३० जेठ, काठमाडौं । नयाँ शक्ति पार्टीको घोषणा सभामा अभिनेत्री/नेत्री करिश्मा मानन्धरको रातो फुलबुट्टे साडी स्टेजमा खुबै लहरायो । यद्यपि उद्घोषकको भूमिकामा प्रस्तुत भएकी उनी आफ्नो प्रस्तुतिमा भने लहराउन सकिनन् ।
करिश्माको जीवनमा राजनीतिक आमसभा सञ्चालन गरेको यो पहिलोपटक थियो । पहिलो प्रयासमा आलोकाँचो देखिनु त स्वभाविकै भयो । तर, उद्घोषणमा खट्कियो, उनको अंग्रेजी । लामो समय अमेरिका बसेर फर्केकी करिश्माले अंग्रेजीमा भने धेरै प्रगति गर्न सकिनछिन् भन्ने देखियो ।
विदेशी अतिथिहरुलाई बोल्न मञ्चमा निम्त्याउने क्रममा उनले टुटेफुटेको अंग्रेजी बोलेर काम चलाइन् । तर, भुटानी प्रधानमन्त्रीले पठाएको शुभकामनापत्र वाचन गर्दा भने उनलाई आपत नै पर्यो । यस क्रममा शब्द फड्कार्न नसकेर पटक-पटक अड्किइन् । उच्चारणमा अनगिन्ती गल्ती गरिन् । राम्ररी शब्द उच्चारण गर्न नसकेकोमा ‘सरी’ पनि भनिन् ।
नयाँ शक्तिमा ‘ग्ल्यामरस’ अनुहारका रुपमा प्रवेश गरेकी सुन्दरी करिश्मालाई पार्टीले हरेक ठाउँमा महत्व दिने गरेको छ । पार्टीकी शीर्ष महिला नेत्री हिसिला यमी आम जनतामा लोकपि्रय छैनन् । नेतृत्व तहमा लैंगिक सन्तुलन मिलाउँदा करिश्माले प्राथमिता पाएकी छिन् । यद्यपि उनीसँग कुनै राजनीतिक पृष्ठभूमि छैन । वैचारिक-राजनीतिक क्षमताको पनि अभाव छ ।
आइतबार उद्घोषण गर्ने क्रममा उनी पटक-पटक बच्कना शैलीमा प्रस्तुत भइन् । उनको शैली हेर्दा कुनै विद्यालयको अभिभावक दिवसको कार्यक्रम सञ्चालन गरिरहेजस्तो देखिन्थ्यो । कांग्रेस सभापति शेरबहादुर देउवालाई बोल्नका लागि मञ्चमा निम्त्याउने क्रममा करिश्माले भनिन्, ‘उहाँ मेरा ससुराका मिल्ने साथी हुनुहुन्छ र आरजू राणाजीसँग मेरो पनि राम्रो सम्वन्ध छ ।’
करिश्माले कांग्रेस नेता प्रदीप गिरीलाई मञ्चमा निम्त्याउँदा पनि गम्भीर गल्ती गरिन् । उनले गिरीलाई डा. प्रदीप भट्टराई भनेर बोलाइन् । गिरीले भाषण गरिसकेर करिश्मालाई सल्लाह दिए, ‘आइन्दा बिस्तारै बोल्नु, हतार गरे लडिन्छ ।’ करिश्माले आफूले बिस्तारै बोल्न प्रयास गर्ने बताइन् ।
प्रधानमन्त्री केपी ओली सभामा आउन लागेको जानकारी करिश्माले यसरी गराइन् । ‘यतिबेला तपाईंहरु बोर भएर बसिरहनुभएका होला, तर चाँडै स्टेजमा आउँदै हुनुहुन्छ पीएम केपीजी ।’
प्रधानमन्त्री ओली कार्यक्रमस्थलमा आइपुगेपछि उनी कुनै कन्सर्टमा भएझैं भनिन्, ‘हाम्रो प्राइम मिनिस्टर केपी ओलीज्यू यहाँ उपस्थित भइसक्नुभएको छ, उहाँहरुलाई गीभ हिम अ विग ह्याण्ड क्ल्याप फर हिम ।’
रातो साडी चोलो र ‘हाइ क्वालिटी’को श्रृंगारमा करिश्मा चौपट्टै राम्री देखिएकी थिइन् । यद्यपि उदघोषणका क्रममा उनले देखाएका कमजोरीलाई सुन्दरता र ग्ल्यामरले मात्रै ढाकछोप गर्न सकेन ।
नयाँ शक्तिका नेता पासाङ शेर्माले करिश्मासित स्टेज शेयर गरेका थिए । उनी पनि एक पटक चिप्लिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सुनिलबहादुर थापालाई बोलाउँदा उनले राप्रपा नेपालका नेता भने ।
हतारमा गरियो, पूर्वतयारी पुगेनः करिश्मा
अभिनेत्री करिश्माले कार्यक्रममा आफ्नो उद्घोषणबाट आफू पूर्ण सन्तुष्ट नभएको अनलाइनखबरलाई बताइन् । उनीसँगको संक्षिप्त कुराकानीः
पहिलोपटक राजनीतिक आमसभा सञ्चालन गर्नुभयो, बधाइ छ ।
थ्यांक यु भेरी मच । ओ माइ गड, कस्तो गाह्रो हुँदोरहेछ हेर्नुस त ।
कत्तिको सन्तुष्ट हुनुहुन्छ आफ्नो उद्घोषणबाट ?
