+
+

प्रचण्ड-अध्ययन गरौं ! वैद्य-जनवादी क्रान्ति गरौं !

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष ११ गते १४:५३

Mao

११ पुस, काठमाडौं । परणामीले कृष्ण भगवानलाई र वैष्णवहरुले विष्णु भगवानलाई मानेजस्तै आफ्नो पार्टीको नामै ‘माओवादी’ भइसकेपछि नेपालका माओवादी नेताहरुले चीनका माओलाई नमान्ने कुरै भएन ।

डिसेम्बर २६ को अवसर पारेर एमाओवादी नेता प्रचण्ड र माओवादी नेता मोहन वैद्यले शनिबार एकअर्कालाई घोचपेचसमेत गर्न भ्याएका छन् ।

माओ दिवसका अवसरमा प्रेस वक्तव्य जारी गर्दै एमाओवादी अध्यक्ष प्रचण्डले मार्क्सवाद-लेनिनवाद र माओवाद (मालेमावाद) बारे गम्भीर अध्ययन अनुसन्धान गर्ने बताएका छन् । वैद्यले चाँहि नेपालमा जनवादी क्रान्तिले धोका खाएको भन्दै जनवादी क्रान्ति सम्पन्न गर्नु नै सच्चारुपमा माओलाई मानेको ठहरिने तर्क गरेका छन् ।

  • नेपालका ‘माओवादी’नेताको भ्रष्ट क्रियाकलाप देखेर शायद आज २६ डिसेम्बरका दिन ‘स्वर्ग’मा समेत माओ मुसुमुसु हाँसिरहेका होलान् !

‘मालेमावाद विकासको निमित्त गहन अध्ययन, अनुसन्धान र वहसमा जुट्न आव्हान गर्नु आफ्नो कर्तव्य ठान्दछौं’ प्रचण्डले भनेका छन्- ‘विश्व क्रान्तिको नयाँ लहर सृष्टि गर्न मालेमावादको आलोकमा साहसका साथ अगाडि बढौंं ।’

वैद्यले चाँहि जनवादी क्रान्तिको उदघोष गर्दै भनेका छन्- ‘हामी मार्क्सवाद-लेनिनवाद-माओवादको आलोकमा नयाँ जनवाद हुँदै समाजवाद तथा साम्यवादको दिशामा निरन्तर अगाडि बढिरहने प्रतिवद्धता पुनः जाहेर गर्दछौं ।’

प्रचण्डले आफ्नो वक्तव्यमा वैद्य माओवादीतर्फ पनि संकेत गर्दै आज मालेमावादमाथि दक्षिणपन्थी अवसरवाद, जडसूत्रीय शंसोधनवाद र वामपन्थी अवसरवादबाट आक्रमण भैरहेको बताएका छन् ।

मोहन वैद्यले प्रचण्डतर्फ लक्षित गर्दै भनेका छन्- ‘आज एकातिर नयाँ जनवादी क्रान्तिले गम्भीर धक्का खाएको छ भने अर्कोतिर दक्षिणपन्थी संशोधनवादको हैकम तीव्ररूपमा बढ्दै गएको छ ।’

माओले साम्राज्यवादको पतनको भविष्यवाणी गर्नुभयो: प्रचण्ड

prachanda (3)

आज अन्तर्राष्ट्रिय सर्वहारावर्गका महान् नेता एवं विचारक माओ-त्से तुङको १२२ औं जन्म दिन हो । उहाँको जन्म दिनलाई उत्सवका रुपमा मनाइरहेका संसारभरका श्रमजीवी जनसमूदायमा एकीकृत ने.क.पा.(माओवादी) न्यानो अभिवादन गर्दछ ।

माओ सानै उमेरदेखिनै विद्रोही स्वभावको हुनुहुन्थ्यो भन्ने कुरा चिनियाँ इतिहास र माओको जीवनगाथामा प्रशस्तै पाइन्छ । आफ्नो देश र जनताप्रति उत्कठ प्रेमभाव राख्ने सम्वेदनशील बिद्रोही माओले सन् १९१८ अपि्रलमा सबभन्दा पहिले “नवजन सोसाइटी” खोल्नुभयो ।

