमा लागि टिम दर्ता गर्ने अन्तिम मिति जुन १ रहेको छ ।
प्रतिक्रिया 4