होमवर्क नै केही गर्न भ्याएको थिइँन । सिनेमाको कार्यक्रमजस्तो हुँदो रहेनछ । पूरै सन्तुष्ट त भन्न मिल्दैन ।
के फरक पाउनुभो सिनेमाको कार्यक्रम र राजनीतिक आमसभामा ?
सिनेमाको कार्यक्रम त पहिले नै फिक्स्ड हुन्छ । सेड्युलभन्दा खासै तलमाथि हुँदैन । राजनीतिक कार्यक्रम त परिस्थितिअनुसार एड्जस्ट गर्दै जानुपर्दोरहेछ । पूर्वतयारी पनि राम्ररी गरिँदैनरहेछ । अर्को कुरा, सिनेमाको कार्यक्रम हाँसोठट्टा रमाइलोमा चलाइन्छ । फर्मालिटी खासै मेन्टेन गरिराख्नुपर्दैन । राजनीतिक कार्यक्रमको आफ्नो खालको शैली हुँदोरहेछ । म सिक्दैछु ।
तपाईंले उद्घोषण गर्ने कुरा कहिले निश्चित गरिएको थियो ?
नेताहरुले कहिले सल्लाह गर्नुभयो, थाहा भएन । तर, मलाई भने हिजोमात्रै भनियो ।
आफूले बोलेकोमा आफैंलाई खट्केको कुरा के रह्यो ?
मलाई उद्घोषण गर्ने क्रममा नै विदेशबाट आएको शुभकामनापत्र पढ्न दिइयो । अंग्रजीमा लेखिएको पत्र पहिले मैले पढ्न पाएको थिइनँ । एकैचोटि हातमा आयो । पढ्दाखेरि अक्षर सानो भएकाले असजिलो भयो ।
एउटा शब्द उच्चारण राम्ररी गर्न नसक्दा माफी पनि माग्नुभयो होइन ?
हो । उच्चारण गर्न नसकेको भन्दा अलिकति अक्मकाएको हुँ ।
प्रदीप गिरीलाई किन डा. प्रदीप भट्टराई भनेर बोलाउनुभयो ?
हाहा… मेरो ध्यान चलचित्र समीक्षक डा. प्रदीप भट्टराईतिर गएछ । यसलाई नजानेर गल्ती गरेको भन्दा पनि टङ स्लिप भएको भन्नुपर्छ । पछि प्रदीप गिरीजीले मलाई तिमीले छिटोछिटो नबोल्नु भनेर सुझाव दिनुभयो । म सुधार गर्ने प्रयास गर्नेछु ।
ठूलो मास फेस गर्नुपर्दा नर्भस हुनुभयो कि भएन ?
अहँ नर्भस भइनँ । हिरोइन भएको नाताले सानोतिनो मास फेर्न न अभ्यस्त नै छु । तर, त्यो फरकखालको मास हुन्थ्यो, यो फरक हुँदोरहेछ । तर, म नर्भस भइनँ । म यसअघि पनि डा. भट्टराईज्यूसँग विभिन्न कार्यक्रममा हिँडेकी छु । उहाँबाट धेरै कुरा सिकेकी छु । आत्मविश्वास बढिरहेको छ ।
नयाँ शक्तिमा तपाईं बढी हाइलाइट हुनुको अर्थ तपाईं हिरोइन भएर हो कि महिला भएर हो ?
हिरोइन भएर मात्र होइन । हाम्रो पार्टीले सबै जाति र लिंगको सन्तुलन मिलाएर अघि बढ्ने नीति लिएको छ । त्यही भएर मलाई अलिकति इम्पोर्टेन्स दिइएको होला ।
पार्टीको घोषणापछि कत्तिको उत्साहित हुनुहुन्छ ?
हामी उत्साहित नै छौं । अहिलेसम्म हाम्रो एक लाखभन्दा बढी सदस्य पुगिसकेका छन् । कार्यक्रममा पनि ठूलो जनसहभागिता रह्यो ।
एक लाखको उपस्थिति गराउने घोषणा थियो, त्यसमा सफल हुनुभयो त ?
ठ्याक्कै एक लाख भयो त भन्न सक्दिनँ । सानो ठाउँ भएकाले त्यति मास पुगेन होला । तर, राम्रो उपस्थिति भएको छ । हाम्रा मेम्बरहरु धेरै विदेशमा पनि हुनुहुन्छ । उहाँहरु आउन सक्नुभएन ।
पार्टीमा अब तपाईंले कुन पद लिनुहुन्छ ?
मैले पदको अपेक्षा गरेर यो पार्टीमा लागेको होइन । डा. भट्टराईबाट प्रभावित भएर लागेकी हुँ । मलाई जुन जिम्मेवारी दिइए पनि स्वीकार्छु ।
अनि, आजको कार्यक्रममा असाध्यै राम्री देखिनुभएको थियो, मेकअप र ड्रेसअप गर्न कति घण्टा लाग्यो ?
टाइम त लाग्यो । म प्रायः सामाजिक कार्यक्रमहरुमा जाँदा साडी लगाउँछु । सिनेमाका कार्यक्रममा अरु ड्रेसअप गर्छु । यो पनि सामाजिक कार्यक्रमजस्तै भएकाले साडी लगाउने निर्णय गरेकी थिएँ ।
मलाई रातो साडी असाध्यै सुहाउँछ भन्छन् सबैले । मलाई पनि मन पर्छ । साडी मलाई अरुले नै लगाइदिनुहुन्छ । मेकअप आफैं गर्छु । मेकअप गर्न २० मिनेट र साडी लगाउन १५ मिनेट जति लाग्यो होला ।
प्रतिक्रिया 4