सन् १९१९ मा हुनानमा “श्याङ्च्याङ समीक्षा” नामक पत्रिका निकाल्नुभयो । सन् १९२० मा कम्युनिष्ट ग्रुप कायम गर्नुभयो र सन् १९२१ जुलाइमा चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना महाधिवेशनमा सामेल भएर क्रन्तिको महान् अभिभारा विधिवत काँधमा बोक्नुभयो ।

माओ चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापकमध्ये एक हुनुहुन्थ्यो । उहाँ चीनको विश्व चर्चित लामो अभियान, जापान विरोधी युद्घ (१९३७-४५) र मुक्ति युद्घ (सन् १९४६-४९) का नेता एवम् नयाँ जनवादी चीनका संस्थापक हुनुहुन्थ्यो । उहाँ संसारभरिका राष्ट्रिय मुक्ति आन्दोलनका प्रेरणाका अग्रज स्रोत हुनुहुन्छ । माओ विश्वकै सर्वहारावर्गका महान् नेता बन्न पुग्नुभयो ।

माओले दर्शनका क्षेत्रमा विकास गर्नुभएको एकता-संघर्ष, रुपान्तरणको नियम, दुई एकमा संयोजन होइन, एकको दुईमा विभाजन, अर्थशास्त्रको क्षेत्रमा ‘राजनीतिलाई पक्र, उत्पादन बढाऊ !’ भन्ने मान्यता र वैज्ञानिक समाजवादको क्षेत्रमा दीर्घकालीन जनयुद्घको रणनीति, नयाँ जनवादी राज्य व्यवस्थाको मोडल र सर्वहारा अधिनायकत्व अर्न्तगत निरन्तर क्रान्तिको सिद्घान्त आदि मार्क्सवाद-लेनिनवादको विकासमा सार्वभौम योगदान बन्न पुगे । त्यसैले आज संसारभरिका सच्चा क्रान्तिकारीहरूले मा.ले.मा.वादलाई आफ्नो मार्गनिर्देशक सिद्घान्तको रुपमा अपनाउँदै आएका छन् ।

अध्यक्ष माओले प्रतिक्रियावादीहरूलाई रणनीतिक रुपमा कागजी बाघको संज्ञा दिनुभयो । उहाँले साम्राज्यवादको पतनको भविष्यवाणी गर्नुभयो । विश्वमा देखापरेको पछिल्लो आर्थिक मन्दी र बहुध्रुवीय विश्वतर्फ साम्राज्यवादी विश्व व्यवस्थाको ओरालो यात्राले माओले आजभन्दा ६६ वर्ष पहिले गर्नुभएको संश्लेषण कति सटिक र दूरदर्शी थियो भन्ने प्रमाणित भइरहेको छ ।

माओवाद, मार्क्सवाद-लेलिनवादको उच्च र विकसित रुप हो । हाम्रो पार्टीको भरखरै सम्पन्न केन्द्रीय समितिको बैठकले ‘मालेमावादको रक्षा, प्रयोग र विकासका चुनौतीको सामना गर्न एकजुट होऔ ! रुपान्तरणसहित पार्टी पुनर्निर्माणको अभियानमा दृढतापूर्वक अगाडि बढौ !’ भन्ने नारासहित बैठक सम्पन्न गरेको छ ।

यो २१औं शताब्दीका क्रान्तिका अभिभारा पूरा गर्न दृढतापूर्वक अगाडि बढ्ने संकल्प हो । हामी हाम्रै मौलिकता र विशेषतामा वर्ग संघर्ष र वैचारिक संघर्षको बीचबाट अगाडि बढ्दै जाने क्रममा नै मालेमावादको रक्षा, प्रयोग र विकास सम्भव छ भन्ने कुरामा प्रष्ट छौं । मालेमावादमाथि आज दक्षिणपन्थी अवसरवाद, जडसूत्रीय संशोधनवाद र वामपन्थी अवसरवादबाट आक्रमण भैरहेको छ भन्नेकुरा हामीले भुल्नुहुँदैन । सर्वहारा वर्गको मुक्तिका लागि अन्तिमसम्म अगाडि बढ्ने शंकल्प नै आजको दिनको सन्देश हो ।

