२२ भदौ, काठमाडौं । राष्ट्रिय खेलकुद् परिषद्का सदस्यसचिव केशवकुमार विष्टले सातौं राष्ट्रिय खेलकुद् तोकिएकै मितिमा हुनुपर्ने धारणा राखेका छन् ।
परिषद्का सदस्यसचिव विष्टले बुधबार काठमाडौमा पत्रकार सम्मेलन गरेर आफूले एक वर्षको अवधिमा गरेका कामको विवरण सार्वजनिक गर्ने क्रममा खेलाडीको हित र साग गेमको तयारीका लागि सातौं राष्ट्रिय खेलकुद् तोकिएकै मितिमा हुनुपर्ने धारणा राखे ।
परिषद्ले यसअघि नै सातौं राष्ट्रिय खेलकुद् आगामी मंसिर ८ गतेदेखि १५ गतेसम्म पूर्वाञ्चलमा गर्ने तय गरेकामा युवा तथा खेलकुद्मन्त्री दलजीत विके श्रीपालीले मिति हेरफेर हुनसक्ने बताएका थिए ।
तर परिषद्का सदस्यसचिव विष्टले भने पूर्वाधार सम्बन्धी सबै तयारी एक महिनाभित्र पूरा गर्न सकिने भएकाले सातौं राष्ट्रिय खेलकुद् मंसिरमा नै हुनुपर्ने बताए ।
सातौं राष्ट्रिय खेलकुद् प्रतियोगिता मिति तोकेर यसअघि दुई पटक स्थगित गरिसकिएको छ । परिषद्का सदस्यसचिव विष्टले आफूसँग अधिकार भएपनि मन्त्री, मन्त्रालय, खेल संघ, खेलाडी र कर्मचारीसँग समन्वय गर्नुपर्ने भएकाले अधिकारको प्रयोग गर्दा निकै सतर्क हुनुपर्ने अवस्था रहेको बताए ।
प्रतिक्रिया 4