+
+

‘शुद्ध लेखिरहेकालाई अशुद्ध लेखिस् भन्ने हास्यास्पद काम भइरहेको छ’

जबर्जस्ती नियम नलादौं, भाषालाई आफ्नो गतिमा बग्न दिऊँ

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ ८ गते १०:२४

Sharachchandra_810नेपाली भाषामा एकरुपता कायम गर्नुपर्छ भनेर पछिल्ला वर्षहरूमा चौतर्फी आवाज उठिरहेको छ । तर, भाषामा आधिकारिक स्वरूप कतै पाउनुभन्दा पनि भाषाका विद्वानहरुपिच्छे फरक र चर्का कुरा सुन्न पाइन्छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानले छाप्ने नेपाली बृहत् शब्दकोशलाई अहिलेसम्म धेरैले मानक मान्दै आए पनि त्यसमा नयाँ परिवर्तनका नाममा धेरै हेरफेर गरिएको छ । प्रतिष्ठानले नेपाली भाषा सङ्गोष्ठी मार्फत हिज्जे, पदयोग र वियोग लगायतका नयाँ नियम बनाएपछि पहिले एउटा सिकाइबाट हुर्किएका प्रयोगकर्ताहरू झन् अलमलिएका छन् ।

यसै सन्दर्भमा भाषाविद् शरच्चन्द्र वस्तीसँग नेपाली भाषाका पछिल्ला विवाद र यसको समाधानका विषयमा केन्द्रित रहेर गरिएको कुराकानीः

नेपाली भाषाको मानक स्वरूप निर्धारण गर्नुपर्छ भनेर आवाज उठिरहेका बेला भाषामा झन्-झन् भद्रगोल देखिएको छ । यो अवस्था किन आयो ?

वास्तवमा नेपाली भाषामा समस्या थिएन र छैन पनि । मानक बनाउने नाममा पछिल्लो समय जसले नियम बनाएर भद्रगोल शुरु गरे, त्यो समयसम्म नेपाली भाषाले राम्रो उचाइ लिइसकेको थियो । किनभने हाम्रा निकट अतीतका महाकवि लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौड्याल, बालकृष्ण सम, गोपालप्रसाद रिमाल, भूपी शेरचन जस्ता साहित्यिक व्यक्तिहरूले राम्रो साहित्यको सिर्जना गरेर दिइसकेका थिए । भाषाको लगभग त्यही उचाइ अहिलेसम्म आदर्शको रूपमा कायम छ ।

ह्रस्व र दीर्घ, तर्कुले र वर्धन्ने, जोड्ने र छुट्याउने विषयमै किचलो चलेको चल्यै छ । त्यसबाट पनि अहिलेसम्म समाधान हुनुको साटो शुरुको भन्दा पनि विकृत र भद्रगोल भएको छ

मानक बनाउँछु भन्ने केही मान्छेहरू नेपाली भाषालाई आजको उँचाइ र गरिमा दिने ती लेखकहरूले लेखेका चीज चाहिँ मानक थिएनन्, अब मानक बनाउने हामी हौं भन्दै अघि सरे । आफ्नो विद्वताभन्दा पनि शासन सत्ताको आडमा मानक बनाउँछु भनेर लागे । सामान्यतया सत्ताले मान्छेलाई भ्रष्ट बनाउँछ । बौद्धिक सत्तामा पुगेपछि पनि मान्छे भ्रष्ट हुन्छ र आफूले केही न केही गरेको जस्तो देखाउन भाषालाई गिजोल्न थाल्छ । मानकका नाममा कथित विद्वान्हरूबाट निर्मित र लादिएको समस्या हो यो, जसले भाषाको स्वाभाविक गतिशीलतामा अवरोध खडा गरेको छ ।

यसो भनेर तपाईंले कसलाई लक्षित गर्नुभएको ? एकेडेमीका मान्छे कि विश्वविद्यालयका मान्छेलाई ? 