अन्तमा हामी माओ जयन्तीको अवसरमा संसारभरका क्रान्तिकारीहरूलाई वित्तीय पूँजीको भूमण्डलीकरण र साम्राज्यवादको नवउदारवादी आर्थिक नीतिको प्रभाव, सूचना प्रविधिमा भएको अभूतपूर्व क्रान्ति, मौसम परिर्वतन, पर्यावरण विनाशको प्रभाव, अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको गम्भीर समीक्षा, मा.ले.मा.को विकासको निमित्त गहन अध्ययन, अनुसन्धान र वहसमा जुट्न आह्वान गर्नु आफ्नो कर्तव्य ठान्दछौं । विश्व क्रान्तिको नयाँ लहर सृष्टि गर्न मा.ले.मा.वादको आलोकमा साहसका साथ अगाडि बढौंं ।

दक्षिणपन्थी संशोधनवादको हैकम बढ्यो: मोहन वैद्य

Mohan baidhya Kiran
आज २६ डिसेम्बर, २०१५ को दिन विश्वभर र नेपालमा पनि सर्वहारावर्ग र क्रान्तिकारीहरूद्वारा १२२ औं माओ दिवस मनाउने काम भइरहेको छ । कमरेड माओ विश्व सर्वहारावर्ग तथा उत्पीडित जनसमुदायका एक महान् नेता, शिक्षक तथा चिन्तक हुनुहुन्थ्यो । माओले चीनको धर्तीमा मार्क्सवाद-लेनिनवादको सिर्जनात्मक प्रयोग गर्नुभयो र त्यसलाई मार्क्सवाद-लेनिनवाद-माओवादका रूपमा विकसित तुल्याउनुभयो । आज मार्क्सवाद-लेनिनवाद-माओवाद विश्व सर्वहारावर्ग र क्रान्तिकारी जनसमुदायको पथप्रदर्शक सिद्धान्त बन्न पुगेको छ ।

नेपालमा हामीले मार्क्सवाद-लेनिनवाद-माओवादको रक्षा, प्रयोग र विकासका निम्ति यथेष्ट प्रयास गर्दै आएका छौं । आज एकातिर नयाँ जनवादी क्रान्तिले गम्भीर धक्का खाएको छ भने अर्कोतिर दक्षिणपन्थी संशोधनवादको हैकम तीव्ररूपमा बढ्दै गएको छ ।

योबेला माओ दिवस मनाउनुको वास्तविक अर्थ मार्क्सवाद-लेनिनवाद-माओवादको पथप्रदर्शनमा दलाल तथा नोकरशाही पुँजीपति एवम् सामन्तवर्ग र साम्राज्यवाद/विस्तारवादका विरुद्ध नयाँ ढङ्गले जनवादी क्रान्तिको तयारी गर्ने र दक्षिणपन्थी संशोधनवादको विरोधमा सशक्त विचारधारात्मक सङ्घर्ष चलाउने काममा दृढतापूर्वक अगाडि बढ्नु हो ।

तसर्थ, माओ दिवसको यस अवसरमा हामी विश्वका साथै नेपाली सर्वहारावर्ग, उत्पीडित जनसमुदाय र सबै कमरेडहरूलाई रातो अभिवादन गर्दछौं ।

साथै, यस अवसरमा हामी मार्क्सवाद-लेनिनवाद-माओवादको आलोकमा नयाँ जनवाद हुँदै समाजवाद तथा साम्यवादको दिशामा निरन्तर अगाडि बढिरहने प्रतिवद्धतासमेत पुनः जाहेर गर्दछौं ।

टिप्पणी: ‘माओवाद’ को फुर्को किन ?

Five-maoist-Leader

प्रचण्ड, वैद्य, विप्लव र मात्रिका यादव समूहले माओत्सेतुङको योगदानलाई माओवाद बताउने गरेका छन् । तर, नेपालमा अव माओवादको औचित्य समाप्त भइसकेको देखिन्छ ।

रोचक त के छ भने चिनियाँ कम्युनिष्ट पार्टीले समेत माओवादलाई मान्दैन । प्रचण्ड र वैद्यले चाँहि ‘माओवाद’ मान्छ । तर, प्रचण्ड वैद्य दुबैले माओको कार्यदिशा छाडिसकेका छन् । यो अवस्थामा ‘माओवाद’ केवल पार्टीको नामका पछाडि झुण्ड्याउने ‘फुर्को’ मात्रै बन्न पुगेको छ ।

