११ पुस, काठमाडौं । पुसको जाडो मौसम । तर, सोमबार मध्यान्ह माओजयन्ती मनाउने क्रममा माओवादी नेताहरु जाडोको पर्वाह नै नगरी कुपण्डोलस्थित ‘नेवा राज्य’ को कार्यालयमा तात्तिइरहेका थिए । त्यही क्रममा क्रान्तिकारी माओवादी नेता मोहन वैद्य किरणले जंगिएर भाषण गरे ।
क्रान्तिकारी नेता वैद्यले प्रचण्डलाई मार्क्सवाद माओवाद छाडेर उत्तरआधुनिकतावादी विचारधारातिर लागेको आरोप लगाए । विप्लवलाई चाँहि उनले उत्तरआधुनिकतावादका साथै संघीयताविरोधी र राजावादीको समेत आरोप थपे ।
‘के लागू गरेका छन् तिनीहरुले ? विश्व बैंक ? अन्तरराष्ट्रिय मुद्राकोष ? तिनले के-के भन्छन्, त्यही त्यही कुरा ल्याएर बजेट बनाएर त्यही लागू गर्ने, अनि बडो मार्क्सवादी हुँ भनेर गफ लाउने ?’ प्रचण्ड नेतृत्वको सरकारमाथि खरो रुपमा प्रस्तुत हुँदै वैद्यले भने- ‘के गर्यो हो ? उत्तर आधुनिकतावाद तिनीहरुको विचारधारा हो । मार्क्सवाद लेनिनवाद माओवाद भनेर भन्ने ढोंग हो भनेर भन्नोस् ।
विप्लव समूहले संघीयता र धर्मनिरपेक्षताको पनि विरोध गर्न थालेको र गणतन्त्रको पनि विरोध गरेको वैद्यको आरोप थियो ।
कार्यक्रममा लामो सैद्धान्तिक भाषणपछि वैद्यले भने- विप्लवको पनि त्यही हो भनेर भन्नुहोस् । ढोंग हो । संघीयता हुनुहुन्न रे, धर्म निरपेक्षता हुनुहुन्न रे । अब गणतन्त्र पनि यो तरिकाले हुनुहन्न रे । राजावादी भूतहरु उठ्दैछन् अब भन्नुहोस् । यो क्या हो ? यो उत्तरआधुनिकतावादी विचारधारा हो । मार्क्सवाद-सार्क्सवाद त साइनो छैन उनीहरुको ।
‘संविधान संशोधन हैन, खारेज गर्नुपर्छ’
क्रान्तिकारी माओवादीका अध्यक्ष वैद्यले अहिलेको संविधान संशोधन विस्तारवादी योजना अन्तरगत आएको बताए । उनले यो संविधान संशोधन हैन खारेजै गर्नुपर्ने तर्क गरे ।
वैद्यले भने- ‘हामीले सुरुदेखि भनेको के हो भने यो संविधान संशोधन हैन, खारेजी नै गर्नुपर्छ । यो संविधान संशोधन गरेर समस्याको समाधान हुँदैन । खारेज गर्नुपर्छ । संघीय जनगणतन्त्रमा आधारित संविधानको निर्माण गर्नुपर्छ । त्यसका निम्ति संघर्ष गर्नुपर्छ ।’
नेवा राज्यको कार्यालयमा कार्यकर्ताहरु माझ वैद्य माओवादीका नेताहरुले माओ जयन्ती मनाएका थिए । यसक्रममा वैद्यले निकै लामो र पट्यारलाग्दो सैद्धान्तिक भाषण गरेका थिए । उनले माओका योगदानलाई नेपालमा लागू गर्नुपर्नेमा जोड दिए । त्यसपछि उनले सैद्धान्तिक कुरा गर्नैपर्छ भन्दै कार्यकर्तालाई विचार निर्माणको प्रश्नमा ध्यान दिन आग्रह गरे ।
कार्यक्रममा सीपी गजुरेलले लगायतका नेताहरुले माओका योगदानबारे प्रवचन दिएका थिए ।
प्रतिक्रिया 4