११ वैशाख, पोखरा । नेपाल आर्मीमाथि शानदार जित हात पार्दै मनाङ मर्स्याङ्दी क्लबले मनकामना पोखरा कप फुटबलको उपाधि जितेको छ ।
शनिबार भएको उपाधि भिडन्तमा मनाङले आर्मीमाथि ५-० गोल अन्तरको फराकिलो जित हात पारेको हो । मनाङले उपाधिसहित नगद ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ हात पारेको छ भने उपविजेता आर्मीले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँमा चित्त बुझाएको छ ।
पोखरा रंगशालामा भएको खेलमा मनाङले दोस्रो मिनेटमा नै अनिल गुरुङको गोलबाट अग्रता लिएको थियो । १० औं मिनेटमा अनिलले अग्रता दोब्बर पारे ।
खेलको २३ औं मिनेटमा सन्तोष तामाङ र मेहन गुरुङबीच विवाद भयो र दुबैले रातो कार्ड पाए । १० खेलाडीमा सिमित भएपनि मनाङले आर्मीलाई लगातार दबाव दियो र पहिलो हापमा दुई गोल थप्यो ।
२९ औं मिनेटमा ओलावलेको पासमा सुजल श्रेष्ठले गोल गरे । ३५ औं मिनेटमा ओलावलेले नै गोल गरे । र, पहिलो हाफमा मनाङ ४-० ले अगाडि रहृयो ।
४८ औं मिनेटमा ओलावलेले दोस्रो गोल गरे । पाँच गोल खाएपछि भने आर्मीले केही सुधारिएको प्रदर्शन गर्यो । थप गोल नखाएपनि उसले गोल गर्न सकेन र फाइनलमा मनाङसँग ५-० को लज्जास्पद हार व्यहोरेको छ ।
यसअघि मनाङले आर्मीलाई नै हराउँदै पोखरामा आहा रारा कप फुटबलको उपाधि जितेको थियो । हेटौंडा कपमा पनि मनाङले नै बाजी मारेको थियो । झापा गोल्डकपमा भने आर्मीले मनाङलाई हराएको थियो ।
प्रतिक्रिया 4