+

हामीले यसरी छान्यौं ‘चालीस मुनिका चालीस’

‘चालीस मुनिका चालीस’ का लागि अन्तिम ४० नाम छान्नुअघि अनलाइनखबरले सम्भावित युवाहरूको फराकिलो सूची तयार गरेको थियो।

काठमाडौंस्थित केन्द्रीय समाचार कक्ष र सातै प्रदेशका प्रदेश कार्यालय तथा प्रवास मार्फत विभिन्न क्षेत्रमा सक्रिय युवाका नाम संकलन गरिए। समाचार कक्ष बाहिरका विज्ञ, जानकार व्यक्ति र स्रोतहरूसँग समेत सुझाव मागियो।

यसपटक अनलाइनखबरले पाठक तथा सर्वसाधारणलाई पनि आफूले योग्य ठानेका व्यक्तिको नाम सिफारिस गर्न सार्वजनिक आह्वान पनि गरेको थियो।

यी सबै माध्यमबाट एक हजार पाँच सय भन्दा बढी नाम प्राप्त भए।

प्राप्त नामलाई अनलाइनखबरको समाचार कक्षले राजनीति, समाज, कला-साहित्य, संस्कृति, युवा तथा खेलकुद, ज्ञान-विज्ञान, उद्यम-व्यवसाय र डायस्पोरा लगायत क्षेत्रमा वर्गीकरण गर्‍यो।

त्यसपछि योगदान, प्रभाव, निरन्तरता, नवीनता, भूगोल र नेपाली समाजको विविधतालाई ध्यानमा राख्दै निश्चित मापदण्डका आधारमा प्रारम्भिक सूचीलाई ८० जनामा सीमित गरियो।

समाचार कक्षबाट तयार भएको ८० जनाको यो सूची अन्तिम छनोटका लागि स्वतन्त्र जुरीसमक्ष प्रस्तुत गरिएको थियो।

८ असार २०८३ मा बसेको जुरी बैठकले विस्तृत छलफलपछि अन्तिम ४० जनाको सूची चयन गरेको हो।

अन्तिम छनोटका लागि गठित जुरीको संयोजकमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिल सिन्हा थिए। सदस्यहरूमा वैज्ञानिक तथा अनुसन्धाता डा. उत्तमबाबु श्रेष्ठ, सूचना-प्रविधि क्षेत्रकी विज्ञ डा. अमृता शर्मा र अनलाइनखबरका प्रधानसम्पादक बसन्त बस्नेत थिए।

‘चालीस मुनिका चालीस’ को संयोजन अनलाइनखबरका एसोसिएट एडिटर सुदर्शन खतिवडाले गरेका थिए।

(बायाँबाट) अनलाइनखबरका प्रधानसम्पादक तथा जुरी सदस्य बसन्त बस्नेत, जुरी सदस्य डा. अमृता शर्मा, जुरी संयोजक अनिल सिन्हा, सदस्य डा. उत्तमबाबु श्रेष्ठ र ‘चालीस मुनिका चालीस’ का संयोजक एवं अनलाइनखबरका एसोसिएट एडिटर सुदर्शन खतिवडा। तस्वीर : शंकर गिरी/अनलाइनखबर

अन्तिम सूचीमा परेका कुनै व्यक्ति सम्पर्कमा आउन नसक्ने वा सूचीमा रहन अनिच्छुक हुने अवस्था आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै जुरीले पाँच जनाको वैकल्पिक सूची पनि तयार गरेको थियो।

छनोटको उद्देश्य

समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय काम गरिरहेका युवाको पहिचान गर्नु, उनीहरूको योगदान र त्यसले सिर्जना गरेको सामाजिक प्रभावलाई सार्वजनिक अभिलेखमा ल्याउनु तथा नेपाली युवा पुस्ताभित्र रहेको सम्भावना र सकारात्मक अभ्यासलाई उजागर गर्नु ‘चालीस मुनिका चालीस’ को मूल उद्देश्य हो।

यो सूची ‘सबैभन्दा सफल’ वा ‘सर्वश्रेष्ठ’ ४० युवाको दाबी होइन। बरु फरक भूगोल, पृष्ठभूमि र क्षेत्रमा काम गरिरहेका युवामध्ये आफ्नो कर्मबाट अर्थपूर्ण प्रभाव सिर्जना गरिरहेका प्रतिनिधि कथाहरूको छनोट हो।

छनोटका मापदण्ड

१. पछिल्लो समयको प्रभाव
४० वर्षभन्दा कम उमेरका त्यस्ता युवा, जसले पछिल्लो एक वर्षमा आफ्नो क्षेत्र वा समाजमा देखिने र अर्थपूर्ण प्रभाव सिर्जना गरेका छन्।

२. प्रेरक सामाजिक प्रभाव
आफ्नो काम, विचार वा पहलबाट अरूलाई प्रोत्साहित गरिरहेका तथा जसको यात्राले समाजको उल्लेख्य हिस्सालाई सकारात्मक रूपमा प्रभावित गर्ने सम्भावना राख्छ।

३. निरन्तरता र विशिष्ट योगदान
कुनै क्षेत्रमा लामो समयको मिहिनेत, निरन्तर संघर्ष र अभ्यासबाट समाज वा समुदायमा विशिष्ट योगदान पुर्‍याएका युवा।

४. हानिकारक मान्यतामाथि प्रश्न
कुरीति, विभेद वा समाजलाई हानि पुर्‍याउने परम्परागत अभ्यास र मान्यतालाई चुनौती दिंदै सकारात्मक परिवर्तनका लागि काम गरिरहेका युवा।

५. नवीन सोच र कम देखिएका काम
नयाँ विचार, प्रविधि, अभ्यास वा समाधान मार्फत उल्लेखनीय काम गरिरहेका तर जसको योगदानले अझै मूलप्रवाहमा पर्याप्त ध्यान नपाएका युवा।

६. विविधताको प्रतिनिधित्व
छनोट गर्दा क्षेत्रसँगै भूगोल, सामाजिक पृष्ठभूमि, उमेर समूह र नेपाली समाजको विविधतालाई सम्भव भएसम्म प्रतिनिधित्व गराउने प्रयास गरिएको छ।

यसरी विभिन्न तहको खोज, प्रारम्भिक अध्ययन, समाचार कक्षको छलफल र स्वतन्त्र जुरीको मूल्याङ्कनपछि तयार भएको हो- अनलाइनखबर ‘चालीस मुनिका चालीस’।

 

स्टोरिज

ट्रेन्डिङ

सम्बन्धित