माओत्सेतुङले अर्ध औपनिवेशिक र अर्ध सामन्ती अर्थव्यवस्था भएको चीनमा जनवादी क्रान्ति गरेका थिए । उनको क्रान्तिको यो मोडेल पुँजीवादको विकास भइसकेको देशमा लागू हुँदैन र भएन पनि ।

नेपालमा जनवादी क्रान्तिको कार्यभार मूततः पूरा भइसकेको र अब समाजवादतर्फ अघि बढ्नुपर्ने एमाओवादीले हेटौडा महाधिवेशनबाटै व्याख्या गरिसकेको छ । यो अवस्थामा अब नेपालमा ‘माओवाद’ भनिरहनु आध्यात्मवाद बाहेक अर्थोक केही पनि होइन ।

वैद्य माओवादीले जनवादी क्रान्तिको कार्यभार बाँकी रहेको बताए पनि उसले माओले लिएको दीर्घकालीन जनयुद्धको बाटोलाई छाडेर दीर्घकालीन जनयुद्धमा सहरी सशस्त्र विद्रोहलाई फ्युजन गर्ने बताउँदै आएको छ । यो स्थितिमा माओका योगदानलाई उसले माओवाद नभनेर माओविचारधारा भन्दा सुहाउने स्थिति छ ।

त्यस्तै विप्लव माओवादीले पनि नयाँ जनवादी क्रान्तिको विकल्प ल्याइसकेको छ । उसले प्रचण्ड र वैद्यको विचारलाई सार संग्रह गरेर ‘एकीकृत क्रान्ति’ को कार्यदिशा अगाडि सारेको छ । यो अवस्थामा विप्लवले समेत माओवादको फुर्को समाइराख्नु वस्तुसम्मत देखिँदैन ।

सामरिक एवं फौजी दृष्टिकोणले हेर्दा पनि नेपालमा चिङकाङसाङ बनाएर फैलिने माओको दीर्घकालीन जनयुद्धको कार्यदिशा अनुपयुक्त रहेको १० वर्षे जनयुद्धको असफलताले प्रमाणित गरिसकेको छ । आर्थिक विकासको हिसाबले नेपाल पुँजिवादमा प्रवेश गरेको र प्रचण्डले भनेजस्तै सूचना प्रविधिले ल्याएको परिवर्तनका कारणले पनि माओकालीन क्रान्ति वा जनवादको मोडेल नेपालमा ‘फिट’ हुने स्थिति छैन ।

अब नेपालमा माओको गाउँले शहर घेर्ने दीर्घकालीन जनयुद्ध पनि फिट नहुने, नयाँ जनवादको साटो समाजवादी दिशामा जानुपर्ने र सूचना प्रविधिले कुनै कुरा गोप्य नरहने सानो देशमा माओका कुनै पनि रणनीति लागू नहुने अवस्थामा माओलाई देवत्वकरण गर्दै ‘माओवाद’ को भजन गाइरहनु भनेको बीसौं शताब्दीमा कम्युनिष्ट नेता माओमाथिकै उदेक लाग्दो मजाक होइन र ? आज माओत्सेतुङका योगदानबारे बहस गरिरहेका माओवादी नेता कार्यकर्तामा सदबुद्धि पलाओस् ।
गरीब जनताप्रति सधैं सम्वेदनशील रहने माओ अत्यन्तै सादगी नेता थिए । आफ्नो स्वकीय सचिवलाई बासीभात फालेकोमा कारवाही गर्ने माओ जनताको सियो र धागो पनि सित्तैमा लिनुहुँदैन भन्दै अनुशासनका ८ नियम सिकाउँथे ।
के माओले भूकम्पपीडितका नाममा आफ्ना छोरी र नातिनीलाई मेरो देशमा पठाउ भनेर नेपालका माओवादीलाई सिकाएका थिए ? उनले त आफ्नो छोरालाई कोरियाका जनताको पक्षमा लड्न पाएका थिए, जसको कोरियामै सहादत भयो ।

नेपालका ‘माओवादी’ नेताहरुको भ्रष्ट छवि र क्रियाकलाप देखेर शायद आज २६ डिसेम्बरका दिन ‘स्वर्ग’मा समेत माओ मुसुमुसु हाँसिरहेका होलान् !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?