२५ मंसिर, ताप्लेजुङ । पाथीभरा मन्दिरको दर्शन नेपालका हिन्दु धर्मावलम्बीहरुको एउटा महत्वपूर्ण मनोकांक्षा हो । तर, हिमालको काखमा रहेको यो मन्दिरमा पुग्न सजिलो चाँहि छैन । जो पाँच घण्टा उकालो हिँडेर मन्दिरमा पुग्छ, उसले बास बस्न फेरि फेदीमै ओर्लिनुपर्छ ।
वरिपरि हिमाल, वीचमा थुम्को । चुलीसम्म भरिएको पाथीजस्तै डाँडा भएकाले पनि यसलाई पाथीभरा भनिएको हुनुपर्छ ।
पूर्वको ताप्लेजुङ्गमा रहेको पाथीभरा मन्दिर नेपालमा मात्र होइन, छिमेकी मुलुक भारतमा पनि चर्चित छ । यो मन्दिरमा बर्षेनी नेपाल तथा भारतबाट एक लाख बढी भक्तजनहरुका दर्शन गर्न आउँछन् ।

समुन्द्री सतहबाट ३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको यो मन्दिर पुस माघमा हिउँले सेताम्य हुन्छ ।
विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो कञ्चनजंघा हिमाल आँखै अगाडि देख्न सकिन्छ पाथीभरा मन्दिरबाट । यहाँबाट कुम्भकर्ण हिमाल पनि देख्न सकिन्छ ।
पाथीभरा मन्दिरबाट ८ हजार मिटरभन्दा अग्लो अर्को मकाल हिमालु पनि देख्न सकिन्छ । यो समय मौसम सफा हुने भएकाले पनि हिमाल हेर्नलाई उपयुक्त मौसम मानिन्छ ।
कसरी जाने ?
काठमाडौंदेखि सुकेटारसम्म हवाजहाज अथवा ताप्लेजुङ सदरमुकाम फुङलिङसम्म बसमा जान सकिन्छ । ताप्लेजुङको फुङलिङ बजारबाट पाथीभरा मन्दिर १९ दशमलब ४ किलोमिटरको दुरीमा छ ।
तर, अहिले फेदीसम्म कच्ची बाटो भएका कारण सवारी साधन अर्थात जीप जाने गर्दछ । फेदीबाट ५ घण्टाको उकालो चढेर मन्दिरमा पुगिन्छ ।
पाथीभरा मन्दिरमा सबैभन्दा ठूलो समस्या पानीको छ । पानीको स्रोत नहँुदा भक्तजन तथा मन्दिरका पूजारी लगायत सुरक्षाकर्मीलाई समस्या पर्ने गरेको छ । मूल पुजारी डिल्ली आर्चाय भन्छन्,-वषर्ातको सयममा पानी जम्मा गर्ने व्यवस्थापन रहेको छ । तर, त्यसले केही महिना मात्रै धान्छ ।’
मन्दिर परिसरबाट तीन किलोमिटर तल रहेको काफ्लेपाटीबाट पानी ल्याउनुपर्ने अवस्था रहेको पुजारी आचार्यले बताए ।
पाथीभरा मन्दिरमा आउने भक्तजनहरुलाई बास बस्न पनि समस्या हुने गरेको छ । बासका लागि फेदीमै पुग्नुपर्ने बाध्यता छ ।






प्रतिक्रिया 4