सबैलाई संयुक्तरूपमै भनेको ठाने हुन्छ । विद्वता र ज्ञान भन्ने कुरा शासन सत्तासँग जोडिएर त्यसको अहंकारबाट अगाडि बढ्न थालिसकेपछि नचाहिने ठाउँमा हात हाल्नुपर्ने हुन्छ । नेपाली भाषालाई राम्रो बनाउनुपर्ने धेरै काम बाँकी छन् । धेरै क्षेत्र खाली नै छन् । तर, मैले थाहा पाएदेखि ४०/५० वर्षयता यही हिज्जेकै कुरामा, ह्रस्व र दीर्घ, तर्कुले र वर्धन्ने, जोड्ने र छुट्याउने विषयमै किचलो चलेको चल्यै छ । त्यसबाट पनि अहिलेसम्म समाधान हुनुको साटो शुरुको भन्दा पनि विकृत र भद्रगोल भएको छ । भनेपछि त्यो काम राम्रो त होइन रहेछ नि त !

 

नेपाल प्रज्ञा प्रतिष्ठानले  ०६७ पुसमा आयोजना गरेको ‘नेपाली भाषा सङ्गोष्ठी’ ले हिज्जे, पदयोग-वियोग लगायतमा एउटा नियम ल्यायो । यसमा असन्तुष्ट तपाईं लगायत भाषाविद् र भाषाप्रेमीहरूको समूहले त्यसलाई काट्ने गरी ‘नेपाली कसरी शुद्ध लेख्ने (नेकशुले) २०६९’ मार्फत बेग्लै नियमहरू सार्वजनिक गर्‍यो । दुई समूहका फरक कुरा पढे-सुुुनेर भाषाका प्रयोगकर्ताहरू झनै रनभुल्ल पर्ने अवस्था आयो नि ?

अलमलिने अवस्था आएको पक्का हो । तर ‘नेकशुले’का कारण होइन । ‘नेकशुले’ ले त कसैको टक्करमा उत्रिनुभन्दा पनि नेपाली भाषालाई सरल, सहज र यसको स्वाभाविक गतिमा बग्न देऊ भनेको हो । यसको आग्रह हो- लोकव्यवहार र शिष्ट परम्पराबाट स्थापित मान्यतालाई लहडबाजीका भरमा जबर्जस्ती नभत्काऊ । भाषा परिवर्तनशील र गतिशील हुने भएकाले उसलाई स्वाभाविक रूपमा बग्न दिएर त्यसमा आएका समसामयिक परिवर्तनलाई आत्मसात् गर्दै अगाडि बढ ।

तर, भाषा परिवर्तनशील हुन्छ भन्ने नाममा यसरी-यसरी परिवर्तन हुनुपर्छ भनेर भाषालाई घोक्रेठ्याक लगाउँदै कहिले दायाँ र कहिले बायाँ धकेल्ने काम नगर । यसो गर्ने अधिकार कसैलाई छैन । कुनै गोष्ठी वा निर्णय गरेर, आजदेखि दीर्घ लेख्न बन्द, मोटो श लेख्न बन्द, संयुक्त अक्षर लेख्न बन्द भन्दै उर्दी जारी गर्नु र राज्यसत्ताको आडमा त्यसलाई लाद्न थाल्नुुभन्दा ठूलो भाषामाथिको अत्याचार अरू केही हुन सक्तैन ।

एकेडेमीको भाषा सङ्गोष्ठीको निर्णयमा शैक्षिक तथा प्राज्ञिक निकायहरू र आमसञ्चार माध्यमसँग व्यापक विमर्श गरेर अन्तिम निर्णयमा पुग्ने भनेर पनि उल्लेख गरिएको थियो । सबैसँग छलफल गरेरै ल्याएको हो भने त मान्नैपर्ने होला नि ?

सङ्गोष्ठीमा म पनि उपस्थित थिएँ । उपस्थितिमा सबैले हस्ताक्षर गरेका थियौं । तर, निर्णयमा थुप्रैको कडा विमति थियो । सहमति भएको थिएन । यो कुरा त्यसैमा भाग लिएर हस्ताक्षर गरेका र नेपाली भाषामै काम गरेका धेरै विद्वान्हरूले लेखिसक्नुुभएको छ । स्वयं निर्णयको बेहोरामा समेत त्यसको छनक छ । सङ्गोष्ठीमा दार्जिलिङबाट, आसामबाट पनि विद्वान्हरू आउनुभएको थियो । उहाँहरूले चलिराखेको हिज्जे नबिगारिदिनुस् भन्दै आँसु झार्न मात्र सक्नुभएको थिएन ।

