२३ पुस, काठमाडौं । दक्षिण कोरियाका लागि नेपाली राजदूत कमानसिंह लामाले पदीय आचरण विपरीत कोरियामा विभिन्न व्यवसायमा लगानी गरेको र धेरै नेपालीलाई अनधिकृत रुपमा कोरिया पुर्याएर देशकै बेइजयत हुने कार्य गरेको खुलासा भएको छ ।
लामाको नेपालमै होटलमा लगानी भए पनि कोरियामा छोरीको नाममा रेस्टुरेन्टमा लगानी गर्नु तथा दूतावास भवन अगाडी नै फोटो स्टुडियो खोलेर व्यापार गर्नु पदीय मर्यादाविपरीत छ । एमाओवादीको सिफारिसमा राजदूत बनेका लामामाथि संविधानसभा निर्वाचनका बेला पैसा उठाएर पार्टीलाई बुझाएको आरोप पनि लागेको नागरिक दैनिकमा खबर छ ।
कोरियास्थित नेपाली दूतावासकै भरपर्दो स्रोतका अनुसार काठमाडौंको ठमेलस्थित होटल ठमेल इको रिर्सोट र कोरियाको राजधानी सियोलबाट ४० किलोमिटर उत्तरमा रहेको ‘ओम नमस्ते’ रेस्टुरेन्टमा राजदूतको लगानी छ । दुबैमा उनले ३३ प्रतिशत लगानी गरेको स्रोतको दाबी छ ।
दूतावास भवन अगाडि घरको तेस्रो तलामा खोलेको फोटो स्टुडियोमा उनले सम्पूर्ण रुपमाले निजी लगानी गरेका छन् ।
माओवादी कोटामा दुई बर्षअघि राजदूत नियुक्त भएका लामाले आफ्नी छोरी निमा र अर्का एक नेपालीको लगानीमा तीन महिनाअघि ओम नमस्ते रेस्टुरेन्ट खोलेका हुन् ।
दूतावास स्रोतका अनुसार रेस्टुरेन्टमा ३० हजार डलरभन्दा बढीको लगानी भएको छ । भारतीय र नेपाली परिकार पाइने उक्त रेस्टुरेन्टको छोरी निमाले रेखदेख गर्दै आएकी छन् भने ठमेलमा रहेको इको रिर्सोटको सञ्चालक समितिको अध्यक्षमा राजदूतकै श्रीमती इन्द्रमाया लामा लिना बल छिन् ।
प्रतिक्रिया 4