वर्णविन्यासको नाउँमा वर्णविनाश नगर्नुहोस् भनेर उहाँहरूले बारम्बार प्रार्थना गर्नुभएको थियो । कसैको कुनै सुनुवाइ भएन । पछि के थाहा पाइयो भने, वस्तुतः त्यो निर्णय पहिले नै तयार पारेर राखिएको रहेछ । छलफल देखावटी मात्रै रहेछ ।

Sharachchandra 1नयाँ भनिएको नियम आएपछि भाषाका विद्यार्थी, गुरुका साथै नेपाली भाषामै काम गर्नेहरूमा समेत अहिलेसम्म हामीले लेख्दै आएको त गलत रहेछ, नेपाली भाषा त कसैगरी शुद्ध लेख्न नसकिने रहेछ भन्ने छाप परेको छैन ?

यही त अप्ठेरो भयो । भाषामा शब्दको अर्थ भनेको तरल हुन्छ । बोल्ने मान्छेको आशय, सुन्ने मान्छेको मनस्थिति र परिस्थिति अनुसार एउटै शब्दको पनि फरक अर्थ लाग्न सक्छ । शब्दको अर्थ तरल भए पनि हिज्जेको लेख्य रूप ठोस र स्थायी प्रकृतिको हुन्छ । त्यसलाई चलाउनु र बिगार्नु हुँदैन । बिगि्रन थाल्यो भने जसले जे-जे मन लाग्यो, त्यही-त्यही लेख्ने हुन थाल्छ ।

यस्ता निर्णय लादिनुु अघिसम्म हामी सबैले शुद्ध लेखिरहेका थियौं । पहिलेको कुरा मानेरै आएका थियौं । कुनै समस्या थिएन । अहिले आएर काठमाडौंमा निर्णय गरेर अशुद्ध चाहिँ शुद्ध हो भन्दै लादेर शुद्ध लेखिरहेकालाई अशुद्ध लेखिस् भन्नुभन्दा ठूलो हास्यास्पद कुरो अरु केही पनि हुँदैन । यसले भाषालाई सानो र कमजोर मात्र बनाउँदैन, अस्थिर पनि बनाउँछ ।

पहिचान र अस्मिताको मूल आधार हो भाषा । नेपाली भाषामा लिम्बू, राई, थकाली, भोजपुरी, अवधी, मैथिली, शेर्पा लगायत विभिन्न भाषा र भाषिकाबाट शब्दहरू आएका छन् । त्यसरी आएका शब्दबाट श पनि हटाउने, दीर्घ पनि हटाउने भन्दै कसैको नाक भाँच्ने र कसैको कान काट्ने गरेपछि ती भाषाभाषीको बीचमा नेपाली भाषाप्रति एक किसिमको घृणाको भाव जाग्छ । भाषाको माध्यमबाट सबैलाई अपमानित र विभेद गर्ने काम गर्नु हुँदैन ।

ह्रस्व फुल र दीर्घ फूल लेखिन्थ्यो, दुबै चलिरहेकै थियो । तर, नयाँ भनिएको नियम आएपछि के मिलेन भनेर सबै प्रयोगकर्ताको मनमा छटपटी भएको छ

पछिल्लो समय हिज्जे (वर्णविन्यास) मै मुख्य विवाद देखिएको छ । भइराखेका संयुक्त अक्षरलाई खुट्टा काटेर लेख्ने नियम सरकारी तवरमै बनाइयो, त्यसलाई विद्यालय तहबाट पढाउन नै थालिसकिएको छ । यो कदम कतिसम्म विवेकसम्मत हो ?

यो चाहिँ नदुखेको कपाललाई डोरी लगाएर दुखाउनु भने जस्तै हो । राम्रो भइराखेको कुरालाई बिगार्ने काम भएको छ । अहिले विद्यालाई ‘विद्या’ लेख्नुपर्छ भनेर उर्दी आएको छ । सजिलोका लागि कसैले अनौपचारिक प्रयोगमा खुट्टा काटेर लेख्नुमा आपत्ति भएन, पछि उसले बुझेर शुद्ध रुप लेखिहाल्छ । विद्यार्थीलाई पढाउँदा द् र या मिलेर द्या बन्छ भन्दा पनि कुनै समस्या छैन । तर, जब विद्या लेख्नु अशुद्ध हो, विद्या लेख्नुपर्छ, नत्र फेल गराउँछु भन्न थालिन्छ र यसलाई नियम र सिद्धान्तकै रूपमा स्थापित गरेर जबर्जस्ती लादिन्छ, त्यसपछि चाहिँ भाषाको दुर्गति सुरु हुन्छ ।

संयुक्त अक्षरलाई खुट्टा काटेर लेख्ने भनेर नियम त बनाइयो । तर, त्यसलाई लागू गर्दा सजिला, मान्छेलाई खासै नबिझ्ने र तत्कालै अप्ठेरो नभएका ‘विद्या’, ‘शक्ति’, ‘विद्वान्’ जस्ता ५/१० वटा शब्द मात्र समातेर खुसुक्क लागू गरिएको छ । नियम नै बनाइसकेपछि त त्यो सबै संयुक्त अक्षरमा लागू हुन्छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानकै प्रज्ञा र प्रतिष्ठान दुई वटा शब्दका संयुक्त अक्षर छुट्याएर लेखियो भने त गाईजात्रा हुन्छ- प्रग्याँ प्रतिष्ठान लेख्नुपर्ने हुन्छ । यस्तो क्रमले यति भद्रगोल निम्त्याउँछ, नेपालीको एउटा वाक्य समेत पढ्न नसकिने हुन पुुग्छ ।

संयुक्त अक्षरलाई खुट्टा काटेर लेख्दा यसले भाषालाई के बिगार गर्छ ?

त्यसरी खुट्टा काटेर लेख्दा सबै शब्दको रूप बिग्रन्छ । एक त, संयुक्त अक्षर खुट्टा काटेर लेख्ने भनेपछि संयुक्त अक्षरको अवधारणा र त्यो सिंगै विभागको एकैचोटि विनाश हुन्छ । त्यसपछि आजसम्मको हाम्रो साहित्यमा लेखिएका कुरा मान्छेले बुझ्दैनन् । अर्को कुरा, यसपछिको लेख्य नेपाली भाषा पढ्नै नसक्ने गरी विकृत भएर जान्छ ।

हाम्रो देवनागरी अक्षरात्मक लिपि हो, रोमन चाहिँ वर्णात्मक हो । संयुक्त अक्षर छुट्याउने नियमले नेपाली भाषालाई अक्षरात्मकताबाट वर्णात्मकतातिर लैजान्छ । यो लागू भएपछि स्वर र व्यञ्जन पनि किन जोडेर लेख्ने त भन्ने तर्क आउन सक्छ । त्यसरी लेख्दा त झन् पढ्न नसकिने हुन्छ । त्यसपछि देवनागिरी लिपिमा लेख्नुभन्दा त रोमनमै लेखौं, लिपि फरक भएर के भो, भाषा त केही बिगिँदैन भनेर मान्छेहरूले तर्क गर्छन् । अन्ततः देवनागरी लिपि सिद्धिन्छ । त्यसपछि पढ्न नसकेर देवनागरीमा आजसम्म लेखिएको साहित्यसँग यसपछिको पुस्ताको सम्बन्ध विच्छेद हुन्छ । हेर्दाखेरि अहिले सानो जस्तो देखिए पनि हामी त्यतै उन्मुख छौं ।

बोलीचालीमा मलाई त कस्तो ‘टेन्सन’ भयो भनिन्छ । गाउँमा हजुरआमाले पनि टेन्सन भन्ने शब्द बुझ्न थाल्नुभएको छ । यी चिजहरू घुलमिल हुँदै आउँदा सहज तवरमा चलाउन सकिन्छ

विद्यार्थीलाई बुझाउन सजिलो हुने र कथ्यमा पनि खासै फरक नपर्ने भएर संयुक्त अक्षरहरू भाँचेर लेख्ने नियम बनाइएको तर्क पनि गरिंदै छ नि !

यस्तै भनेर मान्छेहरूलाई अलमल्याइएको छ । तर, यो त भाषाका प्रयोगकर्तालाई साह्रै मूर्ख ठानेर झुक्याउने जुक्ति हो । सिकाउन सकिँदैन भन्ने कुरा साह्रै काइते तर्क हो । यो सिक्ने मान्छेको नभई सिकाउने मान्छेको कमजोरी हो । नसिकुञ्जेल त ‘क’ लेख्न पनि अप्ठेरो लाग्छ । एकचोटि सिकेपछि त जिन्दगीभरि कहिले पनि अप्ठेरो पर्दैन नि । समस्या त यस्तो पनि छ, प्राथमिक कक्षादेखि निरन्तर नेपाली पढाएर, गुरुहरुले नम्बर दिएर पास गराएको मान्छेले बीए पास गरिसक्दा दुई प्याराग्राफ पनि नेपाली शुद्धसँग लेख्न सक्दैन । त्यसो भए अप्ठेरो भो भनेर नेपाली भाषा नै बन्द गर्ने हो कि त ? यो तर्कले त त्यहाँ पुर्‍याउँछ ।

देवनागरी लिपि नै यस्तो लिपि हो, सुरुमा एकचोटि बाह्रखरी जान्यो र संयुक्त अक्षर सिक्यो भने जिन्दगीभरि त्यो लिपि र भाषामा लेखेका जुनसुकै शब्दलाई शतप्रतिशत सही उच्चारण गर्न सकिन्छ । अंग्रेजीमा त्यो सुविधा छैन । त्यसमा हरेक शब्दलाई कसरी उच्चारण गर्ने भनेर सिक्नुपर्छ ।

भाषाको भद्रगोल अवस्था देखेर शुद्ध लेख्नेबारे अन्योल भएपछि अहिले फेसबुकतिर कतिपयले ‘नेपाली शुद्ध लेख्न के गर्ने ? – केही पनि नलेख्ने’ भन्दै कटाक्ष पनि गर्न थालेका छन् । साँच्चै नेपाली भाषा शुद्ध लेख्न नसकिने नै हो त ?

चार वर्षअघि मैले एउटा लेख लेखेको थिएँ, ‘हिज्जेको खेल, लेख्ने जति फेल’ शीर्षकमा । अहिले त्यही भइरहेको देखिन्छ । नेपाली भाषा बोल्ने र लेख्ने आम प्रयोगकर्ताको त कुरै छाडौं, जिन्दगीभरि नेपाली भाषामै लेखेर नाम कमाएका मान्छेहरू पनि म नेपाली शुद्धसँग लेख्छु भन्ने अवस्थामा आज छैनन् । तिनीहरूलाई तँ लेख्न जान्दैनस् भन्ने अवस्थामा धकेलिएको छ । जब भाषाका समर्थ प्रयोगकर्ताहरूलाई समेत तँ नेपाली लेख्न जान्दैनस् भन्ने स्थितिमा धकेलिन्छ र उनीहरूले प्रतिरक्षा महसस गर्नुपर्छ भने त्यो भाषा अगाडि बढ्ला कि सिद्धिएला ?

सरकारी कुर्सीमा बसेकाहरूले देवकोटा, सम, रिमाल, भूपिदेखि सबै साहित्यकारले लेखेका रचनाको हिज्जे बिगारेर पाठ्यपुस्तकमा पुनर्मुद्रण गरिरहेका छन् । त्यसबाट अप्रत्यक्ष रूपमा अहिलेका पुस्ताको दिमागमा के हाल्न खोजिएको छ भने पुराना लेखकहरू लेख्न जान्दैनथे, अर्द्धपठित थिए, ह्रस्व-दीर्घको सही रूप तिनीहरूलाई थाहा थिएन । इतिहास र गौरवप्रति पूर्णरूपमा अनास्था उत्पन्न गर्ने यस्तो कुचक्र नितान्त निन्दनीय छ ।

त्यसो भए स्वनामधन्य भाषाविदले यस्तो नियम भाषा विनाशकै उद्देश्य राखेर बनाएका हुन् त ?

उनीहरूले किन बनाए भन्नुभन्दा पनि त्यसले के गर्छ भन्ने कुरा मुख्य हो । यसले विनाशतिर लैजाने बाहेक अरु कुनै काम नै गर्दैन ।

एकेडेमीले छापेको शब्दकोश हेर्नुस्, चार-चार वर्षमा नयाँ संस्करण निस्किन्छ अनि हरेक नयाँ संस्करणले पुरानो संस्करणलाई विस्थापित गरेर त्यो गलत थियो, म चाहिँ ठीक छु भन्छ । यति अस्थिर बनाए पनि भाषा कहीँ अडिन्छ ?

भाषा सङ्गोष्ठीले त परम्परागत रूपमा दीर्घ लेखिँदै आएका तद्भव शब्दलाई ह्रस्व लेख्ने नियम बनाएको थियो । तर, त्यसले ‘फूल’, ‘तीन’ जस्ता द्वीअर्थी प्रचलनमा आउने शब्दमा अर्थ नखुल्ने अवस्था आउनेबारे भाषाशास्त्रीहरूले किन ध्यान नदिएका रहेछन् ?

मैले बुझेसम्म यसो गरिदिउँ न, केचाहिँ भइहाल्ला त भन्ने लहड राखियो । यसो गर्नु नै किन जरुरी थियो ? ह्रस्व फुल र दीर्घ फूल लेखिन्थ्यो, दुबै चलिरहेकै थियो । तर, नयाँ भनिएको नियम आएपछि के मिलेन भनेर सबै प्रयोगकर्ताको मनमा छटपटी भएको छ ।

प्रयोग गर्ने मान्छेलाई असजिलो महसुस हुनु नै भाषामा समस्या आउनु हो । भाषामा परिवर्तन यति मसिनो र मधुर किसिमको हुन्छ, परिवर्तन भएको कुरा कसैले थाहै नपाइकन अनायास आत्मसात् गरेर अगाडि बढ्छ । त्योचाहिँ भाषाको स्वाभाविक परिवर्तन हो । कसैले आजदेखि यस्तो गर्ने भनेर टाउकोमा लट्ठीले हिर्काएर भाषा चल्दैन ।

नयाँ शब्दहरू ग्रहण गर्नमा नेपाली भाषा कतिसम्म उदार छ ?

नेपाली भाषा उदारै हो । संस्कृत भाषाबाट नेपाली भाषा जन्मिए पनि यसले पुर्तगाली, अरबी, फारसी, अंग्रेजी, फ्रेन्च लगायत अनेक भाषाबाट शब्दहरू लिएको छ । अहिले चाहिँ गञ्जागोलमा फसेको हुनाले यसले धेरै शब्द लिन सकेको छैन । जुन प्राकृतिक र स्वाभाविक कुुरो छ, त्यो लेख्न नदिने भनेपछि समस्या भयो ।

बोलीचालीमा मलाई त कस्तो ‘टेन्सन’ भयो भनिन्छ । गाउँमा हजुरआमाले पनि टेन्सन भन्ने शब्द बुझ्न थाल्नुभएको छ । यी चिजहरू घुलमिल हुँदै आउँदा सहज तवरमा चलाउन सकिन्छ ।

अहिले नेपाली भाषाका विद्यार्थी र प्रयोगकर्ताले नेपाली शब्दकोश किन्नुपर्‍यो भने कसको शब्दकोश लिने भनेर अन्योल हुन्छ । यस्तो अवस्थामा हामीले यो चाहिँ सही छ भनेर मान्ने आधिकारिक संस्था र ग्रन्थ कुन हो त ?

आधिकारिक केही पनि छैन । अहिलेको समस्या नै यही हो । अंग्रेजीमा वा अरु भाषामा हेरौं, हजुरबाले किनेको डिक्सनरी नातिले बडो आधिकारिकताका साथ प्रयोग गर्छ । एकेडेमीले छापेको शब्दकोश हेर्नुस्, चार-चार वर्षमा नयाँ संस्करण निस्किन्छ अनि हरेक नयाँ संस्करणले पुरानो संस्करणलाई विस्थापित गरेर त्यो गलत थियो, म चाहिँ ठीक छु भन्छ । यति अस्थिर बनाए पनि भाषा कहीँ अडिन्छ ? विकास हुन्छ ? एउटै संस्थाको शब्दकोशमा त स्थायित्व नभएको अवस्थामा अरुले निकालेकोमा के-के भो भन्ने कुरा केही गर्नै परेन । यस्तो भद्रगोल छ ।

विदेशी शब्दहरु प्रयोग नै गर्नहुँदैन, त्यसले नेपाली भाषा खत्तम हुन्छ भनेर मान्छेले भन्छन् । त्यो गलत कुरा हो

भाषामा परिवर्तनलाई चाहिँ कसरी भित्र्याइन्छ ?

संसारका विकसित भाषाहरूमा कुनै शब्दले साह्रै गाह्रो पर्‍यो भने एउटा-दुईटा शब्दको बारेमा पनि विद्वानहरु बसेर महिनौंसम्म छलफल गरेर एउटा निर्णयमा पुग्छन् । अनि यो शब्दमा हामीले यसो गर्‍यौं भन्ने चलन हुन्छ । फेरि हरेक वर्ष सयौं शब्द परिवर्तन भइराख्ने पनि हुँदैन । कैयौं वर्षमा एउटा-दुईटा, चारवटा शब्दको स्पेलिङमा केही भयो भने ठूलो छलफलपछि बल्ल भनिन्छ । हामीकहाँ त रातारात निर्णय गरेर हुलमुलमा सबै एकैचोटि सिध्याइन्छ ।

भाषाशास्त्रीको काम भाषाको बारेमा निर्णय गर्ने होइन । उसले त भाषा कसरी अगाडि बढिरहेको छ, नियम कस्ता छन्, स्वीकृत भएका छन् कि छैनन्, प्रयोगकर्ताले मानेको छ कि छैन भन्ने कुराको अध्ययन गर्ने हो । अध्येता भएर उसले आफ्नो निष्कर्ष मात्र दिन सक्छ । आजदेखि यसो गर्, यसो नगर् भन्ने अधिकार हुँदैन उसमा । यस्तै, व्याकरणकारको काम पनि भाषाभित्र लुकेका नियमहरुलाई खोजेर देखाइदिने मात्रै हो । जबर्जस्ती नियम बनाएर भाषालाई यता-उति लैजाऊँ भन्न पाउँदैन ।

Sharachchandra 2

भाषाको मौलिकता कायम राख्नुपर्छ भनिरहँदा नयाँ पुस्ताले खुलेर छ्यासमिस प्रयोग गरिरहेको अंग्रेजी शब्दहरूलाई कतिसम्म स्थान दिन सकिन्छ ?

पहिलेको भन्दा आजका नेपालीले पढ्ने र व्यापार-व्यवसायको सन्दर्भमा पनि संसारसँगको प्रत्यक्ष सम्पर्क-सम्बन्ध कायम गरेको छ । ग्लोबल भिलेजको अवधारणामा संसारसँग अझ नजिक भएसँगै नयाँ-नयाँ शब्दहरू आउँछन् ।

भाषालाई स्वस्थ रुपमा अगाडि बढ्न दिएको भए विगतमा विदेशका अनेकौं शब्दहरू आएर पचेर मीठो भएर गए जस्तै, त्यस्तै किसिमले मीठो भएर बग्थे । तर, सबै ढोका बन्द गरेर एउटा किचलोमा मान्छेको ध्यान केन्दि्रत गरिदिएकाले त्यो प्रक्रिया पनि अलमलिएको छ ।

विदेशी शब्दहरु प्रयोग नै गर्नहुँदैन, त्यसले नेपाली भाषा खत्तम हुन्छ भनेर मान्छेले भन्छन् । त्यो गलत कुरा हो । सकेसम्म नेपाली भाषाका शब्द प्रयोग गनर्ुु, नेपाली शैलीका वाक्यहरु बनाउनु ज्यादै राम्रो कुरा हो । तर, त्यसो भन्दैमा विदेशी शब्दहरुको आगमनलाई रोक्ने किसिमको भाव व्यक्त गर्ने काम हामीले गर्नु हुँदैन ।

किनभने, जति शब्दहरु ल्याउन सकियो, उति भाषा समृद्ध हुन्छ । भाषाको प्रवाहमा विघ्न गरियो, भयो भने ती शब्दहरु बडो अस्वाभाविक किसिमले आउँछन् र त्यसले विकृति पैदा गर्छ ।

भाषालाई बहुप्रचलनमा सहजीकरण गराउँदै मौलिकता जोगाउन कसरी सकिएला ? 

४० वर्षयता नेपाली पढाउँदै आएका गुरुहरूले नेपाली भाषा भनेको कुनै खास महत्वको चिज होइन, यसलाई वास्ता पनि गर्नु आवश्यक छैन, यो जे गरे पनि हुनेखालको चिज हो भन्ने छाप प्रत्येक विद्यार्थीको दिमागमा दिनुभएको छ । कसरी भने, जतिसुकै राम्रो लेखे पनि नेपालीमा राम्रो नम्बर पाइँदैन र जति रद्दी लेखे पनि फेलै पनि गरिहाल्दैन कसैले । जति राम्रो र नराम्रो गर्दा पनि केही नहुने भएपछि यो उपेक्षा र लापरवाहीको विषय बन्ने नै भयो ।

सिकाइका क्रममा तल्लो तहदेखि माथिल्लो तहसम्म नेपाली भाषा लेख्दा हामीलाई कसैले पनि भाषा र मिठास सिकाउँदैन । ह्रस्व-दीर्घ अनि जोड्ने कि छुट्याउने मिल्यो कि मिलेन भन्दै त्यही मात्र काटेर बसेको हुन्छ । भाषा मापन गर्ने आधार ह्रस्व-दीर्घ बनेको छ । त्यही भएर नेपाली भाषाको मिठास हराएको छ । कसैले केही नगर्दा पनि धन्न यत्तिको नेपाली भाषा नेपालले लेखिरहेको छ । यो गुरुहरूका कारणले होइन, गुरुहरूका बाबजुद यति राम्रो लेखिएको हो । गुरुहरुले लेख्ने भाषा त अहिले पनि अत्यन्त कृत्रिम छ ।

अंग्रेजी माध्यममा पढाउने स्कूलहरुले चाहिँ नेपाली भाषामा असर पारेका छन् कि छैनन् ?

नेपाली भाषा तल्लो तहदेखि अनिवार्य रूपमा पढाउनैपर्छ । अंग्रेजी स्कूलहरूले नेपालीलाई प्राथमिकता दिएनन्, सरकारी र सामुदायिकहरूले दिए भनेर म मान्दिनँ ।

सरकारी संयन्त्र र नेपालीका फूर्ति लगाउने गुरुहरू सबै मिलेर नेपाली भाषाको जुन दुर्गति गरेका छन्, त्यसको दाँजोमा हेर्दा अंग्रेजी स्कूलहरुलाई धेरै दोष दिने स्थितिमा छुइनँ म । किनभने नेपाली भाषाका उद्धारक र अभिभावक हौं भनेर हिँडेका सरकारी विद्वान् नै यस्तो बाटोमा छन् भने, अंग्रेजी स्कुलहरूले त दुनियाँमा जे बिक्छ र चल्छ, त्यही अंग्रेजीलाई जोड दिइरहेका हुुन् ।

नेपाली भाषाको प्रतिष्ठा कायम राख्न व्याकरणका नियम वैज्ञानिक, व्यवस्थित र व्यावहारिक बनाउनका लागि अब के को खाँचो देख्नुहुन्छ ?

भाषा सहज, स्वाभाविक र प्राकृतिक गतिमा अघि बढ्दै जान्छ । यसमाथि कुनै व्यक्ति तथा संस्थाले आफ्नो पण्डित्याइँ अथवा घमण्ड वा शासन सत्ताको तुजुक देखाउनका लागि अनेक कुरा थोपर्ने जुन क्रम छ, त्यो तुरुन्त रोकिनुपर्छ र थोपरिएका कुुराहरु फिर्ता हुनुपर्छ । नियम भन्दै जबर्जस्ती लादिएको समस्याबाट मुक्त गरिदिएर नेपाली भाषालाई आफ्नो गतिमा बग्न दिनुपर्छ ।

प्रस्तुतिः जोतारे धाइबा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?